जाँदाजाँदै ट्रम्पले दिए ७३ जनालाई क्षमा दान

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको अन्तिम दिनमा ७३ जनालाई क्षमा दान दिएका छन् । नवनिर्वाचित राष्ट्रपति जो बाइडनले पदभार ग्रहण गर्नुभन्दा केही घण्टाअघि मात्रै ट्रम्पले ७३ जनालाई क्षमादान दिएका हुन् ।

तीमध्ये आर्थिक अपचलनको आरोप लागेका आफ्ना पूर्व सल्लाहकार स्टीभ बेनन पनि छन् । ह्वाइट हाउसले प्रकाशित गरेको विज्ञप्तिमा क्षमादान पाउने ७३ जना र सजाय घटाइएका ७० जनाको सूची छ । उक्त सूचीमा भएका अधिकांश व्यक्तिहरू मानवाधिकारवादी तथा अभियानकर्मीहरूले परम्परागत रूपमा क्षमादानका लागि माग गर्ने गरेका व्यक्तिबाहेक ट्रम्पसँग नजिकको सम्बन्ध भएका मानिसहरू पनि छन् ।

तीमध्ये स्टीभ बेनन सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचन अभियानका लागि ट्रम्पका प्रमुख रणनीतिकार थिए । उनलाई गत वर्ष अगस्टमा अमेरिका-मेक्सिको सीमामा पर्खाल निर्माण गर्न सञ्चालित एउटा अभियानमा आर्थिक हिनामिना गरेको अभियोग लागेको थियो ।

सुनुवाइ हुनुअघि नै उनलाई क्षमादान दिइनुलाई अस्वाभाविक मानिएको छ । तर त्यसो भएको पहिलो पटक भने हैन । बेनन कन्जर्भेटिभ अभियानका लागि ‘एक महत्त्वपूर्ण नेता’ भएको ह्वाइट हाउसको विज्ञप्तिमा उल्लेख छ । त्यसमा उनलाई एउटा राजनीतिक परियोजनामा सहभागी भएकाले अभियोग लगाइएको दाबी गरिएको छ ।

त्यसैगरी क्षमादान पाउनेमा रिपब्लिकन पार्टीका कोष सङ्कलक एलिअट ब्रोइडी पनि छन् । उनले चिनियाँ र मलेशियाली हितका लागि ट्रम्पलाई प्रभावित पार्न रकम लिएको स्वीकारेका थिए । ट्रम्पका ज्वाइँ ज्यारेड कुश्नरका एक साथीले पनि क्षमादान पाएका छन् । उनलाई विवाहको सम्बन्धविच्छेदको प्रसङ्गमा साइबर(स्टकिङ गरेको आरोप लागेको थियो ।

गत वर्ष हतियारसम्बन्धी एउटा मुद्दामा दोष स्वीकारेका ड्वेयन कार्टरले पनि क्षमा पाएका छन् । उनले ट्रम्पको प्रशंसा गर्दै निर्वाचन अभियानका बेला उनीसँग खिचेको आफ्नो तस्बिर सामाजिक सञ्जालमा हालेका थिए ।

यो कस्तो परम्परा हो ? 
ह्वाइट हाउसबाट बिदा हुँदा राष्ट्रपतिले क्षमादान गर्ने परम्परा छ । एलेक्जेन्डर ह्यामिल्टनले सन् १७८७ मा त्यस्तो प्रणाली प्रस्तावित गरेका थिए । त्यसलाई संविधानको ‘आर्टिकल टू’ भनिन्छ ।

तर राष्ट्रपतिले कुनै राज्यको नभई सङ्घीय कानुनअन्तर्गत अपराध मानिने विषयमा मात्र त्यस्तो निर्णय गर्न पाउँछन् । क्षमादानले दोषी ठहर भएको अपराधलाई पनि निस्तेज पारिदिन्छ भने क्लेमन्सी भनिने सजाय घटाउने निर्णयले कारावासमा बस्नुपर्ने समय घटाइदिन्छ वा समाप्त पारिदिन्छ । बीबीसी

प्रतिक्रिया