ट्रम्पले छाडे ह्वाइट हाउस, जाँदाजाँदै भने- ‘हामी फर्कनेछौँ’

काठमाडौँ । राष्ट्रपतिको रूपमा ह्वाइट हाउसबाट अन्तिम पटक बाहिरिए लगत्तै डोनल्ड ट्रम्पले आफू कुनै न कुनै रूपमा फर्कने बताएका छन् ।

फ्लोरिडातर्फ प्रस्थान गर्नु अघि उनले समर्थकहरूलाई उनीहरूको राष्ट्रपति हुन पाएकोमा ठूलो गौरव भएको बताएका थिए । आफ्नो उत्तराधिकारीको सपथ ग्रहण समारोहमा अनुपस्थित हुने उनी सन् १८६९ यता कै पहिलो अमेरिकी राष्ट्रपति हुन् । तर जाँदाजाँदै उनले भने- ‘नयाँ प्रशासनलाई धेरै शुभकामना अनि ठूलो सफलताको कामना गर्छु ।’

के भने ट्रम्पले ?
ट्रम्प तथा उनकी पत्नी मेलानिया ह्वाइट हाउसबाट फ्लोरिडा जाने क्रममा म्यारिल्यान्डस्थित जोइन्ट बेस एन्ड्र्युज पुगेका थिए र त्यहाँ उनले राष्ट्रपतिको रूपमा आफ्नो अन्तिम सम्बोधन गरेका थिए ।

उनले आफ्नो कार्यकालमा भएका गजबका उपलब्धिहरूबारे चर्चा गर्दै रोजगार सृजना, अन्तरिक्ष फौज ९स्पेस फोर्स०को स्थापना, कर प्रणाली, तथा द्रुत गतिमा कोभिड खोप विकासको उल्लेख गरे । उनले मानिसहरूलाई कोरोनाभाइरसको डरलाग्दो महामारीबाट जोगिन अत्यन्त सतर्क हुन पनि आह्वान गरे ।

उनले भने- ‘तपाइँहरूको राष्ट्रपति बन्न पाउनु ठूलो सम्मान र सौभाग्य रह्यो, म सधैँ तपाइँहरूका निम्ति लडिरहनेछु । म हेरिरहनेछु। म सुनिरहनेछु ।’ उनले नयाँ प्रशासनलाई सफलताको कामना गरे पनि जो बाइडनको नाम उच्चारण गरेनन् । उनले भने- ‘हामी कुनै न कुनै रूपमा फर्कनेछौँ । छिट्टै भेट्नेछौँ ।’ बीबीसी

प्रतिक्रिया