रिलमा पनि रियलमा पनि ‘फरक’ गर्दै जीवन-लक्ष्मी

  • दीक्षा कट्टेल

काठमाडौँ । श्रीमान श्रीमतीको भूमिकामा खुब रुचाइएका कलाकार हुन्, लक्ष्मी बर्देवा र जीवन भट्टराई । बास्तविक जीवनका समेत श्रीमान श्रीमती रहेका उनीहरु कोभिड-१९ का कारण जनजीवन अस्तब्यस्त भइरहेका केही नयाँ गर्ने ध्याउन्न मै ब्यस्त रहे ।

जीवन र लक्ष्मीको सिर्जनशिलता उनीहरुमा मात्र सिमित रहेन । त्यसको दायरा दर्शकसम्म फराकिलो भयो । नाटकघरमा जोडिएको यो जोडीले, चलचित्र हुँदै म्युजिक भिडियोमा पनि आफ्नो अलग्गै छाप छोडिरहेको छ । उनीहरुले पछिल्लो समय निर्देशनमा पनि हात हालेका छन् । अहिले उनीहरु फरक फरक कन्सेप्टका कथा गीत मार्फत पस्किरहेका छन् ।

जातीय विभेदको तगारो भत्काउँदै प्रेमलाई ‘रियल लाइफ’मै अँकुरित गराउने हिम्मत जुटाएको यो जोडी रिल अर्थात अभियनमा पनि केही फरक गर्ने चुनौती लिइरहेको छ । र खुसीको कुरा चाहिँ उनीहरुको यो चुनौतीलाई दर्शकले मन पराएका छन् ।

दर्शकको समर्थन र हौसलाले आफुहरुलाई अझ प्रेरणा दिइरहेको जीवनले मकालु खबरलाई बताए । सबैले ‘राम्रो छ है’ भनिदिंदा काम गर्ने जाँगर नै बढ्ने उनको अनुभव छ ।

बास्तविक श्रीमतीसँग रिलमा काम गर्न कत्तिको सहज हुन्छ भन्ने प्रश्नमा जीवन भन्छन्, ‘को–एक्टर ब्यक्तिगत रुपमा बढी बुझेको मान्छे हुँदा काम गर्न बढी सहज हुने नै भयो । यसको अर्थ अरुसँग असहज हुने भन्ने चाहिँ हुदैन । घरमा पनि उक्त चरित्रको बारेमा छलफल गर्न पाइन्छ जसले पनि सिर्जनालाई थप परिपक्व बनाउन सहयोग पुग्छ ।’

अभिनयसँगै कन्सेप्ट र निर्देशन समेत गरिरहेको यी जोडीको बिचारमा आफैले बनाएको कन्सेप्टमा चरित्रपनि आफैले निर्माण गर्दा चरित्रको यात्रा र ‘इमोसन’ लाई अझ बढी बुझ्न मद्दत गर्छ ।

सबै उस्तै हुँदा पनि केही फरक गर्न सकिन्छ भन्ने उदाहरण यी दुईको भिडियो हेर्दापनि थाहा हुन्छ । जीवन र लक्ष्मीले पछिल्लो समय बनाएका र अभिनय गरेका केही म्यूजिक भिडियोले उनीहरु आम भन्दा केही फरक हुन् भन्ने पुष्ट्याईँ गरेका छन् ।

बिष्णु माझी र आकाश महतको श्वर रहेको ‘तेल तुर्क्याउ तुरुक्क’ ठेट शब्दको गीत हो । गीतले विवाह भएको दिनबाट बच्चा जमिएसम्मको श्रीमान श्रीमतीको सुमधुर यात्राको कथा बोल्छ । सानो सानो प्रस्तुती जस्तो कि साइकलमा आउँदाको खुशी, खाजा खाएर फिर्ता आएको पैसा, अफिस जानेबेला परसम्म हेर्ने नारी मन लगायतले भिडियोलाई जीवन्त बनाएको छ । यो भिडियोमा लक्ष्मी जीवनको अभियन जीवन्त छ ।

यस्तै, प्रविण भेटवालको श्वर रहेको गीत ‘हाँसेकै छैन’ मा पनि यी दुईले श्रीमान श्रीमति कै भूमिका ’पोट्रे’ गरेका छन् । शब्दलाई न्याय गर्ने भिडियो बनाउने क्रममा उनीहरुले कन्सेप्ट फरक गरेका छन् भने अभिनय मन छुने छ । हाँसिखुशी चलिरहेको जीवनमा श्रीमतिका पुर्व प्रेमीको प्रवेश हुन्छ जसको नासो छोरी समेत नयाँ श्रीमानले आफ्नै मानेका छन् ।

धोका दिएर गएका प्रेमी पुर्व प्रेमिकाको जीवनमा आँधीबेहरी बनेर आउँदा समेत बुज्झकी श्रीमान बनेर जीवनले सम्बन्धलाई कमजोर बन्न दिदैनन् । कहिलेकाँही आउने सामान्यदेखी ठुलासम्मका समस्याको समाधान आपसमै सुल्झिन सक्छ भन्ने बिषय भिडियोमा प्रस्तुत छ ।

छोरा मानिसले आँशु देखाउन नहुने सोचसहित हुर्किएको पुरुषप्रधान समाजका पात्र जीवनले अन्तत ‘स्टेरियोटाइप’ भत्काएर श्रीमती स्विकारेका छन् ।यो भिडियोको भूमिकामा जीवन लक्ष्मीको अभिनय अब्बल छ ।

यसैगरी, बिदेशिनु पर्ने अवस्था माथि बनेको गीत हो ‘आएन खबर’ । कमाउन गएका परदेशी श्रीमानको फर्केर आउने टुँगो छैन तर श्रीमती पर्खेर बसेकी छन् । साथ रहँदाका यादहरु पल पल आउँछन तर अहँ श्रीमान आउँदैनन् । परदेशी आउने बाटोतर्फ हेरेर आँखा ठुलो बनाउनेबाहेक अरु केही विकल्प बाँकी छैन ।

श्रीमानको यादमा उनकै नामको सिन्दुर पोतेले मात्र नपुगेर याद मेटाउन श्रीमानका कपडा समेत प्रयोग गर्छिन् । खान कै लागि घरको भाले बिक्छ, केस फुलेर सेतै हुन्छ तर अहँ परदेशीको खबर आउँदैन । अन्तमा चुडिएको पोतेसँगै जीवन निरस बन्छ । धेरैजसो गाउँको कथासँग मिल्ने यो कथालाई टपक्कै टिपेर जीवन लक्ष्मीले प्रस्तुत गरेका छन् ।

मेलिना राई र रोशन राईको स्वर रहेको गीत ‘तिमी सीत माया गर्दा’ ले जातीय बिभेदको कथा बोल्छ । समाजले नस्विकारेको प्रेम गाउँ छोडेर टाढा गएपछि बल्ल जीवन जिउन पाउँछ । जती नै खुसी भएपनि चाडबाडमा परिवारको यादले बिथोल्छ तर प्रेमले जित्छ । केही समयमा नै नयाँ जीवन समेत शुरु गर्छन् यी दुईले नयाँ मान्छेको साथ । यसमा पनि उनीहरुको अभिनय तारिफयोग्य छ ।

उनीहरुले ब्यक्तिगत जीवनमा समेत खेप्नुपरेको अप्ठ्यारोका कारण पनि हुन सक्छ यस्ता विभेदका कथामा उनीहरुको अभिनय अझ उम्दा लाग्छ । आफ्ना सिर्जनामार्फत मात्र नभएर अरुका निर्देशनमा समेत यो जोडी अहिले सबैको स्याबासी बटुलिरहेको छ ।

प्रतिक्रिया