‘अविश्वासको प्रस्ताव फेल हुन्छ, पाँचै वर्ष डोरमणि नेतृत्वको सरकार चल्छ’

  • धनबल राई

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष नेतृत्वमा देखिएको विवाद अन्ततः प्रदेशमा पनि उत्तिकै खह्रो देखियो । फलस्वरुपः प्रदेश नं. १ र बाग्मती प्रदेशका मुख्यमन्त्रीद्वय शेरधन राई र डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भयो ।

खासगरी गत ५ पुषमा प्रतिनिधि सभा विघटनसँगै उठेको राजनीतिक छालका कारण प्रदेशमा समेत नेकपा स्पष्ट रुपमा दुई भागका बाँडिएका छन् । प्रदेशमा पनि केन्द्रमा जस्तै एउटा पक्षले अर्को पक्षलाई कारबाही गर्ने शृङ्खला चलिनै रहेको छ ।

बुधबारबाट यी दुवै प्रदेश संसद्को सातौं अधिवेशनको पहिलो बैठक बस्दैछ । उता प्रदेश नं. १ मा ठूलो संख्यामा सुरक्षाकर्मी तथा मर्यादापालकहरु खटाइएको छ । किनकी, त्यहाँ नेकपाकै दुइ’टा खेमाबीच घम्साघम्सी पर्ने सम्भावना उच्च छ । त्यहाँ किन पनि यो सम्भावना उच्च छ भने, दुवै खेमाका नेकपाले निलम्बित सांसदहरुलाई बैठकमा प्रवेश नदिने बताइसकेका छन् ।

त्यसो त बाग्मती प्रदेशमा दिउँसो ३ बजेको लागि आह्वान गरिएको बैठक कसरी अगाडि बढ्छ ? भन्ने जिज्ञासामा भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले मकालु खबरसँग भनेका छन्, ‘नयाँ कुराहरु केही पनि हुँदैनन् । प्रदेश प्रमुखबाट आएको सातौं अधिवेशन प्रारम्भको पत्र पढेर सुनाइनेछ । त्यसपछि केही नेताहरुले शुभकामना मन्तव्यको रुपमा बोल्नुहुनेछ । त्यसपछि माननीय मुख्यमन्त्रीज्यूले आफ्नो भनाइ राख्नुहुनेछ ।’

अविश्वासको प्रस्ताव ‘फेल’ हुन्छ
‘अविश्वासको प्रस्ताव फेल हुन्छ । पाँचै वर्ष डोरमणि पौडेल नेतृत्वको सरकार चल्छ’, मन्त्री फुँयालले भनेका छन् । दलको नेतालाई ‘हामीले हटायौँ है’ भनेर मात्रै नहुने बताएका मन्त्री फुँयालले थपे, ‘उहाँ (दाहाल–नेपाल पक्ष) हरुले अविश्वासको प्रस्तावको पक्षमा हस्ताक्षर गर्दै हिँड्नुभएको छ । यसरी आफैँले चाहँदा मात्रै हुने भए के के हुन्थ्यो । दलको नेता त मुख्यमन्त्रीज्यू हो नि त । उहाँहरुको पक्षमा ५६ पुग्दैन । जब ५६ पुग्दैन । त्यसो हुँदा प्रस्ताव फेल हुन्छ । अनि एक वर्षसम्म पुनः प्रस्ताव आउँदैन । त्यसपछि पाँचै वर्ष डोरमणि नेतृत्वकै सरकार चल्छ । हामी जनपक्षीय काम गर्छौँ । मुलुकको समृद्धिको लागि काम गर्छौँ । शहीदका सपना पूरा गर्नको लागि लागिपर्छौँ ।’

भनेर मात्रै दलको नेता परिवर्तन नहुने तर्क गरेका मन्त्री फुँयालले भनेका छन्, ‘दलको नेता परिवर्तनको लागि त दलकै बैठक बस्नुपर्छ । दलको बैठक नै बसेको छैन योबीचमा ।’ निर्वाचित भएकाले पौडेल नै दलको नेता भएको दाबी गरेका मन्त्री फुँयालले भने, ‘उहाँ (पौडेल) निर्वाचित हुनुहुन्छ ।’

प्रतिक्रिया