भारत बायाेटेककाे चेतावनी : यस्ता व्यक्तिहरूले लगाउनु हुँदैन काेभ्याक्सिन

एजेन्सी । भारतमा काेराेना भाइरस (काेभिड १९) संक्रमण विरूद्धको युद्ध जारी छ । यसलाई मध्येनजर गर्दै १६ जनवरीदेखि भारतमा खाेप अभियान समेत सुरू भएकाे छ ।

याे महिनाकाे सुरूमा भारत बायाेटेककाे काेभ्याक्सिन र सिरमकाे काेभिशिल्डले आपतकालिन प्रयोगको अनुमति पाएका थिए । यसैबीच, भारत बायोटेकले एक तथ्य पृष्ठ जारी गर्दै कस्ता व्यक्तिहरूले खाेप नलगाउने भन्नेबारे सचेत गराएकाे भारतीय सञ्चार माध्यम दैनिक भास्करले जनाएकाे छ ।

काेभ्याक्सिनकाे तथ्य पृष्ठमा गर्भवती वा स्तनपान गराउने महिलाहरूलाई खोप नलगाउन सिफारिस गरिएकाे छ । यस्तै  एलर्जी, ज्वरो, रक्तस्राव डिसअर्डर भएका मानिसहरूलाई पनि भ्याक्सिन नलगाउन सल्लाह दिइएकाे छ । यसबाहेक गम्भिर प्रकृतिका बिरामीहरूले पनि खाेप नलिन भनिएकाे छ ।

कम्पनीले याे तेस्राे चरणकाे परीक्षणमा रहेकाे भन्दै यसकाे प्रभावकारिता बारे अझै पूर्ण रूपमा प्रमाणित भइनसकेकाे पनि बताएकाे छ । परीक्षणकाे तेस्राे चरणका क्लिनकल ट्रायलकाे आँकडाकाे अध्ययन जारी छ । खाेप लगाएकाे भन्दैमा काेराेनाकाे सावधानी अपनाउन छाेड्न नहुने पनि कम्पनीले जनाएकाे छ ।

कम्पनीले खोप लगाउनु अघि उनीहरूको स्वास्थ्य अवस्थाबारेमा खोप केन्द्र वा खोप अधिकारीलाई जानकारी दिन आग्रह समेत गरेको छ । भारत बायाेटेकका अनुसार चार हप्तामा दिइने दुई डोज पश्चात् काेभ्याक्सिनले प्रतिरक्षा उत्पन्न गर्नेछ । कोभ्याक्सिनलाई आपतकालमा अवस्थामा प्रतिबन्धित लगाउने अनुमति समेत दिइएकाे छ ।

काेभ्याक्सिन भारतमा उत्पादित खाेप हाे, जसलाई भारतीय चिकित्सा अनुसन्धान परिषद् र नेशनल इन्स्टिच्युट अफ भाइरोलजीको सहयोगमा विकसित गरिएको हो ।

प्रतिक्रिया