नेपालमा कोभिड १९ को नयाँ स्वरूप : संक्रमणबाट कसरी बच्ने ?

  • सृष्टि नेपाल

काठमाडौं ।नेपालमा कोभिड १९ संक्रमण केही कम हुँदै  गएकाे छ । दैनिक २/३ सयको हाराहारीमा मात्रै संक्रमित फेला परेका सरकारले जनाएकाे छ । संक्रमित भन्दा निको हुनेको संख्या बढी हुँदा मंगलबारसम्म सक्रिय संक्रमित संख्या ३ हजार ८६१ मात्रै छ ।

तर संक्रमण कम हुँदै जाँदा केही राहतको श्वास फेर्दै गरेका नेपाली नागरिक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको सूचनाले फेरि त्रसित भएका छन् ।

स्वास्थ्य मन्त्रालयले बेलायतबाट नेपाल आएकामध्ये तीनजनामा नयाँ स्वरुपकाे काेभिड १९ पुष्टि भएकाे खबर सार्बजनिक भएसँगै त्रास बढेकाे छ ।

स्वास्थ्य मन्त्रालयले जबसम्म नेपालमा कोभिड १९ को भ्याक्सिन उपलब्ध हुँदैन त्यतिन्जेलसम्म सावधानी अपनाउन फेरि आग्रह समेत गरेको छ ।

यही सूचनाले नेपालमा पनि यसले फेरि आतंक मच्चाउने हो कि भन्ने चिन्ता उत्पन्न गराएको हो, नागरिकमा ।

नयाँ प्रजातिको संक्रमण पुष्टि भएपछि नागरिकमा डरसँगै यसबारे कौतुहलता पनि बढेकाे छ । धेरैको मनमा जिज्ञासा छ– कोभिड १९ को नयाँ प्रजातिको संक्रमण भनेको कस्तो होला ? यसका लक्षणहरु कस्ता हुन्छन् ? मानव स्वास्थ्यमा कोभिडले भन्दा बढी असर पुर्याउँछ या सामान्य प्रभाव मात्रै पार्ने हो ? यसबाट बच्ने उपाय के हुन सक्छन् ? आदि  ।

नयाँ स्वरुपकाे  काेराेना भाइरसकाे संक्रमणकाे असर पनि यसअघिकाे जस्तै भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर बताउँछन् । उनका अनुसार नयाँ स्वरूप काेराेनाकाे परिवर्तित जिन मात्र भएकाले यसकाे लक्षण र बच्ने उपाय उस्तै  हुन् ।

‘भाइरसकाे जिन परिवर्तन हुनु सामान्य कुरा हाे । तर पहिलेकाे तुलनामा नयाँ स्वरूपकाे काेराेनामा तीव्र गतिमा संक्रमण फैलाउन सक्ने क्षमता छ भन्ने विभिन्न अध्ययन तथा विश्लेषणहरूले देखाएका कारण यसबारे त्रास बढेकाे हाे’, डा. पुनले मकालु खबरसँग भने, ‘अहिलेसम्म यसका लक्षण, प्रभाव कोभिडभन्दा अलग रहेको, घातक रहेकाे भन्ने कुरा आएका छैनन् ।’

वैज्ञानिकले सार्वजनिक गरेका विभिन्न अध्ययन तथा विश्लेषण अनुसार काेराेनाकाे नयाँ स्वरूपमा धेरैभन्दा धेरै मानिसमा छिटाे सर्न सक्ने, छाेटाे समयमा धेरैलाई संक्रमित बनाउन सक्ने क्षमता हुन्छ । नेपालमा काेराेनाकाे नयाँ प्रजातिकाे संक्रमण भित्रिए वा यसकाे स्वरूप विकसित भएमा स्राेत साधन तथा अस्पताल, जनशक्तिकाे अभाव हुन सक्ने भएका कारण सबै समयमै सचेत हुनुपर्ने डा. पुनले बताए ।

उनी भन्छन्- ‘स्वास्थ्य मापदण्ड पालना नगरि भइरहेका सभा, सम्मेलन, नाराजुलुस लगायतले संक्रमण फैलाउने धेरै सम्भावना रहन्छ । यसबारे अहिले नै ध्यान नदिए ठूलाे जाेखिम निम्त्याउँछ ।’

कसरी बच्ने ?

घरबाहिर निस्कँदा मास्क लगाउने ।

भीडभाडमा नजाने । सभा, सम्मेलन नगर्ने ।

दुई मिटरको दुरी कायम राख्ने ।

साबुनपानीले नियमित हात धुने ।

सेनिटाइजर प्रयोग गर्ने । लगायत स्वास्थ्य मापदण्ड पालना गर्ने ।

नेपालमा काेभिड १९ काे नयाँ स्वरूपकाे संक्रमणकाे परीक्षण सम्भावना

बेलायतबाट सुरू भएकाे काेराेनाकाे नयाँ स्वरूप १० भन्दा बढी देशमा फैलिसकेको छ । छिमेकी देश भारतमा पनि नयाँ स्वरूपकाे संक्रमण देखिसकेका बेला नेपालमा भर्खरै तीन जनामा संक्रमण पुष्टि भएकाे छ । यसकाे परीक्षण हङकङमा गरिएकाे हो । नेपालमा अहिले यसकाे परीक्षण सम्भव नभएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

यद्यपि, पीसीआर परीक्षणबाटै पनि काेराेना हाे भन्ने पत्ता लगाउन सकिने डा. पुनले बताए । उक्त परीक्षणबाट स्पाइक जिन (भाइरसकाे सर्ने गति) भने नदेखिने उनकाे भनाइ छ । विश्व स्वास्थ्य संगठनले कोरोनाको नयाँ स्वरुप अर्थात् भेरियन्ट १ काे  स्पाइक जिन पत्ता लगाउन सक्ने किट प्रयोग गर्नुपर्ने बताएकाे छ । यो परीक्षण सामान्य पीसीआर किटबाट सम्भव हुँदैन ।

पीसीआर परीक्षणबाट काेराेना पत्ता लाग्ने भएपनि स्पाइक जिन पत्ता लगाउने परीक्षणकाे ब्यवस्था गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने डा. पुन बताउँछन् ।

काेराेनाकाे नयाँ स्वरूप, खाेप र प्रभावकारिता 

विश्वभरी नै अहिले कोभिड १९ विरुद्धका खोपहरु विकसित भइरहेका छन् । भारत, अमेरिका, बेलायत, चीन लगायतमा खाेपकाे परीक्षण जारी छ । यी खोपले कोरोनाको नयाँ प्रजातिकाे संक्रमण विरुद्ध पनि काम गर्छन या गर्दैनन् भन्ने प्रश्न उठिरहेको  छ ।

वैज्ञानिकहरुले यसबारे प्रारम्भिक चरणको परीक्षणबाट अहिले विकास भइरहेका खोप काेराेनाकाे नयाँ स्वरूपकाे संक्रमणविरूद्ध पनि उत्तिकै प्रभावकारी हुने दाबी गरिरहेका छन् । तर भाइरसकाे स्वरुप फेरि‌दै गए अर्थात् स्पाइक जीनमा थप परिवर्तन हुँदै गयो भने विश्वभरी नै चुनाैती थपिनसक्ने डा. पुनकाे भनाइ छ ।

लकडाउनको अवस्था

लकडाउन फेरि शुरु गर्नुपर्ने सम्भावना बारे अहिले नै केही भन्न नसकिने डा. पुनले बताए । ‘यो अवस्थामा भर पर्ने कुरा हो, पहिलो लट मत्थर हुँदै गएका बेला नयाँ स्वरुपकाे भाइरस देखिएकाले जतिसक्दाे सतर्कता अपनाउन जरूरी छ’, उनले भने, ‘यदि केसहरु बढ्दै गए भने लकडाउन गर्नुपर्ने हुन सक्छ ।’

याे पनि – कोराेनाको नयाँ स्वरुपबारे डा. पुनकाे सल्लाह : हेलचेक्र्याईं नगरौं 

प्रतिक्रिया