कोराेनाको नयाँ स्वरुपबारे डा. पुनकाे सल्लाह : हेलचेक्र्याईं नगरौं

काठमाडौं । सन् २०१९ को डिसेम्बरको शुरुमा चीनको वुहानमा पहिलो पटक देखिएको नोवेल कोरोना भाइरसबाट हुने कोभिड उन्नाइसको विश्वव्यापी प्रभाव केही मत्थर हुँदै गएको बेला यही भाइरसको नयाँ स्वरुप देखिएको छ ।भाइरसको नयाँ स्वरुपबारे विस्तृतमा अध्ययन हुन बाँकी नै रहेपनि यो भाइरस पुरानोभन्दा ७० प्रतिशत बढी आक्रामक भएको विज्ञहरुले बताएका छन् ।

भाइरसको स्वरुप परिवर्तन हुनु प्राकृतिक कुरा नै भएपनि यसले पहिलो चरणको भाइरसलाई आधार मानेर बनाइएको खोपलाई समेत प्रभावित पार्दै चुनौती थप्ने आँकलन वैज्ञानिकहरुको छ ।

बेलायतमा देखिएको परिवर्तित स्वरुपको यो भाइरसका कारण लकडाउन नै गरिएको छ भने भारतमा समेत केही बिरामीमा नयाँ स्वरुपको भाइरस देखिएको पाइएको छ । यसका कारण नेपाल कति असुरक्षित छ अनि के फेरि लकडाउन लगाउनुपर्ने अवस्था आउन सक्छ ? भन्नेबारेमा हामीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको क्लिनीकल रिसर्च युनिटका सँयाेजक तथा सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनसँग कुराकानी गरेका छौँ ।

कोभिड १९ भाइरसले स्वरुप परिवर्तन गरेको खबरहरु आइरहेका छन् । यसो हुनु कत्तिको खतरनाक हुन्छ ?
भाइरसको स्वरुप परिवर्तन प्राकृतिक नै हो । तर सबै भाइरसको परिवर्तित स्वरुपले हामीलाई खास असर नगर्ने भएकाले धेरै चर्चा हुँदैन । यसपटक विश्वब्यापी देखिएको कोरोना भाइरसको नयाँ स्वरुप बेलायतमा दखिएको खबरले सवैलाई सचेत गराएको छ किनभने यसमा जिवाणु सार्न सक्ने क्षमता धेरै छ । अहिलेसम्म स्वरुप परिवर्तन भएको यो भाइसरबारे एउटा कुरा मात्र थाहा भएको छ त्यो हो यो जहाँ जान्छ त्यहा तिब्र गतिमा फैलन्छ । थप कुरा थाहा हुन बाँकी नै छ । यसले पहिलेको भन्दा पनि बढी क्षमता विकास गरेको हुनसक्ने सम्भावना बढाएको छ । त्यसैले सतर्कता अपनाउनुपर्ने हुन्छ ।

अब फेरि लकडाउन गर्नुपर्ने, आवतजावतमा रोक लगाउनुपर्ने अवस्था पनि आउनसक्छ ?
यसमा चाहिँ यसै हुन्छ भन्न सकिँदैन । स्वरुप फेरिएको भाइरसबारे धेरै कुरा थाहा भइसकेको छैन । तर यसको फैलावटको गति तीव्र छ भन्ने पुष्टि भइसकेको छ । यो चिन्ताको कुरा हो । यस्तै, अरु देश हुँदै आउने भाइरसले समस्या बढाउन सक्ने कुरा पनि छ भने अर्कातिर नेपालमै भएको भाइरसमा पनि स्वरुप परिवर्तन हुनसक्ने अवस्था छ । त्यसैले यसलाई ५०/५० को अवस्था भन्न सकिन्छ । हुन्छ नै भन्न सकिँदैन हुँदै हुँदैन पनि भन्न सकिँदैन । तर बेलायतमा जस्तो तीव्र गतिमा फैलिने अवस्था पायो भने त खतरा झनै बढ्ने भयो । तीव्र गतिमा फैलने गरी भाइरसको व्यवहार बदलिनु हाम्रो लागि राम्रो होइन । यसले हामीलाई थप दुःख दिने सम्भावना पनि उत्तिकै छ । योबारेमा हामीले ध्यान दिन जरुरी छ ।

अर्कातिर नेपालमा चुनाव घोषणा भएको छ । दलहरुका नाराजुलुस सभा, सम्मेलन, भेला जमघटलगायत भइरहेका छन् । चुनावका बेला यो झनै बढी हुन्छ । यो भाइरस विस्तारको प्लेटफर्म हुनसक्ने खतरा पनि छ । यो निकै गम्भीर कुरा हो । यदि भाइरस पहिलेभन्दा शक्तिशाली भयो भने कडा प्रसार क्षमताको भयो भने के गर्ने ? कसरि बच्ने भन्ने कुरा त धेरै नै चुनौतीपूर्ण हुनसक्छ । त्यसकारण यसलाई नजिकबाट नियाल्न जरुरी छ ।

अहिले विश्वले नै कोभिड १९ विरुद्धको खोप पर्खिरहेका छन् र केही देशले खोप परीक्षण गरिरहेका छन् । यस्तो बेलामा भाइरसको स्वरुप नै परिवर्तन हुँदा खोप नै प्रभावित हुने सम्भावना चाहिँ कति हुन्छ ?
यो पनि ठ्याक्कै यस्तो हुन्छ भनिहाल्न सकिँदैन । खोप जुन जिनलाई लक्षित गरि बनाइएको हो र त्यो जिन परिवर्तन भयो भने त खोप प्रभावित हुन्छ नै । यसअघि विभिन्न भाइरसका लागि बनाइएका खोपहरुको सफलता दर भिन्न छ । उदाहरणको लागि फ्लुको लागि बनाइएको खोपको प्रभावकारीता पनि कम छ । यसको प्रभावकारीता ६०–७० भन्दा बढी छैन । किनभने यसको भाइरसले प्राकृतिक रुपमा नै छिटो–छिटो स्वरुप परिवर्तन गरिरहेको हुन्छ । अहिले कोभिडविरुद्धको खोपको सफलता दर ९० भन्दा बढी भनिएको छ । अब भाइरसको स्वरुप परिवर्तन हुँदा त्यो त्यति नै हुनसक्छ भन्ने छैन । बढी पनि हुन सक्ला वा कम हुन पनि सक्छ । कम हुने सम्भावना कम देखिन्छ किनभने खोपले लक्षित गरेको जिन बढी फरक पर्यो भने चाहिँ यो खोपको प्रभावकारीता कम नै हुने हो ।

त्यसैले यो अवस्थालाई हामीले बेलैदेखि गम्भीरताका साथ लिन आवश्यक छ । यसअघि जस्तो सीमा नाका अव्यवस्थित हुनु, क्वारेन्टिनको व्यवस्थापन राम्रोसँग हुन नसक्नु, परीक्षणका लागि आवश्यक श्रोतसाधानको अभाव हुनु जस्ता कारणले कोभिड १९ को प्रसारलाई बल पुर्याएको कुरा हामीले भुल्नु हुँदैन । बेलैदेखि सचेतता अपनाऔं र तयारी थालौं ।

प्रतिक्रिया