दाहाल–नेपाल समूहले ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय बालुवाटारमा बुझायो

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाले केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने पार्टीको निर्णय बालुवाटारमा बुझाएको छ ।

|बालुवाटार पुगेको पत्र|

आफ्नो पार्टीको स्थायी कमिटी बैठकले ओलीलाई स्पष्टीकण सोध्न गरेको निर्णय सोमबार दिउँसो बालुवाटार पुगी बुझाएको नेता सुरेन्द्र पाण्डेले मकालु खबरलाई जानकारी दिए । ‘पत्र चाहिँ हामीले गेटमा ड्रप गर्यौँ । केही साथीहरुले भित्र सचिवालयमा सोधे’, नेता पाण्डेले भने, ‘म, मुकुन्द न्यौपानेजीलगायतका साथीहरु गएका थियौँ । दर्ता गर्नुस् भनेको । उहाँहरुले दर्ता गर्ने चलन छैन भन्नुभयो । भित्र सोधेपछि यतै छोडिदिनुस् भनेर भन्नुभयो । हामीले छोडेर आएका छौँ ।’

गत ५ पुषमा प्रतिनिधि सभा विघटन गरेपछि ओलीलाई दाहाल–नेपाल समूहले अनुशासनका कारबाही गरेको थियो ।  त्यसपछि पनि अनुशासन उल्लंघन गरेको भन्दै स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट किन नहटाउने ? भन्ने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोही पत्र लिएर नेताहरु बालुवाटार पुगेका हुन् ।

प्रतिक्रिया