राजनीतिमा प्रधानमन्त्री ओलीको अन्त्य भयो : सुरेन्द्र पाण्डे

  • सुमन सुस्केरा

विराटनगर । नेकपा प्रचण्ड–माधव समूहका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले नेपाली राजनीतिमा प्रधानमन्त्री केपी शर्मा ओलीको अन्त्य भएको बताएका छन् । पाण्डेले ओलीको अन्तिम अस्त्र सकिएको र अन्त्यको बाटो आफैँले रोजेको बताएका हुन् ।

विराटनगरमा नगरस्तरीय अगुवा कार्यकर्तालाई सम्बोधन गर्दैै पाण्डेले अब ओलीको अन्तिम दिन आएको दाबी गरे । ‘महाभारत कथामा शिशुपाललाई १ सय वटा मृत्युदण्ड योग्य गल्तीमा श्रीकृष्णले माफी दिए । जब १ सयभन्दा बढी त्यस प्रकारका गल्ती गरे, त्यसपछि उनै श्रीकृष्णले शीर छेदन गरी मृत्युदण्ड दिए,’ पाण्डेले भने, ‘अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि १ सयभन्दा बढी मृत्युदण्ड योग्य गल्ती गर्नुभएको छ, अब उहाँको अन्तिम विकल्प भनेको अन्त्य नै हो ।’

उनले संविधानमा नभएको धारा प्रयोग गरेर प्रतिनिधिसभा विघटन गराउनु नै उनको अन्त्यको शुरुवात भएको र अब अदालतको आदेश पछि उनी सकिने पनि उनको दाबी छ । ‘प्रधानमन्त्री ओलीले गरेको अल्ती अदालतले सच्याउने छ,’ पाण्डेले भने, ‘न्याय र सत्यको पक्षमा निर्णय गर्ने गरी दबाब सिर्जना गर्नु अहिलेको आवश्यकता हो ।’

अदालतको सही निर्णयको लागि दबाब सिर्जना गर्न पार्टीको केन्द्रीय कार्यक्रमको रुपमा माघ ९ गते काठमाडौंमा १ लाख मानिस उतारेर प्रदर्शन गर्ने उनले बताए । प्रदेशस्तरीय कार्यक्रम माघ १६ गते प्रत्येक प्रदेशमा ५० हजार मानिस उतार्ने उनको दाबी छ ।

ओलीले गुटबन्दी र अहंकारमा केन्द्रीत हुने, पार्टीभित्र आफू शक्तिशाली बन्नका लागि नेता पिच्छे फरक-फरक प्रलोभन दिने, विगतमा राजाको जस्तो आफूलाई ठान्ने गरेका कारण लक्ष्य अनुसार कम्युनिष्ट सरकार अगाडि बढ्न नसकेको पाण्डेकाे आरोप छ ।

प्रतिक्रिया