८० कटेका काफ्लेको ‘हिजो आजका कुरा’ हेर्ने रहर

काठमाडौं । फिल्मसँगै अन्य मनोरञ्जन क्षेत्र खासगरी युवा वर्गका लागि भन्ने बुझाइ छ, वास्तवमा यो ‘रियालिटी’ पनि हो । किनकी, ग्ल्यामर मनोरञ्जनमा पाका व्यक्तिलाई खासै समेटिँदैनन् । हिजोको समाजको ‘स्कूलिङ्ग’ का कारण उनीहरु ग्लामर मन पराउँदैनन् साथसाथै सुहाउँदैनन् पनि । तर, आज भने हामीले ‘ग्ल्यामर लूक’बाट नियाल्दा युवा र पाकाबीच देखिने भिन्नताको बारेमा खोतलेका छौँ ।

८३ वर्षीय इन्द्रप्रसाद काफ्ले, जसले २३ वर्षयता सरकारी जागिरबाट निवृतिभरण प्राप्त गरी ‘रिटायर्ड’ जीवन बिताउँदै आएका छन् । राजनीति र समसामयिक विषयमा विशेष चासो दिने काफ्लेको फिल्मी अनुभव पनि कम चाहिँ छैन । नेपालमा मात्रै नभएर भारतमा पुगेर समेत नेपाली फिल्म हेरेको अनुभव छ काफ्लेसँग । ‘म बुढोको के कुरा सुन्छौ र !’ भन्दै केही असजिलो महसुस गर्दै कुराकानी शुरु गरेका उनी विस्तारै खुल्दै गए ।

पहिले श्रीमतीसँग धेरै फिल्म हेर्न गएको बताउने उनले ‘अहिले त खै ? भन्दै सुस्केरा हाले । कुरा बढ्दै जाँदा उनले भने, ‘खै, नातिनी–बुहारीले सन्तोष पन्तको फिल्म हेर्न लैजान्छु भन्थे, फेरी कोरोनाले बन्द भयो रे ।’ पहिले पहिले टेलिभिजनमा हेरेको सतोष पन्तका टेलिशृङ्खलाहरु उनलाई खुब मन पर्ने रहेछ ।

त्यसैले उनले फिल्म पनि हेर्ने चाहना राखेका रहेछन् ।

‘म बुढाले हेर्ने खालको के नै होला र ?’ भन्दा उनकी नातिनीले पन्तको फिल्म हेर्न लैजाने भनेकी रहिछन् । ‘सम्झिरहने फिल्मको नाम भन्नुस् न’ भन्दा उनले केही पुराना फिल्महरुको नाम लिए । के घर के डेरा, सिन्दुर, माइतीघर, गङ्गासागर, बाँसुरीलगायत फिल्म उनको मानसपटलमा अझैसम्म ताजै रहेछन् । कति पटक त फिल्म दोहोर्याएर हेरेको स्मरण छन् काफ्लेसँग ।

०४२ सालतिर आफ्नै हाकिम ज्योति राणासँग जय नेपाल हल गएर फिल्म सिन्दुर हेरेका रहेछन्, उनले । यो फिल्म हेर्न ‘मलाई किन नलगेको’ भनेर श्रीमती रिसाएर घरमा खाना नै नबनाएको सम्झिन्छन् उनी । भन्छन, ‘उसले त छोडेर गइ। उसँग जोडिएका साना–साना यादहरुले त मलाई जिउँदो राखेको छ ।’ लाग्छ, उनले आफ्नी श्रीमतीलाई धेरै माया गर्थे, अझै पनि गर्छन् । ‘फिल्मको अन्तमा सिन्दुर पोते लगाईदिनुपर्ने थियो । तर लगाएन । यो भने विस्मात भयो ।’ फिल्मको त्यो क्षणले भने अझै उनलाई झस्काउँछ ।

‘बाँसुरी’ फिल्म भने नेपालमा चल्न दिएको थिएन रे । त्यसैले उनले दार्जिलिङ्ग पुगेर हेरेका रहेछन् । दोलखाका उनले आफ्नी श्रीमतीलाई शिक्षकले लिने आधारभूत १४ महिने तालिमका लागि धनकुटा पठाएका थिए । यही क्रममा उनलाई भेट्न जाँदा श्रीमान् श्रीमती धनकुटाबाट दार्जिलिङ्ग पुगेर फिल्म हेरेका रहेछन् । यो घटना पनि ४४/४५ सालतिरको हो ।

फिल्म ‘माइतीघर’ जय नेपाल हलमै हेरेका उनले श्रीमती रुन थालेपछि सम्हाल्न गाह्रो भएको सुनाउँछन् । ‘फिल्मको कथा नै यस्तो थियो म समेत भावुक भएँ’ उनी थप्छन् । ३०/३२ सालतिरै उनले फिल्म ‘परालको आगो’ हेरेका रहेछन् । अफिसको काम लिएर काठमाडौं आएका उनले यो फिल्म भने एक्लै हेरेका थिए रे ! यो फिल्मसमेत उनलाई राम्रै लागेको उनी बताउँछन् ।

तालिम मै आएको बेला उनले ‘के घर के डेरा’ फिल्म हेरेका रहेछन् । फिल्ममा एकदमै हसाएको उनी सम्झिन्छन । हौसिँदै उनी किस्सा सुनाउन समेत पछि पर्दैनन् । हरिवंश आचार्यले चोया काड्दै गर्दा बोलेको ‘डायलग’ उनलाई अझै पनि याद आउने रहेछ ।

मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, सन्तोस पन्त उनलाई मन पर्ने कलाकार हुन् रे । लामो समय फिल्म हल नपुगेका उनलाई नातिनीले दिपेन्द्र के खनालको फिल्म ‘आमा’ हेर्न लाने बताए पनि कोरोना भाइरसको कारण जान पाएनछन् । अब उनको ‘हिजो आजका कुरा’ हेर्ने रहर भने पूरा होस् ।

प्रतिक्रिया