चलचित्र हल खुले, दर्शक आउने आशामा सञ्चालक

चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ मार्फत  नेपाली चलचित्र जगतले कोरोना कहर पछि नयाँ चलचित्र पाएको छ ।

कोभिड १९ का कारण गत चैतबाट फिल्म हल बन्द भएका थिए ।  गत पुस १० गतेबाट सरकारी अनुमती बिना नै फिल्म हल सन्चालन भएसँगै लकडाउन अगाडी हलमा लागेका दुई चलचित्र ‘आमा’ र सेन्टी भाईरस’ प्रदर्शन गरियाे । तर दर्शक हलसम्म आउन चाहेनन् ।

सरकारले हल खाेल्न दिने निर्णय गरेसँगै माघ १ देखि ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आएको हाे । नायक शिव श्रेष्ठको छोरा शक्ती र नायिका करिष्मा मानन्धरकी छोरी कविताको डेब्यु फिल्म भएका कारण समेत दर्शक आउने निर्माताको अपेक्षा रहेको छ ।

तर, यस फिल्मसङ्गै भारतीय फिल्म ‘मास्टर’समेत नेपालमा प्रदर्शन सुरु भएको कारण ब्यापारमा केही असर पर्न सक्ने देखिन्छ ।फिल्म ‘मास्टर’ तामिल सुपरस्टार विजयको भारतीय फिल्म भएको कारण नेपाल र भारतमा दर्शक हलसम्म जाने अपेक्षा छ ।

क्युएफएक्ससहित केही सिङ्गल थिएटरमार्फत प्रदर्शनमा आएको फिल्म एउटा ‘यस्तो प्रेम कहानी’मा दर्शकको उपस्थिती भने न्युन रहेको छ । क्युएफएक्सको अफिसियल वेबसाइटमा देखिएको दर्शकको कमीले समेत यही पुष्टि गर्छ । तर पनि लामो समयसम्म ठप्प रहेको मनोरन्जन क्षेत्रमा नयाँ फिल्म लाग्नुलाई सकारात्मक रुपमा लिन सकिन्छ ।

बितरक गोपालराज कायस्थले लामो समयपछी हलमा चलचित्र लाग्नु नै सकारात्मक पक्ष भएको बताउँछन । उनी भन्छन्, ‘आजबाट सुरुवात भएको छ, दर्शकको उपस्थिती सन्तोषजनक नभए उपस्थिती मात्रैले पनि फिल्म क्षेत्र चलायमान हुन थालेकोमा खुशी हुनुपर्छ ।’

चलचित्रकाे ब्यापार शुक्रबार र शनिवारपछि मात्रै कस्तो हुन्छ भन्न सकिने र अहिले आशावादी हुनुकाे विकल्प नभएकाे उनले बताए । ‘फिल्म आज एकसाथ देशभर प्रदर्शनमा आएको छ, लामो समयपछि हल खुलेका छन्, वातावरण विस्तारै सहज बन्दै जानेछ’ उनले भने ।

त्यस्तै द्वारीका उदय सिनेमा हलका संचालक प्रदिपकुमार उदयले भने प्रोजेक्टरमा समस्या आएका कारण फिल्म लगाउन नसकिएको बताए । मर्मतको काम सकिनसाथ दुई तीन दिनभित्रमा नै आफ्नो हलमा समेत फिल्म लगाउने उनको तयारी  छ । फिल्म चल्नु नचल्नु भन्दा पनि हल खोल्नु मात्रै पनि ठुलो उपलब्धी भएको उनी बताउछन ।

विहीबारबाट प्रदर्शनमा आएको चलचित्र शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा, नरेन खड्का, ध्रुव कोइरालालगायतको अभिनय छ । फिल्मका निर्माता यशोदा राई र दिनेश दर्शनधारी हुन् । शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मको सह निर्मातामा खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेश थापामगर र तारा तुलाधर छन् ।

प्रतिक्रिया