प्रदेश १ मा बर्षा र तापक्रम वृद्धि

  • सुमन सुस्केरा

विराटनगर । प्रदेश १ को जलवायु संकट, जोखिम विश्लेषण तथा अनुकुलनको अवस्थाको विश्लेषण तयार भएको छ । वन तथा वातावरण मन्त्रालयले प्रदेश १ को विराटनगरमा गरेको जलवायु परिवर्तनको अनुकुलनका उपाय पहिचानबारे भएको छलफलका क्रममा प्रादेशिक अवस्था सार्वजनिक गरेको हो ।

विषयगत प्राविधिक टोलीले विभिन्न ८ विषयगत क्षेत्रहरुमा गरिएकाे अध्ययनमा प्रकोप, विपदको अवस्था, जोखिम र त्यसको विश्लेषण गरिएको प्राविधिक टोलीका संयोजक डा. विमल रेग्मीले जानकारी दिए । विश्लेषणका आधारमा आगामी दिनमा जलवायु अनुकुलन योजना निर्माण र कार्यान्वायनमा टेवा पुग्ने उनको भनाइ छ ।

प्रदेश १ मा तापक्रम बढ्दो

मन्त्रालयको प्राविधिक टोलीले गरेको अध्ययन अनुसार विगत ४३ वर्षको अवधिमा प्रदेश १ मा तापक्रम ०.०९ डिग्री बढेको छ । तापक्रम र वर्षामा जलवायु परिवर्तनले प्रत्यक्ष असर गरेको रेग्मीले बताए । सन् १९७१ देखि २०१४ सालसम्ममा ०.०९ डिग्री तापक्रम बढेको हो । ‘तापक्रममा ताप्लेजुङमा धेरै गर्मी बढेको महसुस स्थानीयले गरेको अध्ययनमा देखिएको छ,’ रेग्मीले भने, ‘सबैभन्दा बढी तापक्रम भएको जिल्लाहरुमा सुनसरी, मोरङ र झापा हुन् ।’

यही अवधिमा इलाममा सबैभन्दा कम वर्षा भएको र संखुवासभामा धेरै वर्षा भएको अध्ययनमा देखिएको उनी बताउँछन् । वर्षाको अनुकुलन हेर्दा सबैभन्दा बढी बर्षा संखुवासभामा भएको छ । ताप्लेजुङमा पनि धेरै पानी परेको छ । भोलिका दिनमा छोटो दिनमा धेरै पानी पर्ने दर बढ्ने र त्यसबाट जोखिम उच्च हुने अध्ययनले देखाएको छ । सन् २०३० सम्ममा झापा, मोरङ र सुनसरीमा धेरै हुने र सन् २०५० सम्मलाई आधार मान्दा खोलुखुम्बु जिल्लामा पनि धेरै पानी पर्ने आँकलन गरिएको छ  ।

जलवायुको असर

सन् १९७० देखि २०१९ को हालसम्मलाई आधार मान्दा बाढी र पहिरो बढेर गएको छ । बाढी, पहिरो, हिमताल विस्फोटन, चट्याङ, जलवायुजन्य प्रकोप देखिएको डा. रेग्मीले बताए । प्रदेश १ मा सुनसरी, मोरङ र झापा बाढीको चपेटामा रहेको र उच्च जोखिममा उदयपुर देखिएको छ ।

पहिरोमा झापा, मोरङ र सुनसरी बाहेक माथिल्लो क्षेत्रका सबै जिल्ला जोखिममा छन् । हिमनदीका कारण ताप्लेजुङ, सोलु र संखुवासभा जोखिममा रहेको डा. रेग्मीले बताए ।

यो अवधिमा पहिरोका कारण तेह्रथुम र उदयपुरमा सबैभन्दा क्षति भएको छ । सबै क्षेत्रको हानी र नोक्सानीलाई हेर्दा सबैभन्दा बढी झापा, मोरङ, सुनसरी र उदयपुरमा जाेखिम देखिएको छ ।

कृषि तथा खाद्य सुरक्षामा भोजपुर जोखिममा छ । उत्पादन र त्यहाँको खाद्य अवस्थालाई आधार मानेर जाेखिमकाे आँकलन गरेको उनी बताउँछन् । संखुवासभा र ताप्लेजुङकाे जैविक विविधता तथा जलाधार क्षेत्र अति जोखिममा छ । जलस्राेतमा ओखलढुंगा, तेह्रथुम, पाँचथर र मोरङ उच्च जोखिममा छन् भने उर्जामा ओेखलढुंगा र भोजपुर जोखिममा रहेकाे छ ।

जलवायुुको असर स्वास्थ्य क्षेत्रमा पनि देखिएको अध्ययनमा उल्लेख गरिएको छ । संखुवासभा, भोजपुर र मोरङ जिल्ला स्वास्थ्यको दृष्टीकोणले निकै जाेखिममा रहेकाे अध्ययनले देखाएकाे छ । यसमा रोग, प्रकोप र उपचारको पहुँचलाई आधार बनाएर सुचक बनाइएको रेग्मीले जानकारी दिए ।

२९३ नगरपालिकामा अध्ययनका क्रममा खानेपानी र सरसफाईमा मुहान नै दुषित रहेको अवस्था समेत फेला परेको उनी बताउँछन् । यसको आधारमा सोलुखुम्बु र मोरङ जोखिममा छन् । सरसफाई, फोहोरमैला व्यवस्थापनका कुरा, खानेपानीको अवस्था वर्षाको समयमा डुबान हुने ठाउँलाई सुचकको रुपमा आधार बनाइएको थियो ।

पर्यटन एवम् प्रकृतिक र सांस्कृतिक सम्पदा पनि जलवायुले असर पारेको देखिएको छ । ‘यसको अध्ययनको लागि संरक्षित क्षेत्र र निकुुञ्जलाई आधार मानिएको थियो,’ रेग्मी भन्छन्, ‘हिमाली क्षेत्रहरु जोखिममा छन, हिमताल विस्फोटन, हिमाली प्रजाती लोप भएको विषय आधार बनाइएको थियो ।’

वैदेशिक रोजगारीमा जाने महिला धेरै

जनसंंख्या वृद्धि, प्रवृत्ति र प्रक्षेपणलाई हेर्दा सात प्रदेशमध्ये प्रदेश १ चौँथो नम्बरमा देखिएको छ । आप्रवासी श्रमिकलाई आधार मान्दा प्रदेश २ मा धेरै पुरुष वैदेशिक रोजगारीमा गएको देखिन्छ भने प्रदेश १ मा महिला सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने गरेको तथ्यांकमा देखिएको रेग्मीले जानकारी दिए ।

जलवायु अनुुकुलन योजनाको तयारी

वन तथा वातावरण मन्त्रालयकी सहसचिव डा. राधा वाग्लेले विशेषज्ञ प्राविधिक टोलीबाट आएको अध्ययन प्रतिवेदनका आधारमा जलवायु अनुकुलन योजना निर्माण हुने बताइन् । उनका अनुसार अहिले अवस्था कस्तो हो भनेर अध्ययन र विश्लेषण मात्र गरिएकाले जिल्लालाई आधार मानिएको छ । जलवायु परिवर्तन मात्र भनिएकाे अवस्थामा तथ्यपरक असर के हो भनेर खोजी भइरहेकाले यो अध्ययनबाट केही तथ्य आएको उनकाे दाबी छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश १ का सचिव मेघनाथ काफ्लेले अध्ययनबाट आएको निष्कर्षका आधारमा प्रदेश सरकारले योजना अघि सार्ने बाटो खुलेको बताए ।

प्रतिक्रिया