दाहाल–नेपाल समूहको स्थायी समिति बैठक बस्दै, यी हुन् एजेण्डा

काठमाडौं । राजनीतिक रुपमा टुक्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको समूहको स्थायी समिति बैठक बिहीबार बस्ने भएको छ ।

बैठक दिउँसो ३ बजे जनसंगठनको कार्यालय, पेरिसडाँडामा बस्ने स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । ‘हाम्रो पार्टीको बैठक आज बस्दैछ’, मकालु खबरसँग बागमती प्रदेशकी इन्चार्जसमेत रहेकी शाक्यले भनिन्, ‘हामी दिउँसो ३ बजे भेटेर विभिन्न विषयमा छलफल गर्नेछौँ ।’

बैठकमा खासगरी सांगठानिक स्वरुपलाई पूर्णता दिने विषयमा छलफल हुनेछ । यसअघि गत १९ पुषमा बसेको समितिको बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले पार्टीभित्रको जिम्मेवारीलाई टुंगोमा पुर्याउने शाक्यले बताइन् ।

आज उक्त कार्यदलको कार्य अधिकार र पार्टीभित्रको जिम्मेवारीका विषयमा खास रुपमा छलफल हुने शाक्यले बताइन् । उनले भनेकी छन्, ‘हाम्रो सांगठानिक विषयमाथि खास रुपमा छलफल हुनेछन् ।’

यस्तै शाक्यका अनुसार दास्रो चरणअन्तर्गतको आन्दोलनलाई कसरी थप शसक्त बनाउने भन्ने विषयमासमेत छलफल केन्द्रित हुने हुनेछ ।

गत ५ पुषमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेपालको राष्ट्रिय राजनीति सडककेन्द्रित भएको छ भने दुवै नेकपाले आ–आफ्नो तौर–तरिकाबाट पार्टी समितिहरुको बैठक बोलाइरहेको छ ।

प्रतिक्रिया