जोखिम भन्दा पनि कर्तव्य सम्झिएर आएको हुँ : शिव श्रेष्ठ

काठमाडाैं । कोरोना संक्रमणको जोखिम बढेसँगै बन्द भएका सिनेमा घरहरु भोलि माघ १ गतेदेखि खुल्दै छन् । हल खुलेसँगै एक नयाँ चलचित्र पनि प्रदर्शनमा आउने भएको छ । चर्चित अभिनेता शिव श्रेष्ठले लगानी गरेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आउन लागेको हो ।

चलचित्रको प्रदर्शनका बारेमा साेधिएकाे एक प्रश्नमा नायक एवम् निर्माता श्रेष्ठले ठप्प भएको सिने क्षेत्र आफ्नो चलचित्रको प्रदर्शनले चलायमान हुने बताए । हामीले नायक एवम् निर्माता श्रेष्ठसँग चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ र काेभिडले सिने क्षेत्रमा पारेकाे समस्याका बारेमा साेधेका छाैँ :

यो विषम परिस्थितिमा सिनेमा लिएर किन आउनु भयो ?

हो समय अलि फरक नै छ । तर आश्चर्य मान्नुपर्ने त्यस्तो केही पनि छैन । कोभिडको समयमा सबैले आफ्नो क्षेत्रबाट काम सुरु गर्नुपर्ने आवश्यकता देखेर हामी अगाडी आएका हाैँ । कलाकारले कला क्षेत्रबाट अगाडी आउने बेला हो, यो । सिनेमा हेर्न सुरुमा दर्शक आउँदैनन् कि भन्ने डर हाम्रो टीममा पनि थियो । तर यो सिनेमाको प्रदर्शनले धेरै क्षेत्रको ढोका खोल्छ भन्ने लाग्यो । यसरी सबै क्षेत्रलाई चलायमान बनाउने देखेर हामीले प्रदर्शन गर्ने हिम्मत गरेका हाैँ ।

कोरोनाको जोखिम बढेको बेला नयाँ कलाकारको सिनेमा, लगानी जोखिममा परेन र ?

जोखिम त छ । तर हामी मनोरञ्जनको क्षेत्रबाट यहाँसम्म आएका हौँ । म आफैँ विगत ४० वर्षदेखि काम गर्दै आइरहेको छु । जोखिम भन्दा पनि कर्तव्य सम्झिएर आएको हुँ ।

अलिकति सिनेमाको कुरा गरौँ, कस्तो छ कथावस्तु ?

‘एउटा यस्तो प्रेम कहानी’ को कथावस्तु उत्कृष्ट छ । मेरो छोरा शक्ति श्रेष्ठ र करिष्मा मानन्धरको छोरी कविता मानन्धरले अभिनय गर्नुभएको छ । हामी कला क्षेत्रका व्यक्तिहरूले आफ्ना छोराछोरीलाई दर्शक सामु ल्याएका छाैँ । यसमा पुराना र स्थापित कलाकारहरुले पनि अभिनय गरेका छन् । सिनेमा कमर्सियल विधामा बनेको छ ।

फेरि पनि भर्खर हल खुल्दै छ, नयाँ सिनेमा हलमा लगाउन हतार भएन र ?

यो समयमा सिनेमा ल्याउनु मेरा दर्शकको लागि हो । मलाई ४० वर्षदेखि उहाँहरूले दिनु भएकाे माया र विश्वासलाई कर्तव्य सम्झेर पनि यो समयमा सिनेमा लिएर आएको हुँ । मलाई बनाएको दर्शकले हो, त्यसैले मैले पनि दर्शकलाई मनोरञ्जन दिनुपर्छ । मेरो फिल्म् हेर्न दर्शक हलसम्म आउनुहुन्छ । कोरोनाको कारण घरभित्र उकुस मुकुस भएर बस्नु भएका दर्शकलाई नयाँ ताजा सिनेमा दिएको छु ।

अन्तिममा,यो सिनेमाको प्रदर्शन सँगै सिने क्षेत्रमा कस्तो प्रभाव पर्छ ?

यो सिनेमाको प्रदर्शन सँगै बन्द भएका, रोकिएर रहेका कामहरु सुचारु गर्न बाटो खुल्नेछ भन्ने अपेक्षा राखेका छाैँ । अब केहि गर्नुपर्छ, चुप लागेर बस्नुहुन्न भन्ने सन्देश पनि प्रवाह हुनेछ । साथै सिने क्षेत्रका प्राविधिक कलाकारहरुले काम पाउने वातावरण बन्नेछ । हामीले प्राविधिक कलाकारहरुलाई काम पनि दिनु छ । मैले पनि सिनेमाको प्रदर्शन पछि संकलन हुने केहि रकम प्राविधिकहरुलाई सहयोग गर्नेछु ।

प्रतिक्रिया