‘बाँडीचुँडी खान पल्केकालाई निर्वाचन घोषणाले तनाव दिएको छ’

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि विभाजित दुई समूहबीच ‘आधिकारिक नेकपा’ को होडबाजी चलिरहेको छ । नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड-माधव कुमार नेपाल समूह र ओली समूहले एकअर्काकाे  विरोध गर्दै आइरहेका छन् ।

यसैबीच ओली समूहका नेता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीभित्रका नेताले काम गर्न नदिएका कारण प्रतिनिध सभा विघटन गर्नुपरेकाे बताएका छन् । मंगलबार संस्कृति मन्त्रालय अन्तर्गत नेपाल निजामति कर्मचारी संगठनका प्रतिनिधिसँगको छलफलका क्रममा बाध्यात्मक ढंगले निर्वाचनको विकल्पमा जानु परेको तर्क गर्दै मन्त्री ढकालले आगामी वैशाख १७ र २७ गते निर्वाचन भएरै छाड्ने दावी समेत गरे ।

छलफल कार्यक्रममा उनले नेपाल-दाहाल समूहलाई लक्षित गर्दै बाँडीचुँडी खान पल्केकाहरु निर्वाचनमा जान डराएर प्रतिनिधि सभा पुनर्स्थापना भन्दै हिँडेको आरोप समेत लगाए । उनले भनेका छन्- ‘जनतामा नगई पार्टीभित्र बाँडीचुँडी खान पल्केकालाई निर्वाचको घोषणाले तनाव दिएको छ । निर्वाचनकाे सामना गर्न डराइरहेका छन् ।’

प्रतिक्रिया