पाँच जिल्लामा ६ जना मृत फेला

काठमाडाैं । पाँच जिल्लामा ६ जना मृत अवस्थामा फेला परेका छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार, तनहुँकाे आबुखैरेनी गाउँपालिका-२ नारीघाटस्थित धनराज गुरुङको जीर्ण अवस्थामा रहेको घरमा बिगत ७ वर्षदेखि बस्दै आएका निरौला नाम बताउने करिब ५५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै, मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-४ स्थित होटल सामनामा भक्तपुर बालकोट बस्ने ६० वर्षीय लेखजंग ध्वज केसी सोमबार मृत अवस्थामा फेला परेका छन् । केसी पुस १२ गतेदेखि उक्त होटलमा बस्दै आएको बुझिएको छ ।

यसैगरी मकवानपुरकै हेटौंडा उपमहानगरपालिका-१८ भुटनदेवी टोल बस्ने ५५ वर्षीय नवराज मालबु घरदेखि करिब २ सय सय मिटर भित्री सडकको छेउमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

धनुषामा पनि एक जना मृत भेटिएका छन् । धनौजी गाउँपालिका-५ बस्ने अलाउदिन नदाफकी १७ वर्षीया छोरी सबिना खातुन आफनै घरको कोठामा आइतबार मृत अवस्थामा फेला परेकी हुन् । 

यता रुपन्देही, सिद्धार्थनगर नगरपालिका-१ वेलहीया बसपार्कस्थित तनहुँ होटलको कोठा नम्बर ११२ मा गुल्मी रुरु गाउँपालिका-२ अस्लेवा बस्ने ६० वर्षीय टोप सिंह कुँवर सोमबार मृत  फेला परेका छन् ।

यसैगरी दैलेख, दुल्लु नगरपालिका-१ तल्लोडुङ्गेश्वर बजारमा रोकी राखेको लु अ अ ९८१४ नम्बरको मिनि ट्रकमा सोही ट्रकका चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने ५० वर्षीय गगा बहादुर सुनार गाडीभित्र सुतेको अवस्थामा आइतबार मृत फेला परेका छन् ।

घटनाबारे स्थानीय प्रहरीहरूले अनुसन्धान गरिरहेका छन् ।

प्रतिक्रिया