‘लप्पन छप्पन २’ चार भाषामा प्रदर्शन हुँदै

काठमाडौं । चलचित्र ‘लप्पन छप्पन २’ नेपालीसहित चार भाषामा रिलिज हुने भएको छ ।

आउँदो फागुन २७ गतेबाट देशभरिका हलहरुमा प्रदर्शन हुन लागेको चलचित्र नेपाली, हिन्दी, तमिल र भोजपुरी भाषा गरि ४ भाषामा रिलिज हुने भएको हो । आइतबार हिजो निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै उक्त चलचित्रको बारेमा जानकारि दिएको हो । चलचित्रको मुम्बईमा हिन्दी, तमिल र भोजपुरी भाषामा डबिङ गरिने निर्देशक मुकुन्द भट्टले बताए ।

एक्सन जनरामा बनेको उक्त चलचित्रमा अभिनेता सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शिव श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतको अभिनय रहेको छ भने, यस चलचित्रबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तले अभिनयमा डेब्यू गर्दैछन् ।

सुरज अधिकारी र प्रजापति सिवाकोटी कार्यकारी निर्माता रहेको चलचित्रमा दीलिप ओकेडाको कोरियोग्राफी, हिमाल केसी र मुकुन्द भट्टको द्वन्द्व र मिलन श्रेष्ठकाे सम्पादन रहेको छ । यस चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचे हुन् भने,पटकथा र संवाद मुकुन्द र सुनिल नेउरेले लेखेका हुन् ।

यो चलचित्र नेपालमा प्रदर्शन भएपछि भारतको ओटीटीमा रिलिज गर्ने तयारी गरेको निर्माण टिमले बताएको छ । यसका लागि केही कम्पनीसँग कुराकानी भइरहेको र उनीहरु पनि सकारात्मक देखिएको निर्माण टिमले बताएको छ ।

प्रतिक्रिया