प्रधानमन्त्रीको विरोधमा विराटनगरमा बयलगाडा र्‍याली

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दाहाल–नेपाल समूहका कार्यकर्ताले विराटनगरमा बयलगाडा जुलुस निकालेका छन् । विराटनगरको रोडशेष चोकबाट बयलगाडा जुलुस निकालिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली संघीयताको विरोधी भएको आरोप लगाउँदै असंवैधानिक कदमको विरुद्धमा बयलगाडा जुलुस निकालिएको अनेरास्ववियुका नेता ओसिम आलमले जानकारी दिए ।

बयलगाडामा अमेरिका कहिले पुगिन्छ ? भन्दै नाराबाजी गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा विराटनगरमा दैनिक जस्तो विरोध हुँदै आएको छ । प्रधानमन्त्री ओलीको असंवैधानिक कदम नसच्चिँदासम्म आन्दोलन जारी रहने नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले बताए ।

शनिवार मात्र नेपाली काँग्रेसले क्षेत्रीय रूपमा विरोध सभाको आयोजना गरेको थियो । यस्तै जनता समाजवादी पार्टीले विराटनगरमा विरोध सभा गरेको थियो ।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले केपी ओलीको कदमलाई हिट्लर प्रवृत्ति भनेका थिए । हिट्लर पवृत्तिका व्यक्तिलाई छिमेकी मित्रराष्ट्रहरुले समर्थन गर्न नहुने बताएका थिए ।

प्रतिक्रिया