‘पल्पसा क्याफे’ माथि बन्न लागेको नाटकमा स्वस्तिमाको अभिनय

काठमाडौं । रंगमञ्चले अभिनेता सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, खगेन्द्र लामिछाने, कर्मा शाक्य, प्रवीण खतिवडा, बुद्धि तामाङ, विजय बराललगायतका कलाकारहरु नेपाली सिनेमालाई दिएको छ ।

पछिल्लो समय भने सिनेमामा स्थापित कलाकारहरुको रंगमञ्चतर्फ आकर्षण र सक्रियता बढ्दो रुपमा देख्न सकिन्छ । पछिल्लो समय नेपाली सिने जगतमा स्थापित राजेश हमाल, नम्रता श्रेष्ठलगायतका कलाकारहरुले पनि फुर्सदको समयमा नाटकमा अभिनय गर्न थालेका छन् ।

यसैबीच, अहिलेकी हटकेक नायिका स्वस्तिमा खड्काले पनि नाटकमा अभिनय गर्ने भएकी छन् । नारायण वाग्लेद्वारा लिखित चर्चित उपन्यास ‘पल्पसा क्याफे’ माथि बन्न लागेको नाटकमा स्वस्तिमाले पहिलो पटक अभिनय गर्न लागेकी हुन् । बिमल सुवेदीले निर्देशन गर्ने उपन्यासको नाट्य रुपान्तरण सुरज सुवेदीले गरेका हुन् । अहिले यसको रिहर्सल कार्य चलिरहेको छ ।

आफ्नो मनपर्ने उपन्यासमाथि बन्न लागेको नाटकमा अभिनय गर्न पाउदा स्वस्तिमा निकै नै उत्साहित छिन् । उक्त नाटक सकिएपछि स्वस्तिमाले चलचित्र ‘चिसो मान्छे’ र श्रीमान निश्चल बस्नेतले निर्देशन गर्ने चलचित्र ‘जिन्दाबाद’को छायाँकनमा व्यस्त हुनेछिन् ।

प्रतिक्रिया