मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचार

प्रचण्ड–नेपाल पक्ष पदलोलुप, स्वार्थी र अन्त कतैको रोबोटबाट चलेका तत्व : प्रम
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कमदको फेरि बचाउ गरेका छन् । शनिबार काठमाडौमा कार्यकर्ता भेलालाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले बहुमत आफुसँग रहेको प्रधानमन्त्रीले ताजा जनादेशमा जान्छु भनेपछि संसदबाट अर्को प्रधानमन्त्री बन्ने विकल्प बाँकी नरहने जिकिर गरेका हुन् ।

‘६४ प्रतिशत बहुमत मेरो पक्षमा थियो । मैले या संसदले जनताका पक्षमा काम गर्न नसकेकाले नयाँ जनादेशमा जाने निष्कर्ष गरेँ’, प्रधानमन्त्री ओलीले भने ‘यस्तो अवस्थामा ३६ प्रतिशत सांसदले कसरि बहुमत कायम गर्न सक्छन् ?’

ओली संसद छाडेर भागेका भगौडा हुन् : गगन
नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली संसद छाडेर भागेको भगौडा भएको टिप्पणी गरेका छन् । संसद विघटनको विरोधमा काठमाडौमा भएको प्रदर्शनलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री अ‍ोली क्रान्तिकारी नभएर संसद छोडेर भागेको भगौडा भएको टिप्पणी गरेका हुन् ।

संसदमा सामना गर्न नसकेर प्रधानमन्त्री ओली भगौडा जस्तै भागेको तर युद्ध जितेर आएको जस्तै फूर्ती गरेको टिप्पणी गरे । ‘दशरथ रंगशालाको बक्सिङ रिङमा बक्सिङ खेल्न तयार भएर बसेका छौं । प्रधानमन्त्री बक्सिङ खेल्न आउनुहोला भनेको त त्रिपुरेश्वरबाट भाग्नुभयो । महाबौद्धमा गएर आफैं गोल्डमेडल किन्नु भएछ’, थापाले भने त्यही मेडल लगाएर आफुले बक्सिङ जितेर आएको भन्नुहुन्छ । खेल्नु भएन त भन्दा आएको भए ढालिदिन्थेँ भन्नुहुन्छ ।’ नेता थापाले ओलीलाइ खुलामञ्चमा संविधान पढ्न आउन चुनौती दिए ।

घट्यो कोरोना संक्रमण दर, शनिवार ३६२ जनामा पुष्टि, ६९९ जना डिस्चार्ज
नेपालमा कोरोना संक्रमण दर घट्दै गइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ६२ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । अब देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ।

यस्तै, गत २४ घण्टामा ६९९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५७ हजार ९२८ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय १२ पुगेको छ। हाल देशभर ४ हजार ६ सय ८१ जना सक्रिय संक्रमित रहेका छन्।

अदालतको निर्णय मान्नुपर्छ : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको निर्णय मान्नुपर्ने बताएका छन् । काठमाडौं निर्वाचन क्षेत्र नं. ५ (ख) ले गरेको विरोधसभालाई संबोधन गर्दै सभापति देउवाले अदालतले विवेक पुर्याएर निर्णय गर्ने भएकाले त्यसलाई मान्नुपर्ने बताएका हुन् । अदालतले जुलुसको भरमा निर्णय गर्न नहुने उनको भनाइ छ । सर्वोच्च अदालतभन्दा पनि ठूलो अदालत जनता भएकाले जनतामाझ जाने मौका आएको खण्डमा कांग्रेस जनतामा जान तयार हुनुपर्ने सभापति देउवाको भनाइ छ ।

‘अदालतले जे निर्णय गर्छ, त्यो मान्नुपर्छ । अदालतलाई प्रभावित गर्नु हुँदैन । नाराजुलुसको भरमा अदालतले निर्णय गर्नु हुँदैन । अदालतले विवेक पु¥याउने हो,’ देउवाले भने, ‘संवैधानिक मूल्य मान्यतालाई पालना गर्ने हो । यो गर, ऊ गर भन्न मिल्दैन । संसद् पुनर्स्थापना नभए चुनाव हुने अवस्था आउँछ । चुनाव गराउन दबाब दिनुपर्छ । चुनाव लड्नका लागि हामी तयार हुनुपर्छ ।’ संविधानमा के लेखिएको छ ? भन्ने कुरा अदालतले भन्ने विषय भएको सभापति देउवाको भनाइ छ । अदालतमा विचाराधीन मुद्दाको विषयमा बोल्न नहुने भन्दै देउवाले प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदम प्रजातन्त्रविरुद्धको कदम हो भन्ने कांग्रेसको धारणा रहेको बताए ।

चार पूर्व प्रधानन्यायाधीशलाई बाँस्कोटाको चुनौती
केपी शर्मा ओली नेतृत्वको नेकपाका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले प्रतिनिधि सभा विघटनविरुद्ध विज्ञप्ति निकाल्ने चारजना पूर्व प्रधानन्यायाधीशलाई चुनाव लड्न आउन चुनौती दिएका छन् । शनिबार गृहजिल्ला काभ्रेमा सम्पन्न पार्टी भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाबाट चुनाव लड्न आउन चुनौती दिएका हुन् ।

चुनाव लडेर राजनीति गर्न चुनौती दिएका बाँस्कोटाले भनेका छन्, ‘श्रीमान्हरुलाई राजनीति गर्न मन लागेको भए दाहाल–नेपाल समूहको अलोकतान्त्रिक कित्ताको सदस्य भएर चुनाव लड्न आउँदा हुन्छ ।’ भूतपूर्वहरुले वर्तमान मुद्दाको फैसला नगर्ने बताउँदै बाँस्कोटाले थप भने, ‘श्रीमान्हरु भूतपूर्वले फैसला गर्ने त होइन होला नि । फैसला गर्ने त वर्तमानले नै हो नि त । अहिलेसम्मको विधि त त्यही होला नि श्रीमान्हरु ?’ यसअघि शुक्रबार उल्लिखित ४ पूर्वप्रधानन्यायाधीशहरुले संयुक्त विज्ञप्ति जारी गर्दैै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाविरुद्ध चालेको कदम अलोकतान्त्रिक भएको औंल्याएका थिए ।

बैशाखमा कुनै हालतमा चुनाव हुँदैन’
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बैशाखमा चुनाव नहुने बताएका छन् ।
शनिबार काठमाडौंको विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले संविधानमाथि प्रहार हुँदा आफूहरु चुप लागेर नबस्ने बताउँदै आगामी बैशाखमा चुनाव नहुने बताएका हुन् ।

नेता सिंहले झण्डै दुईतिहाइ बहुमत प्राप्त नेकपाको सरकार असंवैधानिक बाटोतिर लागेको बताउँदै भने, ‘दुईतिहाइको सरकार भन्ने, तर संसद्मा विश्वासको मत लिन नसक्ने सरकारले कसरी चुनावबाट जनताको मत लिन सक्छ ?’ संविधानमा संसद् विघटन गर्ने प्रधानमन्त्रीको विशेषाधिकार नभएको जिकिर गर्दै नेता सिंहले अलोतान्त्रिक कदम चाल्ने प्रधानमन्त्रीले घोषणा गरेको चुनाव हुन नहुनेमा जोड दिए ।

यसअघि गत ५ पुषमा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि आगामी १७ र २७ बैशाखमा आम चुनाव गर्ने घोषणा भएको छ ।

अमेरिकाले आफ्नो देशप्रतिको रणनीति परिवर्तन गर्दैन
अमेरिका ठूलो शत्रु भन्दै उत्तर कोरियाले परमाणु तथा सैन्य क्षमता विस्तारको घोषाणा गरेको छ ।
त्यहाँका नेता किम जोङ्ग–उनले अमेरिका आफ्नो सबैभन्दा ठूलो शत्रु रहेको बताउँदै सैन्य क्षमताको विस्तार गर्ने घोषणा गरेका हुन् । सत्तामा जो नै आए पनि अमेरिकाले आफ्नो देशप्रतिको रणनीति परिवर्तन गर्ने कुनै अपेक्षा नरहेको नेता किमको तर्क छ ।

सत्तारुढ वर्कर्स पार्टीको कंग्रेसलाई सम्बोधन गर्ने क्रममा नेता किमले उत्तर कोरियाको परमाणु हतियार तथा सैन्य क्षमता विस्तार गर्ने पनि घोषणा गरेका छन् । न्यूक्लियर सबमरिन बनाउने योजना लगभग पूर्णता पाउने अवस्थामा पुगेको उनले बताए । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सत्ता सम्हाल्ने बेला हुँदै गर्दा नेता किमको टिप्पणी आएको हो ।

पशुपतिनाथलाई चिसोबाट जोगाउन धनुर्मास पूजा गरिँदै
पशुपतिनाथलाई चिसोबाट जोगाउन शनिबार २४ सै घण्टा मूल मन्दिरमा धनुर्मास पूजा आराधना गरिने भएको छ । पशुपतिनाथ मन्दिरमा आदिकालदेखि नै सौर र चान्द्र दुवै मास अनुसार पुस परेका दिनमध्ये उपयुक्त दिनमा धनुर्मास पूजा गर्ने परम्परा रहेको छ । भगवान पशुपतिनाथका गणसहित नवग्रहलाई समेत दिन एवं रातभर पूजा गरिने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए । यही पुस १५ देखि अगामी माघ २९ सम्म सौर र चान्द्र दुवै गणना पद्धति अनुसार पुस महिना परेको छ ।

पार्वतीसहितका शिवजीलाई जाडोबाट जोगाउन धनुर्मास पूजा गर्ने परम्परा बसेकाले पूजापछि शरीरमा ताप दिने खाद्य पदार्थ चाकु, सखर र खिचडी लगायत प्रसादका रूपमा चढाउने परम्परा छ । यस पूजामा पशुपतिनाथका मूलभट्ट र पशुपतिनाथ अमालकोट कचहरीका द्वारे लगायत सहभागी हुनुपर्ने विधि छ ।

भारतको एक अस्पतालमा आगलागी, १० नवजात शिशुको मृत्यु

भारतको एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १० नवजात शिशुको मृत्यु भएको छ । भारतको महाराष्ट्रको भण्डारा जिल्लास्थित अस्पतालको नवजात शिशु स्याहार केन्द्रमा शनिबार बिहान करिब दुई बजेतिर आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको हो । सात जना शिशुको भने सुरक्षित रुपमा उद्दार गरिएको छ ।

तीन/चार बच्चाको मृत्यु जलेर भएको छ भने बाँकीको अक्सिजन नपाएर मृत्यु भएको अस्पतालका सिविल सर्जन डाक्टर प्रमोद खन्डाराले जनाएका छन् । भण्डारा मुम्बईबाट ९०० किलोमिटर टाढा छ।

 

प्रतिक्रिया