अदालतको निर्णय मान्नुपर्छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको निर्णय मान्नुपर्ने बताएका छन् । काठमाडौं निर्वाचन क्षेत्र नं. ५ (ख) ले गरेको विरोधसभालाई संबोधन गर्दै सभापति देउवाले अदालतले विवेक पुर्याएर निर्णय गर्ने भएकाले त्यसलाई मान्नुपर्ने बताएका हुन् । अदालतले जुलुसको भरमा निर्णय गर्न नहुने उनको भनाइ छ ।
सर्वाेच्च अदालतभन्दा पनि ठूलो अदालत जनता भएकाले जनतामाझ जाने मौका आएको खण्डमा कांग्रेस जनतामा जान तयार हुनुपर्ने सभापति देउवाको भनाइ छ ।
‘अदालतले जे निर्णय गर्छ, त्यो मान्नुपर्छ । अदालतलाई प्रभावित गर्नु हुँदैन । नाराजुलुसको भरमा अदालतले निर्णय गर्नु हुँदैन । अदालतले विवेक पु¥याउने हो,’ देउवाले भने, ‘संवैधानिक मूल्य मान्यतालाई पालना गर्ने हो । यो गर, ऊ गर भन्न मिल्दैन । संसद् पुनर्स्थापना नभए चुनाव हुने अवस्था आउँछ । चुनाव गराउन दबाब दिनुपर्छ । चुनाव लड्नका लागि हामी तयार हुनुपर्छ ।’
संविधानमा के लेखिएको छ ? भन्ने कुरा अदालतले भन्ने विषय भएको सभापति देउवाको भनाइ छ । अदालतमा विचाराधीन मुद्दाको विषयमा बोल्न नहुने भन्दै देउवाले प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदम प्रजातन्त्रविरुद्धको कदम हो भन्ने कांग्रेसको धारणा रहेको बताए ।

सभापति देउवाले आफूलाई ओलीले चुनाव गराउने विश्वास रहेको पनि बताए ।

‘मलाई विश्वास छ, ओलीले चुनाव गराउँछन्, गराएनन् भने सबै जनता मिलेर जनताले ओलीलाई नेपालमै बस्न नदिने अवस्था आउन सक्छ,’ उनले भने ।

‘प्रधानमन्त्री ओलीले चुनावको प्रचार थालिसकेकाले कांग्रेसपनि अव चुप बस्न नहुने बताए । ‘ ५–६ महिनामा चुनाव हुन्छ, नभए पनि दुई वर्षपछाडि त चुनाव हुन्छ’, सभापति देउवाले भने, कांग्रेस चुनावमा जाने पार्टी हो । त्यसकारण चुनाव त सधैँ हुन्छ भनेर तयार हुनुपर्छ ।’

देउवाले कांग्रेसले अदालतको निर्णय मान्ने बताइरहँदा विरोधसभामा उपस्थित कांग्रेस कार्यकर्ताले भने विरोध जनाएका थिए ।

प्रतिक्रिया