ट्रम्पमाथि पुनः महाअभियोग लगाउने तयारी, ट्वीटरले पनि लगायो सदाका लागि प्रतिबन्ध

एजेन्सी । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पमाथि पुनः महाअभियाेग लगाउने तयारी गरिएकाे छ । डेमोक्र्याटिक पार्टीका नेताहरुले राष्ट्रपति ट्रम्पविरुद्ध पुनः एकपटक महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेका हुन् ।

तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी तथा तल्लो सदनका डेमोक्र्याटिक मेजोरिटी लिडर चक सुमरले २५ औँ संशोधन अनुसार सत्ताच्यूत नगरिए महाअभियोग लगाउने बताइसकेका छन् । ट्रम्पले तत्काल राजीनामा नदिए महाअभियोग प्रस्ताव अघि बढाउने सभामुख न्यान्सी पेलोसीकाे भनाइ छ ।

यद्यपी ट्रम्पको मन्त्रीमण्डलमा यसबारे चर्चा भए पनि उपराष्ट्रपति पेन्स भने यसका लागि तयार नभएकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । यसअघि सन् २०१९ मा युक्रेनका शासकलाई गरेको टेलिफोन संवादलाई लिएर उनीमाथि महाअभियोग लागेको थियो । त्यो बेला महाअभियोग प्रस्ताव माथिल्लो सदनबाट पारित हुन सकेको थिएन ।

पछिल्लाे समय भने ट्रम्पमाथि वाशिङ्टन हिंसामा भूमिका खेलेकाे आरोप लागेकाे छ । साेही कारण तल्लो सदनका डेमोक्र्याटहरुले सोमबार ‘बिद्रोहका लागि उक्साएको’ अभियोगसहितको महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेका हुन् ।

बुधबार राजधानी वासिङ्गटन डिसी स्थित संसद भवनमा हतियारसहित प्रवेश गरेका ट्रम्पका समर्थकहरुले तोडफोड तथा हिंसात्मक गतिविधि गरेका थिए । सो घटनामा हालसम्म पाँचजनाको ज्यान गएको पुष्टि भएको छ । हिंसाकै बिच अमेरिकाकाे दुवै सदनकाे संयुक्त बैठकले राष्ट्रपतिमा जाे बाइडेन विजयी भएकाे प्रमाणित गरिसकेकाे छ ।

स्थानीय समय अनुसार बुधबार अबेर राति सकिएको हाउस अफ रिप्रिजेन्टेटिभ र सिनेटको संयुक्त बैठकले नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार बाइडेन ३०६ इलेक्टोरल कलेज मतसहित राष्ट्रपतिमा विजयी भएकाे प्रमाणीकरण गरेकाे हाे । अर्का प्रतिस्पर्धी रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले २३२ इलेक्टाेरल मत प्राप्त गरे ।

अमेरिकी राष्ट्रपतीय निर्वाचन गत नोभेम्बर ३ मा भएकाे थियाे । निर्वाचनमा रिपब्लिकन पार्टीबाट बहालवाला राष्ट्रपति ट्रम्प र डेमोक्र्याटिक पार्टीबाट पूर्व उपराष्ट्रपति जो बाइडेन उम्मेदवार बनेका थिए ।

ट्रम्पमाथि सामाजिक सञ्जाल ट्वीटरले समेत प्रतिबन्ध लगाएकाे छ । ट्वीटरले ट्रम्पको ह्याण्डल स्थायी रुपमा निलम्बित गरिएको जनाएको हो । ‘थप हिंसाका लागि भड्काउन सक्ने खालका सामग्री पोस्ट हुन सक्ने जोखिम’ का कारण ट्रम्पको ह्याण्डल स्थायी रुपमा बन्द गरिएको ट्वीटरले जनाएको छ ।

प्रतिक्रिया