कोमल वलीले भनिन्– जनतामा जानु अधिनायकवाद हाेइन

काठमाडाैं । राष्ट्रिय सभा सदस्य एवम् नेकपा नेतृ काेमल वलीले संसद विघटन गरेर जनतामा जानु गलत नभएकाे बताएकी छिन् । राष्ट्रिय सभामा आज (शुक्रबार) आफ्नो धारणा राख्ने क्रममा सांसद वलीले यस्तो बताएकी हुन् ।

‘जो व्यक्तिले आफ्नो सम्पत्ति आफ्नो भौतिक शरीरकाे अन्त्य पछि राष्ट्रको नाममा लेखिदिएको छ, त्यो व्यक्ति कदापी भ्रष्ट हुन सक्दैन । जो व्यक्तिले हामी पुराना भयौँ, अब पुस्तान्तरण गर्नुपर्छ भन्छ, त्यो व्यक्ति महत्वकांक्षी हुन सक्दैन । जो जनतामा जान चाहन्छ, त्यो अधिनायकवादी हुन सक्दैन,’ सांसद वलीले भनिन् ।

यस्तै उनले संसद तथा स्थायी कमिटीमा नेता तथा सांसदहरूले जनताका दुःख, विकासका कुरा नगरेकाे, सरकारलासरकारका कमिकमजोरी नऔँल्याएको, सरकारलाई बाटो देखाउन सहयोग नगरेको समेत उनले आरोप लगाइन् । कसैले सरकारकाे जिम्मेवारीका विषयमा छलफल गरेकाे भए राजनीतिले एउटा राम्राे बाटाे लिने उनकाे भनाइ छ ।

‘नेताहरुले सरकारलाई बाटो देखाउने हो, कमिकमजारोहरुका बारेमा आलोचना गर्ने हो । तर सरकारको कुन कामको जिम्मेवारीका विषयमा यो तीन वर्षमा छलफल भयो ? सत्तापक्षका कुन नेताले जनताका पक्षमा फरक मत राख्नुभयो ? सडकमा कहिले बोल्नुभयो ? त्यसो भएको भए राजनीतिले एउटा बाटो लिन्थ्यो’ उनले भनिन्- ‘तर स्थायी कमिटिको बैठकमा को कस्तो कुर्सीमा बस्यो ? कसको कुर्सी कतापट्टी फर्काएर राखिएको थियो भन्ने विषयले देशलाई बन्धक बनाएको उहाँहरुले जिम्मा लिनुपर्छ कि पर्दैन ?’

यस्तै उनले सरकार तथा सरकारका निकायहरूमाथि यति धेरै शंका गर्न नहुने बताइन् । ‘अर्को आश्चर्यलाग्दो कुरा, सरकारमाथि यति धेरै शंका किन ? शंका गर्ने अनि अहिलेको सरकार सर्वसत्तावादी भयो भन्ने ?’, उनकाे प्रश्न छ ।

सांसद वलीले अहिले प्रधानमन्त्रीले गरेको संसद विघटन संविधान विपरित हो, असंवैधानिक हो, भन्ने कसैलाई लाग्छ भने त्यसको व्याख्या गर्ने अधिकार हामीले अदालतलाई दिएकाे र अदालतले जस्ताे निर्णय गरेपनि स्वीकार्ने बताइन् ।

ठुलोठुलो स्वरले कराएर, चिच्याएर भन्दैमा कोही अधिनायकवादी नहुने उनकाे तर्क छ । ‘जो व्यक्ति जनतामा जान डराउँछ त्यो व्यक्तिको भित्रि मनमा अधिनायकवाद तानाहशाही हुन सक्छ । जनतामा जानु तानाशाही हो, अधिनायकवाद हो भन्ने कुनै राजनीतिक दर्शनमा लेखिएको छैन’, उनले भनिन् ।

प्रतिक्रिया