प्रहरी महानिरीक्षक क्षेत्रीको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै सरुवा भई जान लागेका प्रहरी उपरीक्षकहरु र प्रहरी नायव उपरीक्षकहरुलाई सुरक्षा चुनौती व्यवस्थापनका लागि आवश्यक तयारी गर्न निर्देशन दिएका छन् ।

प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहमा महानिरीक्षक क्षत्रीले क्षेत्रीले हालको परिस्थितिलाई मनन र विश्लेषण गरी सोही अनुरुपको कार्य योजना बनाई अगाडि बढ्न सरुवा भई जान लागेका प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका हुन्।

उनले हालको सुरक्षा चुनौती व्यवस्थापन, तस्करी तथा गुन्डागर्दी नियन्त्रण र नेपाल सरकारद्वारा घोषित निर्वाचनलाई मध्यनजर राखी आवश्यक तयारीमा जुट्नुपर्नेमासमेत जोड दिए । यस्तै हालै संगठनले लागू गरेको नेपाल प्रहरी कार्य योजना र प्रहरी कर्मचारीले पालना गर्नुपर्ने आचार संहिता लगायतका नीति निर्देशनलाई अक्षरस पालना गरी लागू गर्नुपर्ने उनको भनाइ थियो।

सेवाग्राहीले देख्ने र भोग्ने गरी प्रहरी कार्यमा सकारात्मक परिवर्तन आएमा तपाईँको उपस्थिति सार्थक हुने हुनाले सबैले आफ्नो कर्तव्य र संगठनले दिएको जिम्मेवारी पूरा गर्नुपर्ने उनले बताए । कार्यालय व्यवस्थापन, साधनस्रोतको उचित परिचालन र मर्मत सम्भारलगायतका दैनिक क्रियाकलापमा विशेष ध्यान दिई चुस्त दुरुस्तरुपमा प्रस्तुत हुनसमेत उनले निर्देशन दिएका छन्।

प्रहरी प्रधान कार्यालयले यही पुस २१ गते ३० जना प्रहरी उपरीक्षकहरु र ६९ जना प्रहरी नायव उपरीक्षकहरुको सरुवा गरेको थियो ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया