मलिन मुहारमा राष्ट्रिय सभामा बामदेवको पहिलो मन्तब्य (भिडियाेसहित)

काठमाडौं । एमालेभित्र बलियो समुह निर्माण गर्न सफल भएपनि ‘अस्थिर चरित्र’ का कारण उनको पहिचान ‘भर नभएका नेता’ को थियो । उनको पहिचान नेकपा बन्दा पनि फेरिएन । कहिले ओलीतर्फ ढल्किएर त कहिले दाहाल नेपालतिर नजिक भएर उनले ‘अस्थिर’ परिचय कायमै राखे ।

प्रतिनिधिसभाको चुनावमा ‘अप्रत्यासित रुपमा’ बर्दिया १ बाट पराजित भएपछि बामदेवले आफूलाई हराउन षडयन्त्र भएको जिकिर गरे । पूर्व एमालेभित्रकै नेताहरुको षडयन्त्रमा हराइएको आरोप उनी निकट नेता कार्यकर्ताको छ ।

प्रतिनिधिसभामा पराजित भएपछि उनै गौतम राष्ट्रियसभामा प्रवेश गरे, चर्को विरोधका बिच । निर्वाचन हारेपछि कम्तिमा यो कार्यकाल भरि कुनैपनि बाटोबाट संसदमा जानु हुँदैन भन्नेहरुका तर्क बेवास्ता गर्दै उनले राष्ट्रिय सभामा प्रवेश गरिछाेडे ।

त्यहि राष्ट्रियसभामा उनको पहिलो भाषण भने नेकपा विभाजन पछि मात्र सम्भव भयो ।

बिहीबार पहिलो पटक राष्ट्रिय सभामा बोलेका उनी निकै नै मलिन अनुहारमा देखिन्थे । त्यसो त उनी बोल्नु अघि केही पटक झुक्किए पनि । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बोल्न उनको नाम लिनासाथ उनी उठेर पोडियमतिर अघि बढे । अघि बढिरहेका गौतमलाई देखेर अध्यक्ष तिमल्सिनाले ‘माननीयलाई बसेकै ठाउँबाट बोल्न मिल्ने ब्यवस्था गराइएको’ भनेर सम्झाए ।

त्यसपछि ‘बसेकै ठाउँमा’ फर्किएका गौतम मास्क खोलेर बोल्न थाले । तर सुनिएन । किनभने उनले माइक अन गर्न बिर्सेका थिए । अर्को लहरमा रहेका अर्का सांसदले उनलाई माइक अन गरेर बोल्न सुझाव दिए । गौतमले ए भन्दै माइक अन गरे । र शुरुमै स्वीकारे–‘तीन बर्षपछि संसदमा आएकाले बिर्सिएछ ।’

उनले आफूलाई राष्ट्रियसभामा पुर्याउने तत्कालिन पार्टीका सबै साथीहरुलाई धन्यवाद भने । केही अक्मकाएका उनले त्यसपछि भावुक सम्बाेधन गरे । राष्ट्रियभामा पुग्न पाउँदा आफू खुशी हुनुपर्ने भएपनि पार्टी विभाजन भएकाले खुशी हुन नसकेको उनको भनाइ थियो ।

भिडियाे:

बा, आमा लगायत नातागोतासमेत कांग्रेस मात्र रहेको परिवारमा आफू कम्युनिष्ट हुँदा खिसिट्युरी सहनु परेको सम्झँदै उनले गणतन्त्र प्राप्ति र कम्युनिष्ट पार्टी एक बनाउने दुवै उद्देश्य हाँसिल भएपनि त्यसले धेरै समय खुशी दिन नसकेको गुनासो गरे ।
देशमा गणतन्त्र आएपछि र एमाले तथा माओवादी केन्द्र मिलेपछि आफुलाई कम्युनिष्ट आन्दोलनमा लागेबापत कसैले धिक्कार्ने छैन भन्ने निष्कर्षमा पुगेपनि नेकपा विभाजनले दु:खी बनाएको उनले बताए ।

पार्टी विना औचित्य विभाजित भएकोमा गौतम केही आक्रोशित पनि देखिन्थे । पार्टीभित्रको विवाद र अन्तरविरोध समाधान गर्नुपर्नेमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नै विघटन गरेकोमा उनकाे चित्त दुखाई थियो । उनले पार्टी एकता कामयै राख्ने अन्तिम अवसर ओलीले गुमाएको टिप्पणी गरे ।

पार्टीभित्र अल्पमतमा परेपछि प्रधानमन्त्रीले राजिनामा दिुनपर्नेमा जोड दिए । ‘आफू भएको भए के गर्थे भनेर मैले सोचे’, उनले भने, ‘म भएको भए राजीनामा दिन्थेँ, मेहनत गरेर निर्माण गरेको पार्टी जोगिन्थ्यो ।’ प्रतिनिधिसभामा पराजित भएपछि त्यहि कार्यकालमा मनोनित भएर राष्ट्रिय सभामा छिरेका गौतमको यो कुरा चाहिँ अशोभनीय र अपत्यारिलो थियो ।

उनले सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधिन विषयमा कुनै टिप्पणी गर्नु सही नहुने पनि बताए ।

नेकपाका दुई समुह मध्ये अहिले आफु कुनै पनि समुहमा नरहेको गौतमले स्पष्ट पारे । पार्टी विभाजनमा दुवै पक्षमा कमजोरी रहेको बताएका गौतमले प्रधानमन्त्री ओलीले राजिनामा दिएको भए यो अवस्था नआउने टिप्पणी गरे ।

पार्टी फेरि एक बनाउन सकिन्छ कि भनेर लागिरहेको र त्यसका लागि एक्लै सकिँदैन कि भनेर संघात्मक संरचना बनाएर जाने पक्षमा रहेको पनि उनले जानकारी दिए ।

‘एक अर्कालाई खुइल्याउन दुवै समुहका मुख्य नेता नै लागेकोमा पनि उनी असन्तुष्ट सुनिए । दुवै पक्षका शिर्ष नेताहरु नै एक अर्काविरुद्ध यसरि उत्रिनुभएको छ कि, गौतमले भने, ‘समाजबादी सभ्यता निर्माण गर्छौ भनेहरुका लागि लाज हुने अवस्था छ।’

प्रतिक्रिया