बद्री पंगेनीको दुखेसो : ‘सरकारले हाम्रो क्षेत्रलाई महत्व दिएको छैन’

काठमाडौं । बद्री पंगेनी एक बहुचर्चित लोकगायक हुन् । एसएलसी दिएर काठमाडौं छिरेका पंगेनी जल्दाबल्दा गायक हुन् । उनले गाएका थुप्रै गीतहरु अहिले पनि दर्शकहरुको मानसपटलमा घुमिरहन्छन् । लोक संकृतिलाई जेगेर्ना गर्ने उद्देश्यले अघि बढेका उनी अहिले पनि गीतसंगीतमा नै व्यस्त छन् ।

विगत लामो समयको घर बसाईपछि पनि उनी त्यति व्यस्त भने छैनन् । अहिलेको समयमा उनलाई भेट्नै पनि गाह्रो पथ्र्यो । उनलाई यो समयमा देशविदेशका कार्यक्रमहरुको सेड्यूल मिलाउन नै गाह्रो पथ्र्यो । तर अहिले भने विभिन्न खेल प्रतियोगीताका लागि तयारी गरिरहेका छन् ।

अहिले गीतसंगीत जुन तरिकाले अगाडि बढ्नुपर्ने हो, त्यो माहोल छैन । तर, पनि उनका गीतहरु बजारमा अलिअलि गरेर आइरहेका छन् । केही समयअघि मात्र उनले ‘मेरी छोरी तिम्रो घरमा’ बोलको गीत बजारमा ल्याएका थिए । यो गीत समाजलाई सकारात्मक छाप छोड्ने खालको रहेको छ । समाजमा भएको जातीय विभेदलाई यो गीतमार्फत् उनले उठाएका छन् ।
यदि कोरोना कलह हुँदैन्थ्यो भने, अहिले उनी विभिन्न ठाउँका स्टेजहरुमा पुगी दर्शकहरुलाई नचाउँदै गरेका हुन्थे । अब अहिले त घरमा बस्यो सम्झियो, सिवायः अरु विकल्प छैन उनीसँग ।

उनी पछिल्लो समयमा एल्वमहरु गर्ने भन्दा धेरै स्टेज कार्यक्रममा व्यस्त हुने गायक हुन् । गायक मात्र नभइ सर्जक पनि हुन् बद्री । पछिल्लो समय त निर्देशनमा पनि हात हालेका छन् उनले । भन्छन् ‘म गाउने मान्छे, मलाई निर्देशन गर्न र अभिनय गर्न धेरै गाह्रो हुन्छ ।’ आगामी दिनहरुमा भने अझै दुई चार वटा गीतमा निर्देशन गर्ने पनि उनले बताए ।

०५५सालमा काठमाडौं आएपछि पुकार दोहोरी साँझमा आवद्ध भए उनी । उनले त्यहाँ करिब ६ वर्षसम्म काम गरे । पंगेनीले त्यहाँ काम गर्दागदै पहिलो लोक दोहोरी एल्वम ‘तानसेन खस्यौली’ बजारमा ल्याएका थिए ।

उनका क्याम्पस, ब्यूूटी नंं वान्, ससुराली, लाउचेली सिन्दुर लाउ, रातो पछ्यौरी, मन थिएन जोगी बन्नलाई, मै पनि एमाले, सै पनि एमाले, मायाले झुक्कायोलगायतका सयौं गीतहरु अहिले पनि उतिकै मात्रामा लोकप्रिय छन् । उनलाई उनको ‘सुसुरालीमा’ एल्वमको ‘ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा’ गीतले ठूलो सफलता दिएको थियो । त्यस्तै उनले गाएको लाउचेली सिन्दुर लाउ’ बोलको गीतले जनतामाझ धेरै लोकप्रिय बनायो ।

पहिले र अहिलेका गीत संगीतमा धेरै फरक भएको पाइन्छ । अहिले प्रविधिको विकास भएसँगै गीतसंगीतमा पनि विकृति विसङ्गति भित्रिन थालेको छ । पहिले क्यासेटको समय थियो । त्यो समयमा थोरै गीतसंगीत बजारमा आउँथे । ति गीतसंगीतले लगानी पनि सजिलै उठाउँथ्यो । अहिले भने एउटै गीतमा १२-१५ लाख खर्च गरेता पनि लगानी उठाउन भने गाह्रो छ ।

पहिलेका गीतहरु दर्शकले खोजी–खोजी सुन्थे, जुन गीतहरु कालजयी हुन्थे । तर, अहिले दिनमै धेरै गीतहरु आउने भएको कारण पनि दर्शक कुन गीत सुन्ने कुन नसुन्ने अन्यौलमा परेका छन् । पहिला गीत निकालेपछि कलाकारहरुले रोयल्टी पाउँथे ।
अहिले प्रविधिको विकासले गर्दा न त्यो प्रविधिसँग हिँड्न नै सकियो न त पुरानो प्रविधिमा नै रहन सकियो । त्यसैले गर्दा पनि अहिले सबैलाई अप्ठ्यारो परेको उनस् सुनाउँछन् । पछिल्लो समय धेरै गीतहरु बजारमा आउन थालेपछि मौलिकतामाथि हस्तक्षेप अथवा गीतहरुको शब्द संगीतहरु जुध्ने हुन थालेका छन् । अहिलेको लोक गीत संगीतको अवस्था त लथालिङ्ग भताभङ्ग भएको पनि उनी बताउँछन् । मौलिकतालाई बचाउनको लागि राज्यस्तरबाट एउटा मापदण्ड बनाएर अगाडि बढ्नुपर्ने बद्रीको तर्क छ ।

बद्री भन्छन्–‘वर्षौदेखि संगीत साधना गरेका सर्जकहरु कहाँ कुन कुनामा हुनुहुन्छ थाहा छैन । हावाको भरमा भाइरलहरु हलो जोत्दाजोत्दै पौडी खेल्दाखेल्दै गरेकाहरुलाई ल्याएर भाइरल बनायो । केही समयपछि त्यो भाइरल पनि हरायो । केही समयको लागि ल्यायो भाइरल बनायो फेरि उनीहरुलाई यता न उताको बनायो । त्यसैले यसको न्यूनीकरण गर्नको लागि हामीले पनि केही पहल गरेका छौँ । राज्यको कुनै निकायबाट पनि यसको समाधान खोजिनुपर्छ ।’

छोटो समयमै लोक गायकको परिचय बनाउन सफल पंगेनी लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्षसमेत हुन् । दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष भएपछि उनले लोक गीतमा देखिएको विकृति हटाउन प्रयत्न गरेका थिए । अब नारिवादी गीत संगीतहरु लिएर दर्शकलाई भेट्न छिट्टै आउने पनि उनी बताउँछन् ।

बन्दाबन्दी भएसँगै सरकारले हरेक भीडभाड हुने क्षेत्रहरुलाई पनि सञ्चालनमा आउन अनुमति दिइसकेको छ । तर, नेपाली चलचित्र क्षेत्र स्टेज कार्यक्रमहरु र रात्रिकालीन व्यवसायहरुलाई भने अनुमति दिइसकेको छैन । राज्यले मनोरञ्जन क्षेत्रलाई त्यति महत्व नदिएको उनको बुुझाई छ ।

भन्छन्–‘सयौं नेताहरु उपस्थित भएर भाषण पनि गरिरहेका छन् । त्यसो गर्दा कोरोना नसर्ने हामी कलाकारहरुले स्टेज कार्यक्रमहरु गर्दा मात्र कोरोना सर्छ भन्ने हुदैन । यो गतल कुरा हो । यो बिषयमा हामीहरुले पनि आवाज उठाइरहेका छौं । कोरोना सर्छ भने सबैबाट सर्छ होइन सर्दैन भने कसैबाट पनि सर्दैन ।’

प्रतिक्रिया