मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

हिंसाका बिच अमेरिकी संसदद्वारा बाइडेनको जित प्रमाणित

बाइडेनलाई ३०६ र ट्रम्पलाई २३२ इलेक्टाेरल मत

वासिङ्टन डिसी । डाेनाल्ड ट्रम्पका समर्थकले मच्चाएकाे हिंसात्मक गतिविधिका बिच अमेरिकाकाे दुवै सदनकाे संयुक्त बैठकले राष्ट्रपतिमा जाे बाइडेन विजयी भएकाे प्रमाणित गरेकाे छ ।

स्थानीय समय अनुसार बुधबार अबेर राति सकिएको हाउस अफ रिप्रिजेन्टेटिभ र सिनेटको संयुक्त बैठकले नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार बाइडेन ३०६ इलेक्टोरल कलेज मतसहित राष्ट्रपतिमा विजयी भएकाे प्रमाणीकरण गरेकाे हाे ।

अर्का प्रतिस्पर्धी रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले २३२ इलेक्टाेरल मत प्राप्त गरे ।

स्थिति नियन्त्रणमा आइसकेपछि बसेकाे बैठकले बाइडेनकाे जित प्रमाणित गरेकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । बैठकपछि उपराष्ट्रपति माइक पेन्सले संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपति जो बाइडेन हुने घोषणा गरे । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बाइडेनले जनवरी २० मा राष्ट्रपतिको सपथ लिनेछन् ।

शुरुवातदेखि नै गणनामा धाँधली भएकाे बताउँदै आएका ट्रम्पका समर्थकले बैठक चलिरहेको बेला संसद भवनमा हिंसा मच्चाएका थिए । हिंसामा परी एक महिलासहित चार जनाकाे मृत्यु भएकाे छ । हिंसाका कारण  त्यहाँ कर्फ्यु लगाइएकाे छ । आगामी १५ दिनसम्म सार्वजनिक आपतकाल घोषणा गरिएको छ ।

अमेरिकी राष्ट्रपतीय निर्वाचन गत नोभेम्बर ३ मा भएकाे थियाे । निर्वाचनमा रिपब्लिकन पार्टीबाट बहालवाला राष्ट्रपति ट्रम्प र डेमोक्र्याटिक पार्टीबाट पूर्व उपराष्ट्रपति जो बाइडेन उम्मेदवार बनेका थिए ।

ट्रम्पले आफ्नो हार निश्चित भएपछि पेन्सलभानिया जिल्ला अदालतमा बाइडेनविरूद्ध रिट समेत दायर गरेका थिए । यद्यपी अदालतले कुनै धाँधली नभएकाे भन्दै उनकाे निवेदन खारेज गरिदियाे । ट्रम्प पक्षले बाइडेन पक्षमाथि कपोलकल्पित आरोप लगाएकाे अदालतकाे ठहर थियाे ।

प्रतिकृयाहरु
Loading...