राष्ट्रियताकाे पक्षमा ओलीले अडान लिँदा सरकार ढाल्ने षडयन्त्र भयाे : भगवती चौधरी

सुनसरी । सरकारलाई विभिन्न तवरले घेराबन्दी गरी असफल बनाउने खेल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहँदा नचाहँदै संसद विघटन गर्नु परेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य भगवती चौधरीले बताएकी छन् ।

सुनसरी क्षेत्र नं. ३ को इटहरी उपमहानगरपालिका वडा नं. १०, ११, १२ र १३ का अगुवा कार्यकर्ता भेलामा बोल्दै नेतृ चौधरीले यस्ताे बताएकी हुन् । राष्ट्रियताका पक्षमा प्रधानमन्त्री ओलीले लिएको अडान, समृद्ध नेपाल सुखी नेपालीको नाराकै कारण मुलुकलाई परिवर्तनको दिशातर्फ अगाडी बढाउन नचाहने तत्वले नेकपालाई फुटको दिशातर्फ उन्मुख बनाइएको पूर्वराज्यमन्त्री समेत रहेकी चौधरीकाे भनाइ छ ।

‘सरकारले जनताका पक्षमा, राष्ट्रियताका पक्षमा काम गर्दागर्दै आफ्नै पार्टीभित्रका शीर्ष नेताहरुले देशी-विदेशी शक्तिहरुको इसारामा लागेर सरकार ढाल्ने षडयन्त्र गरे । प्रमुख प्रतिपक्षले समेत सरकारलाई काम गर्न दिनुपर्छ भनेर संयमता अपनाउँदा आफ्नै पार्टीभित्रका नेताहरुले सरकारलाई असफल पार्ने काम गरे,’ चौधरीले भनिन् ।

ओली सरकारलाई सुरुदेखि नै काम गर्न नदिने रणनीति अपनाइएको चौधरीको बुझाई छ । ‘मंसिरमा चुनाब भयो, फागुनमा सरकार गठन गर्दा नै प्रचण्ड पक्षहरुले सरकारमा जाने–नजाने बखेडा निकालेका थिए ।’

चौधरीले संविधान जारी गर्ने बेलामा पनि अवरोध पैदा गर्दा ओलीले संक्रमणकाल लम्बिने, राजनीतिक अस्थिरता हुन्छ भनेर संविधान जारी गर्नैपर्छ भनेर अडान लिएपछि मात्र संविधान जारी भएको बताइन् ।

प्रतिक्रिया