प्रदेश २ मा दाहाल–नेपाल समूहले हटायो ओलीपक्षका मण्डललाई, महतो चयन

जनकपुरधाम । प्रदेश २ मा (दाहाल–नेपाल) समूहले ओली पक्षका नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाएर शत्रुघन महतोलाई चयन गरेको छ । मंगलबार जनकपुरमा बसेको संसदीय दलको बैठकले मण्डललाई हटाएर महतोलाई चयन गरेको हो ।

मण्डल नेकपा (ओली) र महतो नेकपा (दाहाल–नेपाल) पक्षका प्रदेश सांसद हुन् । प्रदेशसभामा नेकपाका ३२ सदस्यमध्ये १९ जनाले मण्डलविरूद्ध अविश्वास प्रस्तावमार्फत् संसदीय दलका नेताबाट हटाएका हुन् ।

संसदी दलमा नयाँ नेता चयनका लागि निर्वाचनका कार्यक्रम तय गरिएको थियो । मंगलबार दिउँसो २ बजेसम्म मनोनयन दर्ता र २ः४५ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने समय निर्धारण गरिएको थियो । जसअनुसार महतोकोमात्रै एकल उम्मेदवारी परेपछि उनी निर्विरोध दलको नेतामा चयन भएका हुन् ।

बैठकलगत्तै नेकपाका प्रदेश सभा सदस्यहरूले नेकपा संसदीय दलको बैठकले गरेको निर्णय सभामुख सरोजकुमार यादवलाई जानकारी गराए।

प्रदेश २ संसदीय दलको उपनेतामा रामकुमार यादव, प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र सचेतकमा बेची लुङ्गेली छन्।

प्रदेश २ मा नेकपाका ३२ जना सांसद छन् । जसमध्ये दाहाल–नेपाल पक्षमा १९ जना सांसद र ओली पक्षमा १३ जना सांसद छन् ।

प्रतिक्रिया