लुहारमाथि गाेली प्रहार भएकाेबारे छानविन गर्न कमल थापाकाे माग

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सोमबार कञ्चनपुरमा नरेन्द्र लुहारमाथि भएकाे गाेली प्रहारकाे घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै छानविनकाे माग गरेका छन् ।

मंगलबार सामाजिक सञ्जाल ट्विटरमार्फत् अध्यक्ष थापाले उक्त घटनाकाे छानविन गर्न र भारत सरकारसँग विराेध प्रकट गर्न तथा दाेषीलाई कारबाही गर्न माग समेत गरेका छन्  ।

‘कञ्चनपुरको दोधारा चाँदनी नपास्थित नेपाल–भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार साँझ १६ वर्षीय नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको घटनाको घोर भत्सर्ना गर्दछु । घटनाको छानबिन गर्न, भारत सरकारसँग बिरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रालयको ध्यान आकर्षित गर्दछु’, उनले लेखेका छन् ।

सोमबार साँझ भारतीय बजार गडिगोठबाट फर्किने क्रममा जंगल क्षेत्रमा भारतीय सुरक्षाकर्मीको गोली लागेर दोधारा चाँदनी–१ का १६ वर्षीय नरेन्द्र लुहार घाइते भएका थिए । भारतीय सुरक्षाकर्मीले रोकेर केरकार तथा कुटपिट गर्न थालेपछि भाग्ने क्रममा उनीमाथि गाेली प्रहार भएकाे हाे । खुट्टामा गाेली घाइते भएका लुहारकाे महाकाली अस्पतालमा उपचार भइरहेकाे छ ।

प्रतिक्रिया