सर्वोच्चलाई सभामुखको जवाफ:सरकार बन्ने परिस्थितिमा संसद विघटन गर्न मिल्दैन

काठमाडाैं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनबारे सर्वाेच्च अदालतलाई लिखित जवाफ पठाएका छन् ।  सभामुख सापकोटाले आइतबार पठाएको लिखित जवाफमा जुन परिस्थितीमा प्रतिनिधि सभा विघटन गरियो त्यो परिस्थितीमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको दाबी गरिएको स्रोतले जनाएको छ ।

संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्ने अधिकार उल्लेख भएपनि संसदबाट अर्को प्रधानमन्त्री बन्ने अवस्था रहँदा रहँदै संसद विघटन गर्न नमिल्ने जिकिर सहितको पत्र सर्वोच्चमा पठाइएको श्रोतले जनाएको हो ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी बैशाख १७ र २७ गते चुनावको मिति घोषणा गरेपछि त्यसको विरोधमा सर्वोच्च अदालतमा १३ वटा रिट दायर भएका छन् । ती सबै रिटमा एकै पटक सुनुवाई थाल्दै पुस १० गते सर्वोच्च अदालतको संवैधानिक इजलासले सभामुख सापकोटासँग प्रधानमन्त्री ओलीविरुद्ध नेकपा सांसदहरूले गराएको अविश्वास प्रस्ताव दर्ताको समयसहितको कागजात पेस गर्न आइतबारसममको समय दिएको थियो ।
पुस २२ गतेबाट यो विषयमा निरन्तर सुनुवाइ गर्ने सर्वाेच्चको तयारी छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले संविधानको धारा ७६ (७) अनुसार संसद विघटन गरेको बताएका थिए ।

प्रतिक्रिया