खैरहनी नगरपालिकाभित्रका विषादी बिक्रेता पसलको अनुगमन

चितवन । खैरहनी नगरपालिकाले नगरभित्र रहेका विषादी विक्रेता पसलहरुको अनुगमन सुरु गरेको छ । नगरपालिकाको कृषि शाखाको स्वीकृत वाषिक कार्यक्रम अन्तर्गत पहिलो दिन शुक्रबार ६ वटा पसलको अनुगमन गरिएको छ ।
नगरपालिका उपप्रमुख सुनिता थपलियाको नेतृत्वमा वडा नम्वर १,२,५ र ९ का ति पसलहरुमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा केही पसलमा म्याद नाघेको विषादी विक्रीका लागि राखिएको पाइएकाे कृषि शाखा प्रमुख कृषि अधिकृत दिपेन्द्र अर्यालले जानकारी दिए । त्यस्तै बिक्रेताले गर्नुपर्ने सुरक्षा सामाग्री, भण्डारणको गुणस्तर, म्याद सकिन लागेको विषादीको व्यवस्थापन लगायतबारे बिक्रेताहरुलाई सचेत गराइएको अर्यालले बताए ।
सचेत गराइएकाे बिक्रेता पसलहरुलाई सुधारका लागि भनिएको छ । अनुगमन निरन्तर रुपमा गरिने पनि उनले बताए । अनुगमन टोलीमा नगर उपप्रमुख थपलिया, आर्थिक समिति संयोजक एवंम् खैरहनी १० का वडाध्यक्ष काशीराम चौधरी, कृषि ज्ञान केन्द्र चितवनकी वाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्री, कृषि विकास अधिकृत दिपेन्द्र अर्याल, प्राविधिक सहायक ध्रुव आचार्यको उपस्थिति रहेको थियो ।








