‘११ महिना भयो, ११ रुपैयाँ कमाइ छैन’

काठमाडौं । ‘माझि दाइ पोखरा फेवातालको…
लाम माया साँच्चैको नलाम भो ख्यालै ख्यालको…
यही गीतबाट आफूलाई गीतसंगीतमा गायकको रुपमा स्थापित गराएका हुन् गायक-सर्जक मिलन लामाले । गीत संगीतमा नै आफ्नो जीवन व्यतित गर्छु र भविष्य बनाउँछु भन्ने हिसाबले साङ्गीतिक दुनियाँमा प्रवेश गरेका मिलन एउटा सफल गायक हुन् । सानैदेखि गीतसंगीतमा रुची राख्ने उनी स्कूल जीवनदेखि नै गीतहरु गाउने गर्थे । स्कूल एवम् गाउँघरमा हुने हरेक कार्यक्रमा सहभागी जनाएर गीत गाउने पनि गर्थे ।

चितवनको रत्ननगर नगरपालिकामा एक निम्न वर्गीय परिवारमा जन्मिएका हुन् मिलन । निम्न वर्गीय परिवारमा जन्मिएका कारण उनले हरेक कुरामा फूर्तिमास गरेर हिँड्न भने पाएनन् । भन्छन्–‘एउटा निम्न वर्गीय परिवारमा जन्मिएको हुँ । त्यसो भन्दै गर्दा खानै नपाउने त होइन तर, धेरै महङ्गो लुगाहरु लगाउन, खेलौनाहरु खेलाउन पाइएन । हाम्रा सपनाहरु त्यति धेरै महङ्गो पनि थिएनन् ।’ त्यो समयमा गाउँघरमा मोटरसाइकलहरु कमै मात्रामा हुन्थे । त्यतिबेला साइकलको टाएर कुदाएर मोटरसाइकलको पछाडि दौडिएको उनी सम्झन्छन् ।

उनी गीतसंगीतमा लागेको विगत २ दशकभन्दा बढी भयो । यो समयमा उनले त्यति धेरै गीतसंगीत बजारमा नल्याए पनि उनले ल्याएका सिर्जनालाई दर्शकले धेरै नै मन पराइदिएका छन् । उनका हालसम्म दुई सयभन्दा बढी गीतहरु बजारमा आएका छन् । जस्तैः माझि दाइ, हङ्कङ आइडिले, म त हजुर गलकोटे साइलो, घरमा पराल बारीमा बन्सो, बाटो खुल्यो मोटर चल्यो जुम्ला कालिकोटको, बेसारेको मन छैन मुख मात्रलगायतका उनका थुप्रै गीतहरु बजारमा सर्वत्र छाएका थिए ।

ग्रामीण भेगमा एउटा किसानको छोरोको रुपमा जन्मेका मिलनलाई गीतसंगीतमा लाग्नु धेरै चुनौतीहरु थिए । यद्यपि पनि उनले चुनौतीकै सामना गरेर गीतसंगीतमा आए । यहि क्षेत्रमा नै लागेर केही गर्छु भन्ने दृढ विश्वास लिएर अन्ततः उनी यो क्षेत्रमा होमिए नै । भनिन्छ –‘हरेक कुरा मनैदेखि गर्यो भने असम्भव भन्ने केही पनि छैन । जुनसुकै काम गर्दा पनि मनैदेखि लाग्यो भने ढिलो चाँडो सफल भइन्छ नै ।’

उनी पनि गीतसंगीतमा निरन्तर रुपले लागि नै रहे । त्यसकै परिणाम आज हजारौं श्रोता तथा दर्शकको मनमा बस्न सफल पनि छन् मिलन ।

यति बेलाको समयमा देश विदेशका हरेक कार्यक्रममा दर्शकहरुको अगाडि नाँचिरहेको र दर्शकहरुलाई नचाइरहेका हुन्थे उनी । तर, कोरोना भाइरसका कारण बिगत ११ महिनादेखि ठप्प रहेको सांगीतिक क्षेत्र अहिले पनि खुलेका छैन् । सरकारले हरेक क्षेत्रलाई खोल्नको लागि अनुमति दिए पनि कला क्षेत्रलाई भने अनुमति दिएको छैन ।

सधै दर्शकहरुको अगाडि खेलिरहने कलाकारहरु विगत लामो समयसम्म घरघित्र बसिरहँदा डिप्रेशको सिकार पनि हुन पुगेका छन् । मिलन भन्छन–‘हामी भीडभाडमा काम गर्ने, पेशा रोजेका मान्छे, जति भीड भयो त्यति गीत गाउन रमाइलो लाग्ने दर्शकहरुलाई नचाइरहने उहाँहरु नाँचेको देख्दा खुसी लाग्ने एउटा श्रमजीवी कलाकार यसरी लामो समयसम्म घरभित्र बसिरहँदाको जिन्दगी बोरिङ्गमै बितिरहेको छ ।’ आफू अहिले गाउँघरतिरै बसिरहेको कारण संकटबाट जोगिएको पनि उनी सुनाउँछन् ।

यो लामो समयसम्मको जोखिममा गाउँघरतिर भएका कारण पनि त्यति गाह्रो नभएको र त्यहाँ पैंचो चलाउन पनि मिल्ने कारणले अहिलेसम्म गाह्रो नभएको उनी बताउँछन्, ‘११ महिना भयो ११ रुपैयाँ कमाइ भएको छैन ।’ यो समय भनेको कलाकारहरुका लागि दशैंजस्तै हो । किनकी, देशविदेशका कार्यक्रम मेला महोत्सवमा सेड्यूल नै मिलाउन हम्मे–हम्मे पर्ने उनी अहिले भने घरभित्रै थन्किएर बस्नुपरेको छ । सरकारलाई मिलनको आग्रह –‘सुरक्षका उपायहरु अपनाउँछौँ । तर, हामीलाई कार्यक्रम एवम् मेला महोत्सवहरु गर्न अनुमति दिनुपर्यो ।’

सांगीतिक क्षेत्रमा दुई दशकको समय बिताइसकेका उनले यो क्षेत्र र जिन्दगीमा आउने हरेक सुख–दुःखलाई नजिकबाट नियालेका छन् । भन्छन्–‘सुख दुःख भनेको चिनी र चियाजस्तै हो । नघोलेसम्म मिठो स्वाद नै आउँदैन ।’ यो दुई दशकको दौडानमा कहिले सुख त कहिले दुःख भयो होला । कहिलेकाही त्यहीँ दुःख सुखमा परिणत हुन्छ । गीतहरु बजारमा लिएर आउनको लागि धेरै दुःख भोग्नुपरेको उनी सम्झन्छन् । ‘अहिलेका भाइबहिनीहरुलाई हाम्रो जस्तो दुःख छैन । प्रविधिको विकासले गर्दा धेरै नै सजिलो छ’, मिलनले भने ।

गीतसंगीतको कारण कलाकारहरु प्रायः देशविदेश पुगिरहेका हुन्छन् । उनी पनि हालसम्म ३०-४० वटा देश पुगेको बताउँछन् । अन्य पेशा व्यवसायमा लागेकाहरुलाई विदेशको भिसा लाग्न गाह्रो हुन्छ । तर, कलाकारहरुलाई त्यो गाह्रो भने हुदैन । ‘म अमेरिकामा तिन चार पटक पुगेको छु’, उनले भनेका छन्, ‘जुन अवसर सबैले पाएका हुँदैनन् र पाउँदैनन् पनि ।’

पहिला–पहिला यो क्षेत्रमा लाग्नको लागि परिवारमा धेरै नै कन्भिन्स् गर्नुपर्ने हुन्थ्यो । किनकी, यो क्षेत्रमा भविष्य नै छैन । तर, अहिले भने त्यो वातावरण अलिक सजिलो नै भएको छ । यो क्षेत्रमा लागेर हिराको हार र गाडी चढ्ने सपना देख्नु हुँदैन । उनी भन्छन्, ‘साधारण जीवन चलाउनको लागि यो क्षेत्रमा गाह्रो छैन ।’

मिलन समाज सेवा पनि गरिरहन्छन् । अहिले पनि उनी अरुको घर निर्माणमा मजदुरी गर्न जाँदा छतबाट खसेर घर चलाउने घरमूलीको निधन भएपछि बेसाहरा ति परिवारको लागि घर निर्माण कार्यमा व्यस्त छन् । समाजसेवा सधैं गर्न सकिँदैन, कहिलेकाहीँ गर्ने गरेको मिलन बताउँछन् ।

विगत केही समयदेखि मिलन र गीतसंगीतबीचको दूरी केही बढेको छ । यद्यपि अब भने विद्यमान विषम् परिस्थिति टरेसँगै पुनः गीतसंगीतसँग जोडिने मिलनको प्रण छ । उनी चाँडै ‘माझि दाइ पोखरा’ भाग–२ लिएर आउने भएका छन् । उनले भनेका छन्, ‘अब छिट्टै माझि दाइ पोखर फेवातालमाको भाग २ लिएर दर्शक-श्रोतालाई भेट्न आउँदैछु ।’

प्रतिक्रिया