काेभिड १९ प्रभाव : सौराहामा बास बस्ने पर्यटक १५ प्रतिशत, होटलमा ४० प्रतिशतसम्म छुट

- ध्रुवराज खनाल
चितवन । कोरोना महामारीको बीचमा स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा आएको चितवनकाे सौराहामा पर्यटक आगमन सन्तोषजनक हुन सकेको छैन । कोरोनाका कारण विदेशी पर्यटकहरु आउन सक्ने अवस्था नरहेको स्थितिमा अहिले फाट्टफुट्ट मात्र आन्तरिक पर्यटक आएका छन् । ती पर्यटकबाट भएको आम्दानीले खर्चसमेत धान्न नसक्ने अवस्था रहेको व्यवसायीहरु बताउँछन् ।
पछिल्लो एक महिनायता सौराहामा बास बस्ने पर्यटकको संख्या १५ प्रतिशत र दिनभरि घुमेर बेलुका घर फर्कने पर्यटकको संख्या ३० प्रतिशत रहेको छ । दुई, तीन दिनको प्याकेज कार्यक्रममा सहभागी भएर गन्तव्य घुम्ने पर्यटकको संख्या कम रहेका कारण व्यवसायीहरुले लगानी उठाउन सक्ने अवस्था छैन । ‘पर्यटक आएनन् भन्दा थोरै मात्रामा छन्’, क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष दीपक भट्टराईले भने, ‘बास बस्ने पर्यटकको संख्या निकै कम छ ।’ बिहान आएर दिनभरि सौराहामा घुम्ने पर्यटकको संख्या केही बढी रहेको भए पनि त्यसले सौराहाको पर्यटन नचल्ने उनको भनाइ छ ।

चैत यता आठ महिना होटल बन्द गरेका व्यवसायीहरुले सौराहा खुलेपछि पनि राम्रोसँग खर्च गर्ने आर्थिक हैसियत भएका पर्यटकहरु यहाँ आउन नसकेको व्यवसायीहरुले बताएका छन् । सौराहा खुलेसँगै हात्ती, जिप सफारी, डुङ्गा सयर खुलेका छन् । तर, पर्यटकलाई सेवा दिने अङ्गहरुले राम्रोसँग सेवा प्रदान गर्न सकेका छैनन् । ड्याम साइडमा रहेको राप्ती रेस्टुरेन्टका सञ्चालक पुरूषोत्तम लामिछानेले केही संख्यामा पर्यटक आएको भए पनि सन्तोषजनक व्यापार नभएको बताए ।
‘पहिलाजस्तो हातै बाँधेर बस्नु परेको छैन’, लामिछानेले भने, ‘रेस्टुरेन्टमा २५ देखि ३० प्रतिशतमात्रै व्यापार भएको छ ।’ पछिल्लो समय सौराहाको रमणीय वातावरण हेरेर फर्कने पर्यटकको संख्या अधिक रहेको व्यवसायी लामिछानेले बताए ।
आन्तरिक पर्यटक प्रबर्द्धनका लागि क्षेत्रीय होटल संघ चितवन र रेवान सौराहाले छूट प्याकेज घोषणा गरेका छन् । रेस्टुरेन्टमा २० र होटलमा ४० प्रतिशतसम्म छूट प्याकेज घोषणा गरिएको संघका अध्यक्ष भट्टराईले बताए ।

आन्तरिक पर्यटन प्रबर्द्धनका लागि स्थानीय सरकारको सहकार्यमा व्यवसायीहरुले घुमौँ सौराहाअभियान सुरू गरेका छन् । कोरोनाको हिसाबले सौराहा सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न सो अभियान सुरू गरिएको हो । सौराहा सुरक्षित छ भन्ने सन्देश देशका ७ वटै प्रदेशमा पुरयाउने उद्देश्यका साथ अभियान सुरू गरिएको रेस्टुरेन्ट एण्ड बार एसोसिएसन सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले बताए । अभियानअन्तर्गत भएका प्रचारप्रसारका कार्यक्रमले सौराहामा बास बस्ने पर्यटकको संख्या ५० प्रतिशत पुरयाउने अपेक्षा गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्वार रहेको सौराहा वन्यजन्तु अवलोकनका लागि विश्वभर प्रख्यात छ । यहाँ बाघ, गैँडा, भालु, चितुवा, गोही, बाँदरहरु, सयौँ प्रजातिका चरा र पुतलीहरु छन् । त्यस्तै, बाघमारा सामुदायिक वन, चित्रसेन सामुदायिक वन र कुमरोज सामुदायिक वनमा हात्ती सफारी, जिप सफारी, डुङ्गा सयर गर्न पाउनुका साथै हात्ती प्रजनन केन्द्र, हात्ती स्नान, टावरमा रात्रिकालीन बास, सूर्यास्त अवलोकन, थारु सांस्कृतिक कार्यक्रम, जंगल पैदलयात्रा, चरा अवलोकन, सेभेन प्वाइन्ट टुर, घडियाल प्रजनन केन्द्र अवलोकन गर्न पाइन्छ ।








