चलचित्र ‘गणपति’मा मुकुन र मेनुकाको जोडि बाँधिने

काठमाडौं । चलचित्र ‘गणपति’ निर्माण हुने भएको छ । माघ २ गतेबाट छायाँकन सुरु हुने उक्त चलचित्रको मंगलवार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिएको हो । चलचित्रले भगवान र मानिसबीचको फरक देखाउने छ ।

सविन अधिकारीको निर्देशनमा निर्माण हुन लागेको चलचित्रमा कथा, पटकथा तथा संवाद निर्देशक अधिकारी स्वयंले तयार पारेका हुन् ।लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी सो चलचित्रका निर्माता रहेका छन् ।

अबिगम्यान फिल्मसको ब्यानरमा निर्माण हुने चलचित्रमा मुकुन भुषाल, मेनुका प्रधान, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, श्रीदेव वि.एल, शुशील पोखरेललगायतका कलाकारको अभिनय रहने भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका थारुबासमा छायाँकन हुने चलचित्रलाई हरिबहादुर घलेले खिच्ने छन् ।

चलचित्रमा बिक्रम स्वाँरको कोरियोग्राफी, मौसम बस्नेतको ड्रेस, शंखर धिताल एशोसिएट डाइरेक्टर, सन्तोष पौडेल मुख्य सहायक निर्देशक, कुमोद शर्मा सहायक निर्देशक, बेदनाथ धमला, किरण मगर प्रोडक्सन र उत्तम अर्याल मुख्य सहायक छायाँकरको रुपमा रहेका छन् ।

निर्देशक अधिकारीले ‘गणपति’ नाम धार्मिक सुनिए पनि चलचित्रमा धर्मको विरोध र प्रचार नगरिने पनि स्पष्ट पारे । अधिकारीले भने–‘मान्छे र भगवानबीचको फरकलाई चलचित्रमा देखाउनेछौं ।’

त्यसै गरि चलचित्रको गीतमा अनिस अधिकारीको शब्द एवम् संगीत,अधिकारी स्वयम र देवेन्द्र बब्लुको आवाज रहने छ । त्यसैगरी स्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टले चलचित्रको ओभरसिज राइट्स लिएको छ ।चलचित्रलाई गोविन्द शाहीले देशैभरी वितरण गर्ने भएका छन् ।

उक्त कार्यक्रममा उपस्थित कलाकार जयनन्द लामाले चलचित्रको कथावस्तु अत्यन्त राम्रो भएका कारण काम गर्न आतुर रहेको बताए ।त्यस्तै अभिनेता मुकुन भुषाल भने चलचित्र साइन गरेपछि डराएको बताए । भने –‘म टाइटल क्यारेक्टरमा छु । एउटा कलाकारलाई राम्रो क्यारेक्टरको भोक सधैं हुन्छ नै र त्यो क्यारेक्टर बाँचिरहोस् भन्ने पनि लाग्छ । मैले चलचित्र गर्छु त भनेँ तर क्यारेक्टरलाई बुझ्दै गएपछि डर लाग्न थाल्यो । सुरुमा मलाई यो क्यारेक्टरलाई न्याय गर्न नसकुँला भन्ने धेरै नै डर लागेको थियो, तर म बेकारमा आत्तिएको रहेछु । चलचित्रमा अभिनयका गुरुहरु भएपछि म किन डराउनु ? सबैले मलाई गाइड गर्नुहुन्छ भन्नेमा विश्वस्त छु ।’ चलचित्रले खराब समय र कमजोर भाग्य हुँदा मान्छे कहाँसम्म गिर्न सक्छ  र भाग्य बलियो भयो भने कहाँसम्म पुग्छ भन्ने देखाउनेसमेत् उनले बताए ।

त्यस्तै, निर्माता लक्ष्मण थापाले चलचित्रको कथावस्तु पृथक लागेका कारण लगानी गर्न तयार भएको बताए । चलचित्रको स्क्रिप्ट पढ्दा आफू तीन पटक रोएको सम्झदै उनले भने–‘यो चलचित्रको स्क्रिप्ट फरक किसिमको छ । यसमा केही नयाँपन छ । समाजमा घट्ने घटनालाई चलचित्रमा देखाउने छौं । स्क्रिप्टले छोएपछि चलचित्रमा आबद्ध भएको हुँ । दर्शकलाई पनि चलचित्रले छुनसक्छ ।’

प्रतिक्रिया