१० वर्षपछि बल्यो बिजुली, सल्लाको दियालोबाट छुटकारा

हुम्ला । निर्माण कार्य शुरु गरेको करिब १० वर्षपछि बिजुली बलेपछि हुम्लाको उत्तरी गाउँका स्थानीय बासिन्दाले उज्यालो देख्न पाएका छन् । सिमकोट गाउँपालिका-८ स्थित खोल्सी तथा नाम्खा गाउँपालिका-३ का लामाखोल्सी, खगाल गाउँ र गुम्बाका गरेर २५० घरधुरीले सल्लाको दियालोबाट मुक्त भएर उज्यालो देख्न पाएका हुन् ।

यसअघि गाउँमा बिजुली नहुँदा सल्लाको दियालो र सोलार टुकी तथा अन्य वैकल्पिक व्यवस्था गर्न बाध्य हुनुपर्ने अवस्था रहेको खोल्सी गाउँका स्थानीयवासी दन्त सिंहले जानकारी दिए । उनले भने, ‘गाउँमा पहिलो पटक बिजुली पुग्दा अन्धकारमुक्त भएका छौँ ।’

छिफुन्बो लघुजलविद्युत् आयोजनाको २८ किलोवाट क्षमता भएको विद्युत्ले खोल्सीका ९०, खगाल गाउँका १००, लामााखोल्सीका ४० र गुम्बाका २० घरधुरी गरेर २५० घरधुरीले बिजुली बालिरहेका छन् ।

आधार विकास नेपाल हुम्लाले दुई गाउँपालिकाका चार वटा गाउँका सबै घरधुरीमा निःशुल्क बत्ती जडान गरिदिएको हो । अर्का स्थानीयवासी दिपक सिंहका अनुसार कोही बत्ती बाल्न सक्ने थिए, कोही थिएनन् तर आधार विकासले जडान कार्यमा लाग्ने सम्पूर्ण खर्च सहयोग गरिदिएको हो ।

गाउँपालिका, सङ्घीय सरकार, प्रदेश सरकार र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको करीब रु तीन करोडको आर्थिक सहयोग तथा स्थानीयवासीको जनश्रमदानमा २८ किलोवाटको बिजुली उत्पादन गरिएको हो । -रासस

प्रतिक्रिया