मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु

प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो बर्खास्त

विराटनगर । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो पदमुक्त भएका छन् । मुख्यमन्त्री शेरधन राईले मन्त्री आङ्बोलाई आज पदमुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १६९ को २ (ख) बमोजिम प्रदेश सरकारका मन्त्री आङ्बोलाई पदमुक्त गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गतेदेखि बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौं । सरकारले राष्ट्रियसभाको हिउँदे अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । शुक्रबार मन्त्रिपरिषद् विस्तार र केही मन्त्रीको जिम्मेवारी हेरफेरपछि बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

बैठकले पुस १७ गते राष्ट्रिय सभा अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको श्रममन्त्री गौरीशंकर चौधरीले जानकारी दिए । संसदको वर्षे अधिवेशन गत असार १८ गते अन्त्य भएको थियो ।

संवैधानिक व्यवस्थाअनुसार ६ महिनाभित्र अधिवेशन आह्वान भइसक्नुपर्छ । ६ महिना पूरा हुन एक दिन बाँकी रहँदा १७ गतेका लागि राष्ट्रिय सभा अधिवेशन बोलाउने गरी सिफारिस गरिएको हो । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा भने गत पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले विघटन गरिससकेकी छन् ।

छक्कबहादुरले ओलीलाई पारे ‘छक्क’: उभिए दाहाल–नेपाल कित्तामा

|सांसद छक्कबहादर लामा। तस्वीरः फाइल|

काठमाडौं । सांसद छक्कबहादुर लामाले केपी शर्मा ओली नेतृत्वको नेकपा परित्याग गरेका छन् । सदा ओलीको कित्तामा देखिँदै आएका सांसद लामाले शनिबार एक नोट लेख्दै आफू दाहाल–नेपाल नेतृत्वको नेकपमा सामेल भएको जानकारी दिएका छन् ।

ओली नेतृत्वको नेकपाले केन्द्रीय सदस्य विस्तारका क्रममा लामालाई केन्द्रीय सदस्य बनाएको थियो । उनले जिल्लाका कार्यकर्ताको आग्रहमा आफूले ओली नेतृत्वको नेकपालाई छाडेको उल्लेख गरेका छन् ।

राष्ट्रसंघ स्वेच्छिक कोषको सल्लाहकारमा देवकुमार सुनुवार
काठमाडौं । नेपाली सञ्चारकर्मी देवकुमार सुनुवार आदिवासीका लागि संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित स्वेच्छिक कोषको सल्लाहकार समूहका सदस्यमा मनोनित भएका छन् ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले एसिया–प्रशान्त क्षेत्रका आदिवासी जनजाति समुदायको प्रतिनिधित्व गर्ने गरी सुनुवारलाई यो कोषको सल्लाहकार समूहमा मनोनयन गरेका हुन् ।

सुनुवारको कार्यकाल तीन वर्षको ९जनवरी २०२१–डिसेम्बर २०२३०को हुनेछ । यो अवधिमा उनी सम्मिलित सल्लाहकार समूहले यो कोषलाई के प्रयोजनमा कसरी खर्च गर्ने भन्ने विषयमा राष्ट्रसंघका महासचिवलाई परामर्श दिनेन् ।

आदिवासी–जनजातिको राजनीतिक, आर्थिक एवं सामाजिक, सांस्कतिक अधिकारका विषयमा राष्ट्रसंघभित्र हुने विभिन्न सभा, छलफल एवम् बैठकमा आदिवासी जनजाति संघ–सङ्गठन एवं समुदायका प्रतिनिधिको सहज पहुँच होस् भन्ने उद्देश्यले सन् १९८५ मा यो कोषको स्थापना गरिएको थियो ।

कोषले राष्ट्रसंघीय सभा–सम्मेलनमा भाग लिने जाने आदिवासी–जनजातिका प्रतिनिधिहरूलाई आर्थिक सहयोग प्रदान गर्छ ।

प्रचण्डसँग गौतमले भने–‘प्रतिनिधि सभा विघटनको विपक्षमै छु’
काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेव गौतमले आफू प्रतिनिधि सभा विघटनको विपक्षमै रहेको प्रष्ट पारेका छन् ।

शनिबार आफ्नो निवास भैंसेपाटीसम्म आएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गौतमले यस्तो बताएका हुन् ।

स्रोतका अनुसार गौतमले आफू विघटनविरुद्ध नै रहेको बताएका थिए । प्रतिनिधि सभा विघटन भएपछि गौतम तटस्थजस्तै देखिएका छन् । उनले कुनै समूहको बैठकमा सहभागी नहुनेसमेत घोषणा गरिसकेका छन् ।

रहेनन् वरिष्ठ भलिबल प्रशिक्षक रिमाल
काठमाडौं । वरिष्ठ भलिबल प्रशिक्षक तथा राष्ट्रिय खेलकूद परिषद् (राखेप) अन्तर्गत खेलकूद विज्ञान प्रतिष्ठानका निर्देशक सुदेशकुमार रिमालको निधन भएको छ । नशासम्बन्धी रोगबाट पीडित ५६ वर्षीय रिमालको शुक्रबार बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो ।

टाउकामा समस्या देखिएपछि उनको शल्यक्रियाको तयारी भइरहेको थियो । रिमाल भलिबलका उत्कृष्ट प्रशिक्षकमध्येका एक थिए । उनी विभिन्न समयमा राष्ट्रिय टोलीसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबको समेत प्रशिक्षक रहे । पछिल्लो समय रिमाल खेलकूद विज्ञान प्रतिष्ठानको निर्देशकका रुपमा कार्यरत थिए ।

रिमाल प्रशिक्षकका रुपमा निकै सफल रहेको नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मा बताउँछन् । ‘रिमालको प्रशिक्षणमा नेपाली पुरुष तथा महिला टोलीले उल्लेख्य सफलता हासिल गरेको छ’, अध्यक्ष शर्माले प्रशिक्षक रिमालको निधनप्रति दुःख व्यक्त गर्दै भने । प्रशिक्षक रिमालको निधनबाट नेपालको भलिबललाई अपूरणीय क्षति पुगेको उनको बुझाइ छ ।

पछिल्लो समय सरकारले भलिबललाई राष्ट्रिय खेलका रुपमा घोषणा गरेपछि प्रशिक्षक रिमालले सातवटै प्रदेशमा भलिबल एकेडेमी स्थापनाको माग राख्दै आएका थिए । खेलाडी काठमाडौँभन्दा बाहिर दुर्गम भेगमा रहेकाले उनीहरुलाई एकेडेमीमा राखेर प्रशिक्षण दिनुपर्छ भन्ने प्रशिक्षक रिमालको मुख्य माग थियो ।

कमलको कामना- ‘मेरो नियति प्रचण्डले भोग्नु नपरोस्’

राप्रपा अध्यक्ष कमल थापा। फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)अध्यक्ष कमल थापाले पार्टी विभाजनको घटना स्मरण गर्दै आफ्नोजस्तो नियति प्रचण्डले भोग्नु नपरोस् भनेका छन् ।

आज ट्वीट गर्दै उनले राप्रपा विभाजनका बेला तत्कालीन प्रधानमन्त्री प्रचण्डको प्रत्यक्ष दबाब र प्रभावमा त्यसबेला सनाखत कानुनविपरीत निर्वाचन आयोगले राप्रपा विभाजन घोषणा गरेको उल्लेख गर्दै प्रचण्डले त्यही नियति भोग्नु नपरोस् भनेका हुन् ।

सवारी चालक अनुमतिपत्रको अनलाइन फारम खुला (सूचनासहित)
काठमाडौं । लामो समयदेखि बन्द रहेको ड्राइभिङ लाइसेन्स लिनेहरुका लागि सवारी चालक अनुमतिपत्रको अनलाइन फारम पस १४ बाट खुला हुने भएको छ ।

शुक्रबार यातायात व्यवस्था विभागले एक विज्ञप्ती जारी गर्दै गत चैतदेखि बन्द भएको सवारी चालक अनुमतिपत्रको अनलाइन फारम खुला हुन लागेको जनाएको हो ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजबाट
काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । दाङको देउखुरीमा हुने प्रतियोगितामा ७ प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफको सहभागिता रहनेछ ।

सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एपीएफ, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन् । समूह ‘बी’ मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश नम्बर १ रहेका छन् ।

खेलमा लुम्बिनी र प्रदेश नम्बर २ खेल्दैछन् । प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

विश्वभर कोरोना संक्रमितको संख्या ८ करोड नाघ्‍यो
काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड(१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या ८ करोड १ लाख नाघेको छ भने १७ लाख ५६ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ८ करोड १ लाख ९४ हजार ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १७ लाख ५६ हजार ९४७ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ५ करोड ६४ लाख ६० हजार २३० जना कोरोना मुक्त भएका छन् ।

 

प्रतिक्रिया