‘प्रधानमन्त्रीलाई काम गर्न नदिएका कारण संसद विघटन गरियाे’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता टोपबहादुर रायमाझीले प्रधानमन्त्रीलाई कुनैपनि काम गर्न नदिएका कारण प्रतिनिधि सभा विघटन गर्नु परेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम गर्न नदिने र काम गर्न सकेन भन्ने खालको स्थिति भएपछि संसद विघटन गर्नुको विकल्प नभएको बताए ।

प्रतिपक्षले सरकारलाई काम गर्न दिने तर आफ्नै दलभित्रका सांसदहरुले काम गर्न नदिने स्थिति भएपछि प्रतिनिधि सभा विघटन गरी नयाँ जनादेशमा जानुको विकल्प नभएको नेता रायमाझीकाे भनाइ छ । उनले संसद पुर्नस्थापना गर्नभन्दा नयाँ जनादेश लिन मध्यावधिक चुनावमा जानुपर्नेमा जोड दिए । यस्तै पार्टी भित्र पहिलो अध्यक्षको निर्णय नै अन्तिम हुने पनि उनले बताए । त्यसै अनुसार केन्द्रीय सदस्यहरुको संख्या थप गरिएको उनले स्पष्ट पारे ।

नेकपाकै अर्का नेता कृष्णभक्त पोखरेलले भने आफ्नै दलसँग पनि छलफल नगरी विघटन गरिएको र संविधानमा हुँदै नभएको व्यवस्थामा टेकेर विघटन गरिएको भन्दै विराेध गरे । कुनैपनि काम गर्न नसक्ने सरकारले आफ्नो पार्टी र संसदलाई छल्दै संसद नै विघटन गर्ने कार्य गैरकानूनी भएको बताए ।

संविधानले प्रधानमन्त्री र राष्ट्रपति कसैलाई पनि संसद विघटनको अधिकार नदिएको पनि स्पष्ट पारे । तरपनि प्रधानमन्त्री ओलीले विघटन गरेपछि आफूहरु सर्वोच्च अदालतमा गइसकेको र त्यहीबाट न्याय पाउने विश्वास पनि व्यक्त गरे । यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा भएका केन्द्रीय सदस्यहरुको बहुमत सदस्य नभईकन बसेको बठकले गरेका निर्णयहरु कुनै पनि कोणबाट आधिकारिक नहुने पनि स्पष्ट पारे ।

प्रतिक्रिया