गणतन्त्रको रक्षाका लागि हाम्रो संघर्ष बढ्दै जान्छ- मोहन विक्रम सिंह

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहन विक्रम सिंहले संसद पुनर्स्थापनाको माग गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेकाे विषय अवैधानिक भएको भन्दै तत्काल पुनरस्थापना गर्न माग गरेका हुन् । उनले भने ‘संसद विघटनलाई हामीले विरोध गरेका छौँ । हाम्रो माग छ- संसदको पुनर्स्थापना गर्नुपर्छ ।’
महामन्त्री सिंहले आगामी दिनमा सर्वोच्च अदालतले समेत संसद विघटनलाई समर्थन गरेपनि आफूहरुले संघर्षलाई जारी राख्ने बताए । उनले भने, ‘भोलि सर्वोच्चले यो संसदको विघटनलाई समर्थन गर्छ भनेपनि हाम्रो संघर्ष रोकिन्नँ । हामीले फेरी देशमा बहुदलीय व्यवस्था कायम गर्नको लागि संसदीय प्रणालीलाई मजबुत पार्न, गणतन्त्रलाई सुदृढ पार्नको लागि र त्यसको रक्षाका लागि हाम्रो संघर्ष बढ्दै जान्छ ।’
यस्तै महामन्त्री सिंहले राष्ट्रपतिले समेत संविधानको संरक्षण गर्न नसकेको टिप्पणी गरेका छन् । तत्कालिन नेकपा एमाले र एकीकृत माओवादीबीचको एकतालाई नेकपा मसालले प्रतिगमनलाई हराउन, गणतन्त्रको पक्षमा र धर्म निरपेक्षताको पक्षलाई मजबुत पार्ने दृषिकोणबाट विश्लेषण गरेर समर्थन गरेको तर अहिले त्यसो हुन नसकेको उनले बताए ।
पार्टी भित्रको द्वन्द्वले संसद विघटनसँगै पार्टी विभाजन हुनुले देशमा गम्भिर स्थिति सिर्जना भएको टिप्पणी समेत गरे । नेकपाको अन्तरकलहका कारण राजावादीहरुको सक्रियता बढेको उनकाे भनाइ छ ।








