क्वार्टर फर्किए प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली करिब साढे ४ घण्टाको दौडधुपपछि सरकारी निवास फर्किएका छन् ।

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई आ–आफ्नै निवासमा भेटेका ओली बालुवाटार फर्किएका हुन् ।

बिहान पौने ११ बजेतिर खुमलटार पुगेका ओली र दाहालबीच कुरा मिलेको थिएन । आफूविरुद्धको प्रतिवेदन फिर्ताको प्रस्ताव अस्वीकार भएपछि ओली खुमलटारबाट बाहिरिएका थिए ।

त्यसपछि सिधै पुल्चोक सोझिएका ओलीले मन्त्री बादलसँग भेटवार्ता गरेका छन् । वार्ताका क्रममा यातायातमन्त्री वसन्त नेम्वाङ्ग र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि सहभागी भएका थिए ।

तीन मन्त्रीसँगको करिब १ घण्टाको भेटघाटपछि ओली क्वार्टर फर्किएका हुन् ।

नेकपाले जारी स्थायी कमिटीको अर्को बैठक भोलिका लागि बोलाएको छ । बैठकको पूर्वसन्ध्यामा ओलीले केही लचकता अपनाएका छन् ।

प्रतिक्रिया