पल शाह : लकडाउनमा पनि व्यस्तको व्यस्तै

काठमाडौं । नायक पल शाह पछिल्लो समय म्युजिक भिडियोमा अत्यन्त व्यस्त हुने कलाकारको सूचीमा पर्छन् । चलचित्र ‘नाई नभन्नु ल ४’ बाट नेपाली रजतपटमा डेब्यु गरेका पल कलाकारिता क्षेत्रमा भने मोडलिङ्गबाट नै प्रवेश गरेका हुन् ।

दाङमा जन्मेका पलले आफ्नो कर्मथलो भने काठमाडौंलाई बनाएका छन् । पल पहिले भिडियो सम्पादकको रुपमा काम गर्थे । काम गर्दै जाँदा उनले ‘को होला त्यो’ बोलको म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाए । उक्त गीतबाट नै शुरु भएको हो, पलको कलाकारिताको यात्रा । पलको चलचित्र क्षेत्रमा पनि राम्रै क्रेज रहेको छ ।

पलले चलचित्र ‘म यस्तो गीत गाउँछु, वीर बिक्रम २, शत्रु गते, जोनी जेन्टलम्यान, ह्रदयभरी, म यस्तो गीत गाउँछु २ लगायतका चलचित्रमा अभिनय गरिसकेका छन् । पललाई दर्शकले म्युजिक भिडियोमा मात्र नभएर चलचित्रमा पनि त्यतिकै रुचाएका छन् । पलले चलचित्रसँगसँगै म्युजिक भिडियोलाई पनि निरन्तरता दिइरहेका छन् ।

पछिल्लो समय पलले मोडलिङ्ग गरेका म्युजिक भिडियोहरु दिनैपिच्छे सार्वजनिक भइरहेका छन् । यतिसम्म कि, अब त पललाई आफैँले खेलेका म्युजिक भिडियोहरु पनि कन्फ्यूज हुन थालिसकेको होला । के पल अब आफूलाई सर्वाधिक म्युजिक भिडियो गर्ने अभिनेताको रुपमा चिनाउनकै लागि यसरी म्युजिक भिडियो त गरिरहेका छैनन् ? भन्ने प्रश्न पनि नआएका होइन । केही समय अगाडि भने ‘अब पलले म्युजिक भिडियो नगर्ने’ भन्ने कुरा पनि बाहिरिएको थियो । तर, पलको सन्दर्भमा त्यो कुरा भने लागू भएन ।

चलचित्रमा काम गर्यो भने महिनौं कुर्नुपर्ने हुन्छ । तर, म्युजिक भिडियो गर्यो भने साँझ घर फर्किने बेलामा नै पारिश्रमीक पाइन्छ । त्यसबाट पनि कलाकारहरुलाई केही राहत पुग्ने गर्छ । त्यसै पनि चलचित्र कलाकारहरु म्युजिक भिडियो बेलाबखतमा गरिरहेका हुन्छन् ।

बन्दाबन्दीले पललाई फाइदा नै गरेको छ । बन्दाबन्दी भएको केही समयपछि म्युजिक भिडियोको छायाँकन हुन थालेका थिए । चलचित्र क्षेत्र नखुले पनि पललाई भने कुनै सकस परेको छैन । किनकी उनी धमाधम म्युजिक भिडियो गरिरहेका छन् । पछिल्लो समय पलले अभिनय गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु ३’ प्रदशनको क्रममा नै रोकिएको छ ।

प्रतिक्रिया