संवैधानिक परिषद् बैठक– सभामुखको अनुपस्थितिलाई कसरी बुझ्ने ?

काठमाडौं । सभामुख अग्नी प्रसाद सापकोटा संवैधानिक परिषद्को बैठकमा अनुपस्थित भएको आज दोस्रो पटक हो । यसभन्दा अगाडि गत २८ मंसिरमा परिषद् अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा पनि सभामुख सापकोटा अनुपस्थित नै रहेका थिए । त्यसपछि आजसम्मको लागि स्थगित गरी बोलाइएको बैठकमा पनि सभामुख सापकोटा उपस्थित भएनन् । परिणामतः गणपूरक संख्या पुगेन । तत्पश्चात् दोस्रो पटक बोलाइएको बैठक पनि स्थगित नै भयो ।

संवैधानिक परिषद् (काम कर्तव्य र अधिकार) सम्बन्धी ऐन २०६६ को दफ ६ (३) भन्छ– ‘परिषद्को बैठकको गणपूरक संख्याका लागि अध्यक्ष र कम्तिमा चारजना सदस्यहरु उपस्थिति हुनैपर्छ ।’ कारणतः आजको बैठक स्थगित गर्नुको विकल्प थिएन । तर, पटक–पटक सभामुख सापकोटा किन अनुपस्थित हुन्छन् ? यो भने सोचनीय विषय हो । यसलाई कसरी बुझ्ने भन्ने सवालमा नेताहरु सञ्चारमाध्यममा बोल्न नरुचाए पनि यसलाई ‘नेकपाको आन्तरिक विवाद’सँग जोडेर हेर्न थालिएको छ ।

प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक पुष्पा भुसालले भने परिषद् अध्यक्ष (प्रधानमन्त्री)ले आफ्नो भूमिका निर्वाह नसकेको बताउँछिन् । ‘अध्यक्षले समन्वयकारी भूमिका खेल्न सक्नुभएको छैन’, मकालु खबरसँगको कुराकानीको क्रममा सचेतक भूसालले भनेकी छन्, ‘त्यसकै असर हो यो । अध्यक्षले समन्वयकारी भूमिका निर्वाह गरेर सबैलाई एकैसाथ अगाडि बढाउनुपर्छ । यो कमजोरी अध्यक्षकै हो ।’

संवैधानिक परिषद् क्याबिनेटजस्तो चल्दैन
सत्ताधारी नेकपाको अध्यक्ष एवम् परिषद् अध्यक्ष ओलीको समन्वयकारी भूमिका ह्रासका कारण संवैधनिक परिषद्को बैठक पटक–पटक स्थगित गर्नुपरेको बताएकी सचेतक भूसालले क्याबिनेतजस्तो संवैधानिक परिषद् नचल्ने बताएकी छन्, ‘प्रधानमन्त्रीज्यूले क्याबिनेजस्तो संवैधनिक परिषद्लाई पनि स्वेच्छाचारी ढङ्गले चलाउन खोज्नुहुन्छ । यिनीहरुको त विधि, प्रक्रिया, पद्दती सबै सबै नै फरक हुन् । प्रधानमन्त्रीज्यूले यसरी हेर्नुभएको छ कि, यी दुवै एकै खालका हुन् । यसरी चल्दैन नि संवैधानिक परिषद् ।’

पार्टी र सरकार भने बहुमतको आधारमा चलाउन सकिने तर संवैधानिक परिषद् चलाउन नसकिने बताएकी सचेतक भूसालले त्यसभन्दा अगाडि भनेकी छन्, ‘निरङ्कुश तरिकाले कहाँ हुन्छ ? लोकतन्त्रमा सबै सही ढङ्गले चल्नुपर्छ ।’

त्यसो त संवैधानिक परिषद्को बैठकको सभामुखको अनुपस्थितिलाई ‘नेकपा आन्तरिक विवाद’को बाछिटाको रुपमा विश्लेषण गर्नु कति उपयुक्त हुन्छ ? भन्ने जिज्ञासामा सचेतक भुसालको जवाफ थियो, ‘संवैधानिक परिषद् भनेको चानचुने कुरा होइन । कुनै पनि गुटगत विवादले यस्तो संविधानतः चल्ने परिषद्लाई ओझेलमा राख्नु हुन्न । र अहिलेको समस्या यो होइन, प्रधानमन्त्रीज्यूको समन्वयकारी भूमिका नभएकै कारणले यस्तो भएको हो ।’

बैठकमा जानुपर्ने हो
यता पूर्वसभामुख तथा नेकपा संसदीय दलका उपनेता सुवासचन्द नेम्वाङ्गले भने सभामुख संवैधानिक परिषद्को बैठक जानैपर्ने बताउँछन् । सभामुखको अनुपस्थितिलाई नेकपा आन्तरिक किचलोको ‘साइड् इफेक्ट्’सँग जोड्न मिल्छ ? भन्ने प्रश्नको सामना गर्न नेता नेम्वाङ्गले भनेका छन्, ‘सभामुखलाई यो सबै कुराले छुँदैन । उहाँ जानुपर्ने चाहिँ हो, खोइ किन हो उहाँ, उहाँलाई नै सोध्दा राम्रो हुन्छ । म सभामुखको अनुपस्थितिलाई लिएर बाहिर कुनै खालको धारणा बनाउँदिनँ ।’

सभामुखको पटक–पटकको अनुपस्थितिलाई लिएर आफूले कुनै पनि प्रतिक्रिया नदिने बताएका नेता नेम्वाङ्गले भनेका छन्, ‘उहाँ नजानुभएको कुरा सत्य हो । त्यसको कारण त मलाई थाहा छैन ।’

सभामुखलाई लिएर टिप्पणी गर्दिनँ
यता नेकपा नेता देवेन्द्र पौडेलले पनि नेम्वाङ्गकै ‘भर्जन’ दोहोर्याएका छन् ।

सभामुखको अनुपस्थितिसँग तपाईँको व्यक्तिगत धारणा के हुन सक्छ ? भन्ने सवालमा नेता पौडेलले भनेका छन्, ‘मसँग कुनै व्यक्तिगत धारणा छैन । मैले गर्न पनि चाहन्नँ । किनकी, सभामुख भनेको यी सबै कुराभन्दा सर्वोच्च भन्ने हुन्छ । त्यसैले सभामुखसँग जोडेर मैले कुनै व्यक्तिगत धारणा बनाउँदिनँ । म मिडियामा बोलिनँ यो विषयमा । यद्यपि पनि उहाँ बैठकमा चाहिँ जानैपर्ने हो’, मकालु खबरसँग संक्षिप्त कुराकानीको क्रममा नेता पौडेलले भनेका छन्, ‘बैठकमा जानुपर्ने हो । तर, उहाँ जानुभएन । अब के गर्ने ?’

प्रतिक्रिया