रामेछापकी १९ वर्षीया मन्दिरा श्रेष्ठ ‘ग्लोकल टीन हिरो २०२०’ बाट सम्मानित

काठमाडौँ । ग्लोकल प्रालिद्वारा आयोजित “ग्लोकल टीन हिरो २०२०” को उपाधि रामेछापकी मन्दिरा श्रेष्ठले जित्न सफल भएकी छन् । आज भएको अनलाइन कार्यक्रममार्फत ग्लोकल टीन हिरो नेपाल, २०२० को घोषणा गरिएको हो ।

किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरूले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरू माझ चिनाउने कार्यक्रम “वाई वाई ग्लोकल टिन हिरो” नेपालको यो छैटौँ संस्करण हो ।

भर्चुअल कार्यक्रममा श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालय, रामेश्वर रे यादवले विजेताको घोषणा गरेका थिए । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम् अन्य विविध क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा यो कार्यक्रम सञ्चालन गरिएको थियो ।

वाई वाई ग्लोबल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी एकराज घिमिरे, वातावरण विद् मन्दिरा श्रेष्ठ, स्वास्थ्य अभियन्ता रीत काफ्ले, शिक्षिका सुभाष शर्मा, कोडर सुलभ सुबेदी, नवप्रबर्दक र वैभव नाहटा, उद्द्यमीबीच प्रतियोगिताको विजेता चयन गरिएको थियो ।

मन्दिरा श्रेष्ठ रामेछापकी १९ वर्षीया स्वास्थ्य अभियन्ता हुन् । उनले “युपीआरमा बाल नेतृत्वको रिपोर्ट, २०२०” को टीम लीडरकोरूपमा काम गरेकी छन् । उनी एकीकृत राष्ट्रिय किशोर किशोरी फोरमको सदस्यकोरूपमा पनि सक्रियरुपमा सहभागी भइरहेकी छन् । त्यस्तै शिक्षामा महिलाको पहुँचका लागि काम गर्दै उनी “ट्री पद्ममा चाईल्ड क्लबमा” सामाजिक स्वयम्सेवककोरुपमा काम गरिरहेकी छन् । स्वास्थ्य क्षेत्रमा कामको अनुभव बटुल्दै उनी एसआरएचआर क्षेत्रमा प्रशिक्षककोरुपमा पनि अग्रसर छन् ।

देश भरका किशोर किशोरीहरूबाट कूल ६०४ जनाले आवेदन दिएका थिए । यी किशोरकिशोरीहरु समाजसेवा, बालअधिकार, खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, प्रविधि र उद्यमशीलता, वातावरण संरक्षणजस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन् । समाजमा रहेका असाधारण युवाहरूको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको छ ।

नेपालबाट २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर २०१६ सम्ममा यसले नेपालकै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो । हालसम्म नेपालका ५ किशोर किशोरीहरूलाई ग्लोकल टिन हिरो नेपालका रूपमा सम्मानित गरिएको छ । ग्लोकल टिन हिरो ईन्डियाबाट दुईजना सम्मानित भएका छन् । श्रीलङ्कामा एक किशोरी सम्मानित भएकी छन् ।

अन्तिम ६ प्रतिस्पर्धीकोे कामको सुरुवात र प्रभावको आधारमा र व्यक्तित्व मापदण्ड, ज्ञान र दुरदर्सनको मापनको लागि अन्तरवार्ता भएको थियो । निर्णायक टोलीमा टर्कीस एयरलाइन्सका महाप्रबन्धक अब्दुल्ला टुन्सर केइसी, पञ्चकन्या समूहका कार्यकारी निर्देशक उज्ज्वल श्रेष्ठ, युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.की प्रबन्ध निर्देशक रितु एस वैद्य, चौधरी समूहका कार्यकारी निर्देशक वरुन चौधरी र सिद्धार्थ इंकका अध्यक्ष अनिल चित्रकार थिए ।

प्रतिक्रिया