यलम्बर संगीत प्रतियोगिताको उपाधि प्रवृत्ति राईलाई, हङकङ भ्रमणको अवसर

काठमाडौं । ‘यलम्बर संगीत प्रतियोगिता’को छैटौं संस्करणको उपाधि खोटाङकी प्रवृत्ति राईले हात पारेकी छिन् । खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेकी राईले किरात राई सांस्कृतिक कलाकार संघ केन्द्रीय समितिद्वारा आयोजित ‘यलम्बर संगीत प्रतियोगिता’बाट प्रथम उपाधि हात पारेकी हुन् ।

तीन वर्ष अगाडि ओखलढुंगामा सम्पन्न भिजन आईडलमा फस्ट रनरअपको स्थान बनाएकी राईले ‘यलम्बर संगीत प्रतियोगिता’को अन्तिममा पुगेका अन्य ९ प्रतिद्वन्दिलाई उछिन्दै उपाधि हात परेकी हुन् ।

शनिबार (आज) ललितपुरको यलखिम रेष्टुँरामा सम्पन्न फाईनल अडिसनमा सुनसरीकी सरिता राई र खोटाङ्कै लकेस राई क्रमसः दोस्रो र तेस्रो भएका संघका सचिव तथा प्रचार–प्रसार विभाग प्रमुख पदम थुलुङ राईले जानकारी दिए । सचिव राईका अनुसार विजयीहरुले क्रमसः ३०, १५, १० र ५/५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताका अन्य अडिसनहरु भर्च्यूअल्ली रुपमा सम्पन्न भएको र विद्यमान परिस्थितिका कारण विजेताहरुलाई पुरस्कार भने केही समयपछि प्रदान गरिने संघले जनाउको छ ।

प्रतिस्पर्धाका लागि विभिन्न १० देशका २ सय १३ जना प्रतिस्पर्धीले भाग लिएका थिए । प्रतियोगीले आफ्नो ‘ओरिजिनल’ आवाजलाई एमपीफोर फाईल भिडियो बनाएर आयोजकलाई उपलब्ध गराउनुपर्ने र आयोजकले सोही एमपीफोर फाईल भिडियोको आधारमा विभिन्न चरणका प्रतिस्पर्धा गराउने व्यवस्था मिलाइएको थियो ।

प्रतियोगितामा निर्णायकको भूमिकामा वरिष्ठ संगीतकर्मी सूर्य थुलुङ, शम्भु राई, शान्तिराम राई, पार्वती राई र राजुएन राई थिए । किराती इतिहास, मौलिकता, भाषा, संस्कार–संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा उत्थानको लागि किरात राई सांस्कृतिक कलाकार संघले यलम्बर संगीत प्रतियोगिता शुरु गरेको हो ।

विजेतालाई हङकङ भ्रमणको अवसर
यलम्बर संगीत प्रतियोगिताका विजेताले हङकङमा सञ्चालन हुने एलम्बर साँझमा सहभागी हुने अवसर पाउनेछन् ।

हरेक वर्ष एलम्बर साँझ सञ्चालन गर्दै आएको किरात राई यायोक्खा हङकङले यलम्बर संगीत प्रतियोगिताका विजेतालाई एलम्बर साँझमा प्रस्तुतीका लागि लैजाने निर्णय गरेको हो ।

प्रतिक्रिया