जागिर खान काठमाडौं आएका राजु कसरी बने गायक ?

चैते दशैं तुर्लुङकोट मेला
पापीनीको याद आयो यहि बेला
दुरा डाँडे दाई, दुरा डाँडे दाइ माया मार्यो रे भन्देउ मायालाई…

यहि गीतबाट आफूलाई गीत संगीतमा स्थापित गराउन सफल रहे चर्चित एवम् लोकप्रिय गायक राजु परियार । भनिन्छ नि, कहिलेकाहीँ नसोचेको कुरा पनि भइदिन्छ । राजु परियारकाे जीवनमा पनि यस्तै भइदियाे ।

२०५६ सालमा काठमाडौं प्रवेश गर्ने बेलामा उनले गायक बन्छु भन्ने साेचेकै थिएनन् । एउटा सामान्य परिवारमा हुर्किएका उनी कामको सिलसिलामा काठमाडौं आएका थिए । काठमाडौं आउनु, आएर गीत गाउनु उनका लागि नितान्त फरक थियो ।

गाउँका साना-तिना कार्यक्रमहरुमा सहभागी भएर गीत गाउने गरेता पनि उनी आज यो स्तरको कलाकारका रुपमा स्थापित हुनु भनेको उनका लागि कल्पना भन्दा बाहिरको कुरा थियो । गरिबीले पिल्सिएपछि जागिरको सिलसिलामा काठमाडौं आएका उनको तीन दिनसम्म धरहराको फेदमा बास भयो । नयाँ ठाउँ जता हेरे पनि बिरानो मात्र । अन्योल नै अन्योल । त्यहि धरहराको बाहिर राखेका खाने कुराहरु खाएर तीन दिन काटे । भन्ने गरिन्छ भगवानले तँ आँट म पुर्याउँछु भन्छन् अरे, त्यस्तै एकदिन घुम्दै जाँदा भाग्यले डोर्याउँदै उनलाई सुनधारास्थित पुकार दोहोरी साझँसम्म पुर्यायो ।

साझँपखको समय थियो । घुम्ने क्रममा एउटा गल्लीमा छिरेको बेला कानमा मादलको आवाज गुन्जियो । त्यहि मादलको आवाजलाई पच्छयाउँदै पच्छाउँदै उनी पुकार दोहोरी साझँ पुगे । गाउँमा हुँदा प्रतियोगीताबाट जितेको ६०० रुपैयाँ थियो उनकाे साथमा । काठमाडाैं आउँदाको भाडा र धरहराकाे फेदमा बसेर खाएकाे खाना खर्च कटाएर उनकाे साथमा केही रकम बाँकी थियाे । दोहोरीमा छिरेर केहि खानेकुरा अर्डर गरे । उनलाई थाहा थिएन त्यहाँ आएका ग्राहकले पनि गाउन पाउँछन् भन्ने कुरा ।

बसिरहँदा ग्राहकले पनि गाउन पाउँछन् भन्ने थाहा पाएपछि भने उनले पनि गीत गाए । त्यसपछि भने के खोज्छस् कानो आँखो भनेजस्तै भयो । काम खोज्दै भौँतारिएका उनलाई मुक्त गुरुङले त्यहि दोहोरीमा काम लगाइदिए । त्यहाँ उनले ३ वर्ष काम गरे ।

लम्जुङको बेसिसहर नगरपालिकामा २०३६ सालमा जन्मिएका उनी सानैदेखि गाउँ घरमा हुने सत्यनारायणको पूजादेखि रोधिघरमा आमाहरुले नाच्ने रत्यौलीहरु पनि छोड्दैनथे । त्यति बेलाको समयमा केटा मान्छेहरुले गाउन पाउने चलन थिएन । त्यसैले उनी आमाहरुसँग लुकीलुकी आमाकै लुङ्गी ओडेर रत्यौलीहरु गाउँथे ।

हुने बिरुवाको चिल्लो पात भनेझैँ थाहा पाउने उमेरदेखि नै गीतसंगीतको रसमा डुबिसकेका थिए । यद्यपी उनको गाउँ ठाउँ नै संगीतमय थियो । पारिवारिक माहोल पनि त्यस्तै । उनलाई पनि त्यसैले प्रभावित तुल्यायाे ।

जब अलि ठुलो भए, कापी र कलम बोकेर स्कुल जान थाले, त्यसपछि पनि स्कुलका हरेक कार्यक्रमहरुमा सहभागी हुन्थे । जब जब स्कुलका कार्यक्रमहरुमा उनी सहभागी हुन्थे साथीहरुले उनी सहभागी भएको थाहा पाएपछि लिस्टमा राखेको नाम पनि निकाल्थे । ‘राजु आएपछि हामीले जित्नै सक्दैनौँ’ भनेर ।

विस्तारै जिल्लास्तरिय लोकगीत/दोहोरी गीत प्रतियोगीताहरु हुन थाले । उनी हरेक प्रतियोगीताहरुमा सहभागी हुन्थे नै । एक पटक मर्स्याङदी बाङमयले कार्यक्रम आयोजना गर्यो । त्यो प्रतियोगीतामा उनी प्रथम पनि भए । त्यसपछि भने विभिन्न ठाउँका प्रतियोगीताहरुमा सहभागी हुन थाले । यो क्षेत्रमा यात्रा गरिरहँदा सुरुवाती दिनहरुमा उनलाई प्रजापती पराजुली, पुरुषोत्तम न्यौपाने, दुर्गा रायमाझी, अम्मर विरही गुरुङ लगायतले साथ दिएका थिए । उनलाई यो क्षेत्रमा देवी प्रसाद गुरुङ, धन बहादुर गुरुङ र स्वर्गीय राम बहादुर गुरुङले डोर्याएका हुन् ।

एउटा गरिब परिवारमा जन्मिएका उनले धेरै अभावहरु झेल्नुपर्यो । त्यसमाथि परिवारमा दुई आमा, बुबा र भाइबहिनीहरु । उनको संयुक्त परिवार नै थियो । उनी जुन कोखबाट जन्मिए त्यहि काेखबाट एक जना भाइ, र सानी आमाकाे तर्फबाट भने चार भाई र दुई जना बहिनीहरु छन् । उनी सानोमा चनचले स्वभावका थिए । ‘सानोमा काँक्रो चोरेको धेरै याद आउँछ । त्यसको सजाए दिनभरि मल भाेगेकाे छु । म एउटा साधारण गरिब परिवारमा जन्मे हुर्केको छोरा हुँ । म आज जतिसुकै ठुलो महलमा, सोफासेटमा बसे पनि मलाई त्यहि गरिबीको चकटि नै प्यारो लाग्छ’, राजु भन्छन्–‘गोजिमा भुटेको भटमास राखेर हिँडेको, हात्तीछाप चप्पल चुँडिदा टालेर लगाएकाे, एउटै ड्रेसले स्कुलको जिन्दगी धानेको । यी कुराहरू बिर्सनै सकिँदैन ।’

०००

‘लर्के जोवान ढल्किँदै गाछ
हाँस्यो बोल्यो यहि लाग्छ नमजा
किसिम कोटमा चरि नाचेको
कस्लाई होला मायालु तिमीले सोह्र वर्षे जोवान साचेको’…

काठमाडौं आएको एक महिनामै उनले यो गीत गाउने अवसर पाएका थिए । उनको त्यो पहिलो गीत नै उनको भाग्यशाली गीत बन्यो । त्यसपछिका दिनहरुमा भने उनले पछाडि फर्केर हेर्नु परेन । चौतर्फी रुपमा उनको स्वरको चर्चा हुन थाल्यो । कम्पनिहरुले खोज्न थाले । उनले सोचेका थिएनन् काठमाडौंमा आएर गीत रेकर्ड गरि यति पपुलर बनिएला भन्ने । पहिला प्रतियोगिताहरुमा भाग लिइरहन्थे, यति नै होला जिन्दगी भन्ने लाग्थ्यो । तर अहिले उनलाई दोहोरीको ‘राजा’ भनिन्छ ।

जब उनी गीत/संगीतमा लागे त्यो समयमा रेडियो नेपालमा स्वर परिक्षा पार नगरि गाउन पाइँदैनथ्यो । अहिले भने रेडियो नेपालबाट स्वर परिक्षा पास गर्ने त्यति भेटिदैनन् । पहिलो पटक रेडियो नेपालमा जाँदा उनकाे मुटुले ठाउँ नै छोडेको थियो । निकै डराएका थिए राजु ।

उनी गीत/संगीतमा लागेको २१ वर्ष भयो । यो समयसम्म आइपुग्दा उनले झन्डै दश हजारमाथिकाे हाराहारीमा गीत गाइसकेका छन् । बिचमा ‘राजु हरायो’ भन्ने हल्लाहरु पनि नआएका भने होइनन् तर पारिवारिक समस्याका कारण बजारमा उनका गीत/संगीतहरु कम आउन थालेका मात्र हुन् । ‘कतिले त राजु परियार विदेश गयो भन्ने हल्ला पनि चलाए रे’, उनी सुनाउँछन् ।

मान्छे भन्दा ठुलो जात कुन छ र
मैले छुँदा पानी बिष हुन्छ र
जति सक्छौ तर्क मायालु, मैले छुँदा छोइन्छ भने त सुन पानीले छर्क मायालु…

यस्ता कालजयी गीतहरु उनले गाएका छन् । कतिपय गीतहरु आफ्नै जिन्दगीमा पनि मेल खान्छन् । जब मान्छे सफलताको पछि दौडिएको हुन्छ तब उसलाई यो गर्दा त्यो गर्दा सफल हुन्छु कि भन्ने लाग्छ । त्यस्तै उनको पनि आतिएको मन अभिनय सिक्नको लागि आरके कलाकेन्द्रमा पुग्यो । त्यहाँ उनले अभिनयको नौ रससम्म सिके । त्यसपछि भने त्यसलाई निरन्तरता दिन सकेनन् । भन्छन्– ‘गाउन भन्दा अभिनय गर्न गाह्रो रहेछ ।’

पछिल्लो समय लोक गीतसंगीतको मौलिकता हराएको हो कि भन्ने पनि दर्शकहरुले महशुष गर्न थालेका छन् । पहिलाका गीतहरु कालजयी हुन्थे तर अहिले छिनमै बिलाउँछन् । त्यो भने चिन्ताको बिषय बनेको छ । ‘अहिले ट्रेन्डिङ गीत आयो भन्ने हुन्छ, पहिला कालजयी छ भन्ने हुन्थ्यो । फरक त्यति हो । जुन पहिलाका गीत संगीत सुन्दा एक किसिमको आनन्द महशुष गर्न पाइन्थ्यो अहिले त्यो महसुष गर्न पाइँदैन,’ उनी भन्छन्–‘पहिलाका कलाकारहरुले जति मेहनत गर्थे अहिले त्यति मेहनत नगरिदिँदा मौलिकता हराएको हो कि भन्ने लाग्छ । तर त्यस्ताेा हाेइन ।’

उनी अझै पनि गीतसंगीतमै हुँदा गीतहरु ट्रेन्डिङमा भन्दा पनि कालजयी बनाउन तर्फ केन्द्रित भएको बताउँछन् । गीत लेख्दा होस् या संगीत भर्दा त्यसमा डुब्न सक्नुपर्छ । राजु आफू गीत मात्र गाउँदैनन्, लेख्छन् पनि । संगीत पनि आफैँ भर्छन् । कति गीतहरु रोएर पनि लेखेको उनी सम्झन्छन् ।

उनी भन्छन्–‘जब गीत लेख्न बस्छु अनि अतितको सम्झना आउँछ । कहिलेकाहीँ लेख्दालेख्दै राेइँदाे रैछ ।’ लोकगीत/संगीतको मौलिकतालाई जोगाउनका लागि सर्जक नै चनाखो हुनुपर्ने उनको बुझाइ छ ।

अहिले जति नै सफल भएपनि संघर्षका दिनहरु भने भुल्न सकेका छैनन् उनले । ‘वरिष्ठ दाईहरुले त्यति वास्ता गर्दैन्थे । सिक्न खोज्दा पनि सिकाउन चाहँदैनथे । टाउको बटार्दा निरासा पलाउँथ्यो ।’

राजु राजनितीमा पनि अलि चासो राख्छन् । जनताहरु राज्यदेखि असन्तुष्ट छन् तर उनी सन्तुष्ट नै छन् । हरेकलाई लाग्छ देश राम्रो भइदिएको भए स्वदेशमा नै केहि गर्न पाइन्थ्याे । उनी पनि देश राम्रो भइदिएको भए हुन्थ्यो भन्ने सोचिरहन्छन् । भन्छन्–‘ धर्ती छउन्जेल नेपाल रहिरहोस् । राज्यले युवाहरुलाई देशमै रोजगारी दिलाइदियोस् । कलाकार राष्ट्रको गहना हुन् भनिन्छ, त्यसैले राज्यले कलाकारलाई पनि बाँच्ने आधार बनाइदियोस् ।’

प्रतिक्रिया