कांग्रेसको १४ औँ महाधिवेशन कार्यतालिका बदलिने

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन कार्यतालिका बदलिने भएको छ । कांग्रेसले कोभिड–१९ को सङ्क्रमणका कारण महाधिवेशन कार्य तालिका प्रभावित भएपछि महाधिवेशनको मिति संशोधन गर्ने तयारी गरेको हो।

गतअसार २२ गते केन्द्रीय महाधिवेशन आउँदो फागुन ७ देखि १० गतेसम्म गर्ने गरी कार्यतालिका निर्धारण गरेको भएपनि कोभिड–१९ कारण कार्यतालिकाअनुसारको क्रियाशिल सदस्यता र पार्टीको अन्तरिम संरचना समायोजन तालिका प्रभावित भइसकेकोले फागुनमै महाधिवेशन गर्न नसकिने भनेको छ ।

पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरण कार्य निर्धारित समयमै सम्पन्न नभएपछि अन्य अधिवेशन पनि प्रभावित हुने कांग्रेस सह–महामन्त्री प्रकाशशरण महतले बताए । ‘मङ्सिरभित्र क्रियाशील सदस्यता विवरण केन्द्रमा पठाउने भनेपनि केही ठाउँबाट त आउला, तर सबै ठाउँमा सम्पन्न हुन कठिन देखिएकोले महाधिवेशनको मिति सर्ने निश्चित छ ।’ उनले भने ।
मङ्सिरसम्ममा क्रियाशील सदस्यताको विवरण आएपछि केन्द्रीय समिति बैठकमा समीक्षा हुने र फागुनमा महाधिवेशन हुने नहुने सम्बन्धमा निर्णय गरिने महतको भनाई छ ।

यही मङ्सिर अन्तिममा हुने केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशन कार्यतालिका संशोधन गरिने पार्टी कार्यालयले समेत जनाएको छ ।

कांग्रेसको विधानअनुसार आउँदो फागुन २० गतेसम्म १४ औँ महाधिवेशन उद्घाटन गरिसक्नुपर्छ । त्यसो नभए महाधिवेशन कार्यतालिका संसोधन गरेर जाने रणनीति छ । कांग्रेसको विधानमा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुने र असाधारणस्थिति भएमा केन्द्रीय कार्यसमितिले त्यसको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउनसक्ने उल्लेख छ ।

यसअघि २०७२ साल फागुन २० देखि २३ गतेसम्म कांग्रेसको १३ औँ महाधिवेशन काठमाडौँमा भएको थियो । कांग्रेसले कोभिड–१९ को वर्तमान विषम परिस्थितिमा अब नेपालको संविधानमा भएको व्यवस्थाको सहारा लिएर महाधिवेशनको मिति सार्ने निश्चित छ ।

नेपालको संविधानको धारा २६९ मा राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एक पटक त्यस दलका सङ्घीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्ने उल्लेख छ । साथै विशेष परिस्थिति उत्पन्न भइ पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा छ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधापर्ने छैन् भनी उल्लेख छ ।

महाधिवेशन कार्यतालिकाअनुसार कांग्रेसले गएको साउन १० गतेभित्र समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजना गरिसक्नुपर्ने र केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावली अन्तिम सूची मङ्सिर मसान्तभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि तोकेको थियो । दुवै कार्यको निर्धारित मिति प्रभावित भइसकेको छ ।

अहिलेको महाधिवेशन कार्यतालिकाअनुसार गाउँ नगर वडा अधिवेशन आउँदो पुस ६ गते, गाउँ–नगरपालिका अधिवेशन पुस ८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस ११ गते गरिसक्नुपर्छ । जुन संभव देखिएको छैन ।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १३ गते, एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १६ गते, प्रदेश अधिवेशन माघ ६ गते र केन्द्रीय महाधिवेशन आउँदो फागुन ७ देखि १० गतेसम्म गर्नुपर्ने छ ।

कांग्रेसमा केही नेताहरुले फागुनमै महाधिवेशन गर्नैपर्ने अडान लिइरहेका छन् । ‘कोरोना महामारीका विच अमेरिकामा निर्वाचन हुन सक्छ, नेपालमा महाधिवेशन हुन नसक्ने कुरै हुँदैनथ्यो ।’ कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका एक केन्द्रीय सदस्यले भने । फागुनमा महाधिवेशन गर्नुपर्छ भन्नेमा बरिष्ठ नेता पौडेलसँगै डा. शेखर कोइराला, गगन थापा, कृष्ण सिटौला समुह छन् ।

कांग्रेसले महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको विवरण यही मङ्सिरभित्रै केन्द्रमा पठाउन जिल्ला सभापतिलाई निर्देशन दिएको भए पनि अहिलेसम्ममा कुनै पनि जिल्लाबाट विवरण आइसकेको छैन ।

गएको कात्तिक २८ गतेको केन्द्रीय समितिको बैठकले गरेको निर्णयअनुसार क्रियाशील सदस्यता वितरण र नवीकरणसम्बन्धी विवरण केन्द्रमा पठाउन सबै जिल्ला सभापतिलाई मङ्सिर २ गते निर्देशन गरिएको थियो ।

कांग्रेसमा क्रियाशील सदस्यता सङ्ख्या अहिले करिब पाँच लाख छन् । केन्द्रीय समितिको निर्णयअनुसार क्रियाशील सदस्यता वितरण र नवीकरण तथा अन्य पार्टीबाट प्रवेश गरेकालाई समेत प्रदान गर्दा सो सङ्ख्या दोब्बर हुने छ । यसैगरी पार्टीको जिल्ला समायोजन कार्य सप्तरी, बारा र सिन्धुपाल्चोकमा अझै बाँकी रहेको छ । कांग्रेसमा गाभिएका राजनीतिक दलको समायोजन पनि बाँकी छ ।

प्रतिक्रिया