‘नेकपाको विवाद निवारणमा प्रधानमन्त्री बढि जिम्मेवार हुनुपर्छ’

सत्तारुढ नेकपाभित्रको विवादले सरकार ढल्ने र पार्टी फुट्ने संभावना नरहेको नेकपाका स्थायी कमिटी सदस्य लालबाबु पण्डितले बताएका छन् । पार्टी अध्यक्षद्वय विचको कलहले पार्टी नै फुट्ने होकि, सरकार नै ढल्ने होकि भन्ने आशंका उब्जिइरहेको बेला पूर्वमन्त्रीसमेत रहेका सांसद पण्डितले पार्टी कुनै हालतमा नफुट्ने दावि गरेका हुन् ।
मकालु खबरसँगको विषेश कुराकानीमा पण्डितले नेकपाभित्र अवसर पाएका र नपाएकाहरु विचको मात्र भएको तर्क गरे । भने, सचिवालयले समाधान गर्न नसकेको विवाद स्थायी कमिटीले हल गर्न सक्ने जिकीर गरे । प्रस्तुत छ नेकपा स्थायी कमिटी सदस्य पण्डितसँग गरीएको कुराकानीको संक्षेपः

लालबाबु पण्डित, स्थायी कमिटी सदस्य, नेकपा

नेकपा अब टुक्रिनै लागेको हो ?

नेकपा टुक्रन त टुक्रिँदैन तर, असन्तुष्टिहरु छन् । आन्तरिक कमिटिको विषय मात्र बन्नु पर्दथ्यो सार्वजनिक भयो । कमिटी प्रणालीमा पेश भएको कुरा एकै चोटी कमिटीमा पेश हुनु र सार्वजनिक हुनु अत्यन्तै दुर्भाग्य भयो । गोप्यता भन्ने चैैं नेताहरुले विर्से ।

नेकपाका दुई अध्यक्ष विचको द्वेष, कुण्ठा र दोषारोपणले नेकपा अब रहँदैन भन्न थालिसके त ?

विवादका विषयवस्तु सचिवालय हुँदै स्थायी कमिटीमा आएको छ । कमिटी भित्र मात्र भएको भए आम चासोको विषय बन्ने थिएन । अब नेतृत्वले सामुहिक नभएपनि व्यक्तिगत रुपमा आक्रोशपूर्ण वा सुझबुझ तरिकाले होस् विवाद मिलाउनु पर्छ । दुई अध्यक्षको प्रस्ताब हेर्दा सबै सत्य र सबै असत्य भन्ने लाग्दैन ।

पार्टी कार्यकर्ता र तल्लो स्तरका नेता कार्यकर्ताहरुको चाहनामा दुईटा पार्टीको एकीकरण भएको हो । अहिले दुईटा पार्टीको एकीकरणको सबै काम सम्पन्न भइसकेको छैन । फरक कार्यशैली, कार्य पद्दति, फरक कमिटीको प्रणालीबाट आएको हुनाले भावनात्मक रुपमा दुईटा पार्टी एक हुन समय लाग्छ ।

कार्यकर्ताको भावना एकता प्रक्रिया छिटो सम्पन्न होस् भन्ने छ तर, नेतृत्वको महत्वकांक्षा, गलत कार्यशैली, स्वार्थ र सन्दर्भमा अधैर्यताको कारणले समस्या आएको हो । समस्याविहिन कुनैपनि व्यक्ति, पार्टी र संस्था हुँदैन । तर, नेकपाको समस्यालाई जुनरुपमा समाधानको बाटोमा लैजानु पर्दथ्यो त्यसको ठिक उल्टो बाटो चलेको अनुभूति भएको छ ।

सचिवालयमा केन्द्रीत भएका विषयहरु स्थायी कमिटीमा आइसकेपछि तपाईंले पनि अध्ययन गर्नुभयो, समस्याको सँग रहेछ ?
सबभन्दा बढि अधिकार कहाँ छ, सबभन्दा बढि कर्तब्य कसले पुरा गर्नुपर्नेछ समस्या समाधन गर्न उ बढि जिम्मेवार हुनुपर्छ ।
हामी नेपालीहरुको मनोविज्ञान ठूलाबाट कम गल्ती हुने र सानाबाट भएका गल्तीहरुलाई छिटो समाधान गर्नुपर्छ भन्ने छ । यस हिसाबले अहिले नेकपामा भएको विवाद समाधान गर्न ठूलो मान्छे नै जिम्मेवार हुनुपर्छ ।

तपाईंको भनाईको तात्पर्य विवादको बढि जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ ?

बढि जिम्मेवार सम्माननीय प्रधानमन्त्री नै हुनुपर्छ । उहाँ दलीय हिसाबले पनि पार्टीको अध्यक्ष हुनुहुन्छ । देशको कार्यकारी प्रमुखको जिम्मेवारी पनि उहाँसँग छ । त्यसकारण अहिलेको विवाद निवारणमा उहाँ बढि जिम्मेवार हुनुपर्छ ।

विवादको बढी दोष पनि प्रधानमन्त्रीले लिनुपर्ने हो र ?

गुण दोषको फैसला भएको छैन । जसलाई जे मन लाग्यो, जहिल्ले मन लाग्यो त्यहिले दोषी निर्दोष भनिहाल्नु हुँदैन । प्रधानमन्त्रीज्यूले पनि बेलाबेलामा कसैमाथि प्रश्न उठिहाल्यो भने सम्बन्धित छानविन गर्ने निकायले बोल्नुभन्दा अगाडी नै फलाना निर्दोष भनेर बोलिहाल्नु हुन्छ । ‘मन पर्दैन मन पर्छ’ दुवै कुरा राइट छ तर, त्यसको कसी सम्बन्धीत निकाय र संस्थाहरुले गर्नुपर्छ । पार्टीको नेताले बोल्नु भएन । व्यक्ति प्रधान हैन पार्टी प्रधान नीति हुनुपर्छ । अहिले नै को दोषी को निर्दोश भन्न मिल्दैन । केही गलत भएको छ त्यो संस्थागत रुपमा पार्टी कमिटीले हल गर्नुपर्छ ।

त्यसो भए कार्यकारी अध्यक्षले लगाएको आरोप गलत हो ?

प्रधानमन्त्री हटाउने कुरा हो भने त्यसको पार्टीभित्र र बाहिर विधि तथा पद्दति छ । संबैधानिक हिसाबले अविश्वासको प्रस्ताब मार्फत संसदले हटाउँछ । या प्रधानमन्त्री स्वइच्छाले हट्नुपर्छ । पार्टीगत रुपमा जुन कमिटीलाई यो सहि छ भन्ने अधिकार छ उसले मात्र हटाउन सक्छ । त्यस कारण यहाँ को सहि र गलतको कुरा हैन, विधि, पद्दति र नीतिको कुरा प्रमुख हो ।

प्रधानमन्त्रीले पार्टीको निर्देशनमा सरकार चलाउनु हुँदैन भन्दै हुनुहुन्छ, सरकार सञ्चालनमा पार्टीको हस्तक्षेप किन ?

प्रधानमन्त्रीको अभिव्यक्ति भित्र केही संबैधानिक र केही कानुनी कुरा छन् । तर, संबैधानिक पाटो संहाल्दा पार्टीको कुरा पनि हेर्नुपर्छ । बुझाईमा कमजोरी होला भन्ने लाग्दैन । उहाँले कमिटीमा निर्णय भए म छोड्न तयार छु भन्नु भएको छ । अर्को, सरकारलाई पार्टीले सिधै निर्देश गर्नपनि मिल्दैन ।

चुनावी घोषणा र व्यक्तिगत प्रतिबद्धता फरक–फरक हुन्छ । गएको निर्वाचनमा पार्टीले ‘भावी प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा पत्र’ भनेर निकालेको छैन । त्यो घोषणा पत्रमा प्रधानमन्त्री को हुने भन्ने पनि लेखेको छैन । चुनाब लड्दै जाँदा धेरैलाई इच्छा थियो प्रधानमन्त्री बन्ने । धेरै नेता आकांक्षी भएपनि अन्तिममा उहाँको पक्षमा सहमति भएर मात्र उहाँ प्रधानमन्त्री बन्नु भएको हो । प्रधानमन्त्रीको योग्यता बोक्ने नेतृत्वको कमी भएर पनि उहाँ प्रधानमन्त्री भएको हैन । संसदीय दलले सर्वसम्मतले बनाएको हो । त्यो संसदीय दलले नेता परीवर्तन गर्न सक्छ । अहिले प्रधानमन्त्रीले ‘म मान्दिन’ भन्नु अमेरिकाको राष्ट्रपतिले दुई चारदिन ‘म राष्ट्रपति भवन छोडदिन’ भन्दै गरे जस्तो मात्र हो । दुईचार दिनको आक्रोश मात्र हो ।

बहुदलीय व्यवस्था संस्थागत रुपमा अंगालिएको हो व्यक्तिगत हैन । बहुदल भनिएको हो, बहुव्यक्ति हैन । यो संविधानप्रति कसम खाएर आउँदा संविधानको अक्षर र भावनालाई कार्यान्वयन गर्ने कुरामा ‘म गर्दिन, म मान्दिन’ भन्ने अधिकार कसैलाई हुँदैन ।

अहिले नेकपाभित्र सिद्धान्त, विधि र पद्दतिको लडाईं होकी, व्यक्तिगत चरित्रको लडाईं हो ?

अहिले नेकपाभित्रको लडाईं सैद्धान्तिक हो । पहिलो कुरा दुईटा पार्टी एक भएपनि भावनात्मक र संगठनात्मक रुपमा एक भइसकेको स्थिति छैन । दोश्रो, कार्यशैली र कार्यपद्दति विचको मतभेद छ । त्यसमा अवसर पाउने र नपाउने विचको द्वन्द्व पनि छ । भने, विधि र प्रक्रियालाई आ–आफ्नो फरक तरिकाले बुझ्दा पनि समस्या आएको हो ।

जनतालाई स्थायीत्व त दिन्छौं भन्यौं तर, दिन सकेनौं । राजनीतिक प्रणालीलाई सञ्चालन गर्ने, नेतृत्व प्रणालीलाई संस्थागत गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कुरामा व्यापक अनुभवको कमजोरी भयो ।

अवसर पाएर र नपाएकाको विच कसरी लडाईं हो, सचिवालयमा भएका त प्रायः सबैले पटक–पटक अवसर पाइसकेका छन् त ?

नेपाली समाजको मनोविज्ञानको प्रभाव नेताहरुमा छ । हाम्रो समाजमा ‘म रिटायर्ड हुनुपर्छ’ भन्ने छैन । जुनदिन चितामा गइन्छ अनीमात्र रिटायर्ड होइन्छ भन्ने छ । अन्य मुलुकमा त्यस्तो छैन । म यति वर्ष पार्टीको प्रमुख, अध्यक्ष, महासचिब, प्रधानमन्त्री भएपनि ‘म जिउँदै छु त्यसकारण पुगेको छैन’ भन्ने सोच नेताहरूमा हावी छ । हाम्रा नेताहरुको मनभित्र एउटा कुरा छ बाहिर अर्को कुरा आउँछ ।

प्रधानमन्त्रीको सपथ ग्रहणको केही समयपछि आधा–आधा बाँड्ने गोप्य रुपमा ल्याप्चे छाप गरेको बाहिर आयो । यदी पवित्र मन थियो भने त्यो आउने थिएन । ‘मैले अब नपाउने भएँ’ भन्ने भएपछि मात्र आएको हो । पाउँछु भन्ने आश हुँदासम्म त आएकै थिएन नी ।

यहाँ अविश्वास, स्वार्थ र आश पनि छ । स्वार्थ र आश मिलेपछि त्यो पुरा गर्न प्रयास भइहाल्छ । अहिले नेकपामा पनि भएको त्यहि हो । जब मनभित्र आत्मकेन्द्रीत आशले स्वार्थ र अविस्वास उत्पन्न हुन्छ । त्यसले घात, अन्तरघात र प्रतिघात उब्जाउँछ ।

दुई अध्यक्षविचको सम्झौता हेर्दा त जनताकोलागि भन्दा पनि व्यक्तिगत स्वार्थकालागि पार्टी एकता गरिएको रहेछ भन्ने देखियो है ?

दुई पार्टीको एकता अविश्वासको जीतभित्र एकता र विस्वासको हिँडाई भएको हो । जनताले बुझ्ने भाषा भनेको काम होस, परिणाम सुखानुभूत होस जुन उनीहरुले अनुभुत गर्न पाइरहेका छैनन् । राजनीतिक स्थायित्व, विकास, शुशासनसँग जोडेर हामीले ‘संमृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारा ल्याएका हौं ।

अहिले पार्टीभित्रको जात्रा अवसर, कार्य पद्दति र कार्यशैलीसँग जोडिएको छ । उपयुक्त व्यक्तिको चयनसँग जोडिएको छ । त्यसकारण एउटाले ठिक भन्छ, अर्कोले बेठिक भन्छ ।

अहिलेको विवाद समग्र पार्टीको विवाद किन भन्ने यो त दुई अध्यक्ष र सचिवालय भित्रको मात्र विवाद हैन र ?

पार्टीको सबभन्दा नेतृत्वदायी ठाउँको विवाद भएकाले भनेको हुँ । भोली समग्र पार्टीको रुपमा जान पनि सक्छ । नितीगत रुपमा त केही विवादै छैन । महाधिवेशनको मिति तय भएको छ । नेतृत्व पनि महाधिवेशनबाटै चयन हुनुपर्छ ।

तर, चार महिना पनि पर्खन नसक्ने कस्तो प्रकारको हुटहुटी ?

समग्रमा केही न केही परिवर्तन त हुन्छ अरु बेलामा सामान्य हेरफेर मात्र हुन्छ । राम्रा कामको निम्ति हामीले गरेको हो । सुधारको निम्ति गरेको हो । जनतामा विस्वास जगाउनको लागि गरेको हो । कार्यलाई गतिदिनको लागि गरिएको हो । राम्रो बनाउने सन्दर्भमा त सामुहिक रुपमै छलफल गरेर अगाडी बढ्नुपर्छ ।

दुई अध्यक्षविचको विवाद स्थायी कमिटीमा आएको छ अब यसलाई कसरी ट्याकल गर्ने ?

पहिलो कुरा यो विवाद सचिवालयमै टुंगिनु पर्दथ्यो र एकीकृत प्रस्ताव आउनु पर्दथ्यो । स्थायी कमिटी भन्दा तल नझरोस भन्ने कामना छ । यदी आयो भने केन्द्रीय कमिटीमा पनि छलफल हुनेछ । यो विषय त्यसभन्दा तल जिल्ला, नगर, प्रदेश र शाखा कमिटीमा नपुगोस् नै भन्ने छ ।

तर, बालुवाटार, खुमलटार, धुम्बाराही कोटेश्वरमा भइरहेका गुटगत भेलाले त नेकपाको शीर्ष तहको विवाद तल्लो तहमा पुगिसकेको आभाष भइरहेको छ नी ?

यी भेलाहरुले कुनै परिणाम ल्याउँदैन । बरु अवरोध पैदा हुन्छ । म यो भेलाको पक्षमा छैन । सकेसम्म हरेक समस्याहरुलाई मैत्रीपूर्ण रुपले पार्टी, पद्दति र विधान अनुरुप सकेसम्म माथिबाटै समाधान हुनुपर्छ । विगतमा हरेक बैठकमा आलोचना आत्मलोचनाको एजेण्डै हुन्थ्यो । त्यहिभित्र आलोचना गर्ने, आत्मलोचना गर्ने काम हुन्थ्यो । धेरै समयसम्म मनभित्र उकुसमुकुस भएपछि त्यसलाई पोख्नका लागि पनि बैठकहरु हुनुपर्छ । अहिले मनको वहहरु धेरै भएकाले पोखिएको हो । अहिले नेताहरुलाई हलुंगो पनि भएको होला । आ–आफ्नो जिम्मेवारी बोध गरेर लैजानु हुन्छ होला ।

विगार्न सकिन्छ, सपार्न धेरै समय लाग्छ । आफुलाई, पार्टीलाई एक बनाएर लैजाने जिम्मेवारी बोध नेताहरुले गर्नुपर्छ । संकटको बेला नै नेतृत्वको पहिचान हुन्छ । जो सबभन्दा बढि जिम्मेवार हुन्छ माथिल्लो पदमा हुन्छ र उसले पिडा पनि भोग्नु पर्छ, कुरा पनि सुन्नु पर्छ र निर्णय पनि गर्नुपर्छ । जुन निर्णय समग्र पार्टी र देशको हितमा हुनुपर्छ ।

सरकारको तीन वर्षको कार्यकाल र पार्टी भित्रको पछिल्लो विवादले अब नेकपालाई पुनः जनताले विस्वास गर्छन् भन्ने छ ?

छैन त भन्दिन म । तर, जनतामा विस्वास जगाउनु पर्ने चैं छ । जनताले सोधेका प्रश्नको सन्तुष्ठ उत्तर दिनुपर्ने अवस्था आएको छ । जिम्मेवारी थपिएको छ ।

अबको निर्वाचनमा नेकपा जनताका घरमा जाँदा भ्रष्टाचारको, शुशासनको, अस्थिरताको, पदीय आचरणको, राष्ट्रीयताको कुन–कुनको जवाफ दिने ?

बेला भइसकेको छैन । बेला भएपछि जवाफ पनि दिन्छौं । जहाँ जति कमजोरी छ त्यो कमजोरीलाई हात उठाएर स्विकार्छौं । र, राम्रो भएको कुरालाई यति गर्यौं अब थप गर्ने विस्वास दिनुहुन्छ भन्ने हामी थप गर्छौं भन्छौं । सबै इच्छा आकांक्षाहरु एकै पटक पुरा हुन्छन् भन्ने हुँदैन । र, हामीले सफाको खोजी गर्दा त्यहाँ फोहर छ भनेर पनि विर्सनु हुँदैन । फोहर निकाल्नु पर्छ । नेकपाको सरकार अहिले राजनीतिमा, मुलुकमा भएको फोहर निकाल्न लागि परेको छ । फोहर कहिँ हुँदै हुँदैन भन्ने हैन । फोहर हुन्छ रत सफा गर्दै जानुपर्छ ।

नेकपा भित्रको विवाद स्थायी कमिटीले समाधान गर्ला ?

२०१७ सालपछि १८ सालमा पार्टीभित्र एउटा विवाद आयो, कमरेड तुलसीलालले एउटा किताब लेख्नु भयो ‘कुन बाटो’ भनेर । त्यसको जवाफमा कमरेड पुष्पलालले पनि किताबै लेख्नुभयो ‘मुल बाटो’ । हामी कुन बाटो भनेर अल्मलिनु हुन्न । ‘मुल बाटो’ पहिल्याएर हिँड्नु आवश्यक छ । कम्युनिस्ट पार्टीको ‘मूल बाटो’ भनेको समाजवाद हो ।

यो सरकारले संविधानले दिशानिर्देश गरे अनुरुप सार्वभौमिकता, राष्ट्रिय स्वाभिमानको रक्षा गर्दै जनअपेक्षा अनुरुप संमृद्ध मुलुकको लागि अगाडी बढ्नु नै हाम्रो लक्ष्य हुनुपर्छ । सारमा भन्नुपर्दा संघीय लोकतान्त्रिक गणतन्त्रबाट समाजवादमा पुग्नु छ, तर हामी अहिले समाजवाद उन्मुख मात्र छौं । हात छोडेर केही गर्न सकिन, कहाँ जाउँ, कता जाउँ जस्तो दिशा विहिन अवस्थाबाट बाहिरीनु पर्छ ।

चौबाटोमा रहेको नेकपा मूलबाटोमा कसरी जाला ?

नेकपा चोबाटोमा छँदैछैन । विवादले गतीलाई कम गराउँछ तर, समाप्त गर्दैन । समाप्त गर्ने विवाद भएको भए विघटनको बाटो हुन्थ्यो । अहिलेको विवादले नेकपालाई अझ जनउत्तरदायी बनाउँदै, पार्टीलाई विधि र विधान पद्दतिमा लैजान्छ । राम्रो कामको लागि सल्लाह सुझाव र सक्रिय सहयोगको निम्ति प्रश्न उठाइएको हो । यो अवसरलाई सदुपयोग गर्दै जनताको निम्ति नेकपाले काम गर्नुपर्छ ।

अन्तमा,

कम्युनिस्टको इतिहास सधैं टुटफुटको छ । को कता गए इतिहासमा हिसाबै छैन । तर, अहिले समाप्तिको बाटोमा हैन, अगाडी बढ्नकालागि लाग्छौं । यसलाई छिटै सकाात्मक निष्कर्षमा पुर्याउँछौं ।
नेकपा फुटदैन, सरकार ढल्दैन, नेकपा फुट्ला र यहि मौकामा अवसरको फाइदा उठाउँदै सरकारमा छिटै पुगुँला भन्नेहरुको सपना पुरा हुँदैन ।

 

 

प्रतिक्रिया