‘बालो जोवन’ चाँडै बजारमा आउँदै, भेगीय सांस्कृतिक पक्ष जोडिने आशा

काठमाडौं । केशव गिरीको ‘बालो जोवन’ गीत चाँडै बजारमा आउने भएको छ । सुदूरपश्चिम क्षेत्रको लवजमा तयार पारिएको गीतको छायांकन नेपालका विभिन्न स्थानहरुमा गरिएको छ ।

सोझो गाउँलेको शब्द र विष्णु भट्टको संगीतमा तयार भएको गीतलाई अनु चौधरी र विष्णु भट्टले स्वरबद्ध गरेका छन् । ‘बालो जोवन’ गीतको भिडियोमा ४ नयाँ कलाकारले फिचरिङ्ग गरेका छन् ।

सांस्कृतिक नृत्यमा माहिर मानिएका याम गुरुङले निर्देशन गरेको भिडियोमा राजु गिरी, जीवन थापा, रक्षा थापा र प्रतिभा ‘रानी’राईलाई देख्न सकिन्छ । ‘रानी’ मिस टिन–२०१९ को विजेता हुन् भने रक्षा रसियामा आयोजित पिन्सेस अफ दी यूनिभर्स – २०१७ की विजेता हुन् ।

गीतका निर्माता केशव गिरीले भेगीय फ्यूजन गीतमा नयाँ र पुराना कलाकारसँग काम गर्न पाएकोमा खुसी व्यक्त गरेका छन्, ‘अनुभवी निर्देशकको नेतृत्वमा नयाँ कलाकारलाई मोडलिङ्ग गराइएको छ । सम्भावना र अवसरको मिश्रणले राम्रो नतिजा ल्याउँछ भन्नेमा आशावादी छु । भेगीय सांस्कृति पक्ष जोडिनेमा पनि आशावादी छौं ।’

गीतकार सोझो गाउँलेका अनुसार देउडाको मिटरमा लेखिएको गीतलाई संगीत भर्दा व्यवसायीकतालाई पनि ध्यान दिइएको छ । ‘सुदूर क्षेत्रका कान्छा पुस्ताले मन पराउँछन् भन्ने आशा छ । अडियो राम्रो बनेको प्रतिक्रिया पाएकाले भिडियो पनि राम्रो बन्ला ।’ गाउँलेले भनेका छन् ।

टिमका अनुसार पोस्ट् प्रोडक्सनको काम सकिएपश्चात् चाँडै बजारमा आउनेछ ।

प्रतिक्रिया