कोभिडबाट नागरिकलाई बचाउन सरकार भरपूर प्रयास गरिरहेको छ : सञ्चारमन्त्री

काठमाडाैं । सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार मानव अधिकारप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् । मानव अधिकार राष्ट्रिय महाभेला, २०७७ को भर्चुअलरुपमा आज उद्घाटन गर्दै उनले सरकार सधैँ नागरिकको मानव अधिकारको रक्षाका निम्ति प्रतिबद्ध रहेको स्पष्ट पारे ।

‘सरकार मानवअधिकार सुनिश्चित गर्न चाहन्छ, सधैँ सबै नागरिक सुरक्षा, शान्ति र प्रगतिका लागि काम गरिरहेको छ’, सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले भने, ‘मानवअधिकार सुरक्षित गर्न सरकार सदा तयार छ, नागरिकले बाँच्नु पहिलो कुरा हो, मानवअधिकार हननका मुद्दाहरुलाई सम्बोधन गर्नुपर्ने त छँदैछ, अहिले कोभिडबाट बाँच्ने बचाउने कुरा मुख्य छ, त्यसबाट बचाउनका लागि सरकारले भरपूर प्रयास गरिरहेको छ ।’

उनले अहिले कोभिडको खोप पनि आउन लागेकामा खुशी व्यक्त गर्दै विकसित, विकासोन्मुख, अल्पविकसित र विकासोन्मुख देशले पनि खोपबाट लाभ लिन सकून् भन्नेमा सबै मानवाधिकारकर्मी लाग्नुपर्नेमा जोड दिए ।

मुलुकको विकासका र समृद्धिका लागि सरकारले गर्नुपर्ने कामका सूची उपलब्ध गराएर सहयोग गर्न आग्रह गर्दै उनले समाजका सबैले मानवअधिकारको सूचना पाउने हकको उपभोग गर्न इन्टरनेट सेवालाई गाउँगाउँ र जनताजनताबीच पुर्याउने अभियानमा सहयोग गर्न आग्रह गरे । ‘डिजिटल नेपालको अभियान नेपाल सरकारले ल्याएको छ, सूचना प्राप्त गर्नु पनि जनताको अधिकारको कुरा हो’, मन्त्री गुरुङले जाेडे, ‘त्यो अभियानमा मानवअधिकारकर्मीलाई पनि लाग्न र सहयोग गर्न आग्रह गर्छु ।’ रासस

प्रतिक्रिया