चिडियाखाना, मनकामना मन्दिर र केवलकार खुल्दै

काठमाडाैं । प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिर आगामी आइतबारदेखि खुल्ने भएको छ ।
मनकामना क्षेत्र विकास समितिको आयोजनामा सहिद लखन गाउँपालिका, वडाध्यक्ष, मनकामना मन्दिर जीर्णोद्वार समिति, पूजारी, मनकामना केवलकार, उद्योग वाणिज्य संघ र राजनीतिक दलका प्रतिनिधि बैठक गरेर मन्दिर र केवलकार खुलाउने निर्णय भएको हाे ।
काेभिड १९ महामारीका कारण चैत्र ११ गतेदेखि बन्द रहेकाे मनकामना मन्दिर स्वास्थ्य सुरक्षाकाे मापदण्ड अपनाएर मंसिर २८ गतेदेखि भक्तजनकाे पूजाआजाका लागि खुला गर्न लागिएकाे हाे । दैनिक पूजा भने राेकिएकाे छैन ।
यस्तै चैत्र ११ देखि बन्द रहेकाे ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखाना पनि भाेलि (बिहीबार) देखि खुल्ने भएकाे छ । स्वास्थ्य मापदण्ड पुरा गरेर खाेल्न लागिएकाे त्यहाँका प्रमुख डा. चिरञ्जीविप्रसाद पोख्रेलले जानकारी दिएका छन् ।
एक पटकमा ८ सय जनासम्मलाई प्रवेश दिइने नियम बनाइएकाे छ । यस्तै साढे दुई घण्टाभन्दा बढी समय रहन पाइने छैन ।








